बुधबार, वैशाख १०, २०८२

नेप्सेमा ७ अंकको गिरावट, कारोबार रकम १ अर्ब सात करोडमै सीमित

नेपालखोज २०७९ जेठ १८ गते १५:४४

काठमाडौं । बजेट घोषणापछिको तेस्रो कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन ३५ दशमलव ५३ अंकले घटेको नेप्से आज (बुधबार) पुनः सात दशमलव १९ अंकले घटेर २१ सय ३० दशमलव ७३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले घटेर चार सय १४ दशमलव ४७ अंकमा पुगेको छ ।

दुई सय २७ कम्पनीको २३ हजार एक सय ३४ पटकको कारोबारमा आज ३० लाख २० हजार ६७ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम भने एक अर्ब सात करोड ८४ लाख ८४ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा तीन समूहको सूचक बढेर १० वटाको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव चार अंकले घटेर १४ सय ८३ दशमलव ३१ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ५७ दशमलव एक अंकले घटेर आठ हजार आठ सय ३९ दशमलव ९८ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ५५ दशमलव ८५ अंकले घटेर १० हजार दुई सय ४५ दशमलव १९ अंकमा झरेकामा लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

विकास बैंक समूहको सूचक भने २१ दशमलव ४२ अंकले बढेर तीन हजार ६ सय ८२ दशमलव ७६ अंकमा पुग्दा जलविद्युत् र फाइनान्स समूहको सूचक पनि बढेको छ ।

नेप्सेमा आज मैलुङ खोला जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय २८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा शिखर इस्योेरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर नौ सय २४ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता तीन सय सात रुपैयाँ अन्तिम मूल्यमा १२ करोड १३ लाख ७३ हजार नौ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया