बुधबार, वैशाख १०, २०८२

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको आईपीओ भोलिदेखि

नेपालखोज २०७९ जेठ १८ गते १६:३५

काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको आईपीओ भोलि (जेठ १९ गते) देखि खुल्ने भएको छ । जेठ २४ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री खुला हुनेछ ।

एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति एकाइ मूल्य १० रुपैयाँ अंकित दरको १० करोड एकाइमध्ये बीज पुँजीबापत न्यूनतम एक करोड ५० लाख एकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइ निष्कासन तथा बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गरिनेछ । उक्त योजनाको प्रमुख विशेषता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीहरूमा लगानी गरिन्छ ।

योजनाको न्यूनतम १०० इकाइ र अधिकतम एक करोड एकाइसम्मका लागि खरिद आवेदन दिन सकिन्छ । एकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिनुपर्नेछ ।

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रक्षेपित प्रतिफल दर तथा प्रतिएकाइ खुद सम्पत्ति विवरण निम्न अनुसार छ । उक्त फन्डमा लगानी गर्ने एकाइधनीलाई योजनाको अवधिभरमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।

एकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरू जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले एकाइ खरिद गर्न आवेदन दिन सक्नेछन् ।

हाल क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत चारवटा योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत तीनवटा बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फन्ड, एनआईसी एशिया ब्यालेन्सड फन्ड र एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) तथा एउटा खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड सञ्चालन गरिरहेको छ ।

‘एनआईसी एशिया ग्रोथ फन्ड तथा एनआईसी एसिया ब्यालेन्सड फन्ड’ले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल भएको छ । ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत प्रतिफल वितरण गरिसकेको छ भने ब्यालेन्सड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फन्ड सञ्चालनमा आएको पहिलो वर्षमै १० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त प्रतिफल वितरणपश्चात् तथा धितोपत्रको दोस्रो बजार निरन्तर घटेर तल्लो विन्दुमा आइपुग्दाको अवस्थामा समेत हाल एनआईसी एशिया ग्रोथ फन्डको खुद सम्पत्ति मूल्य (एनएभी) रु. १३.५५, एनआईसी एशिया ब्यालेन्सड फन्डको खुद सम्पत्ति मूल्य (एनएभी) रु. १२.७९ तथा पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको खुद सम्पत्ति मूल्य (एनएभी) रु. १०.८० कायम छ ।

तेस्रो बन्दमुखी योजना एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फन्ड) को खुद सम्पत्ति मूल्य (एनएभी) रु. ९.८४ कायम रहेको छ । साथै रु. दुई अर्बको पाँचौं बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फन्ड २ सञ्चालन गर्न स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको छ ।

पछिल्लो समयमा धितोपत्रको दोस्रो बजार घटेर तल्लो विन्दुमा आइसकेको अवस्थामा म्युचुअल फन्डमार्फत गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्ने हुँदा धितोपत्र बजारसम्बन्धी ज्ञान नभएका तथा सक्रिय रूपमा सेयर बजारमा समय दिन नसक्ने लगानीकर्ताले म्युचुअल फन्डमा लगानी गरी उचित लाभ सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया