पूर्वराजा वीरेन्द्रलाई सम्झिँदा…

वि.सं. २०५८ जेठ १९ गते राजा वीरेन्द्र र उनको वंश नाश भएको आज बीस वर्ष पुगेको छ । त्यो दिन नेपालको आधुनिक इतिहासमा एउटा ठूलो घटना थियो । त्यो घटना कसले गर्यो वा गरायो भन्ने कुरा अहिलेसम्म गर्भमै छ ।
त्यो घटना मेरा लागि पनि अहिलेसम्म एउटा रहस्यमय नै छ । त्यतिबेला कतिपय विश्लेषकहरुले सो घटनापछि राजतन्त्रको अन्तिम अध्याय सुरु भइसकेको कुरा विश्लेषण गरेका थिए । त्यो दरबार हत्याकाण्डको विषयतिर अहिले म जान्नँ । अहिले हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र छ । यो व्यवस्था पनि अहिलेका पार्टीहरुका नेताहरुको कारणले गर्दा त्यति सफलतापूर्वक सञ्चालित भएको देखिँदैन । तर अफसोच के छ भने अहिले यो व्यवस्थाको विकल्प पनि देखिँदैन ।
अहिले नेपालका सर्वसाधारण जनताहरुबाहेक अन्य राजनीति गर्ने शीर्ष नेताहरुलाई चाहिँ म पहिलेका नेताहरुभन्दा कमै राष्ट्रवादी देख्छु । त्यस्तै पहिलेका बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्प लाल, मनमोहन अधिकारी, मदन भण्डारीलगायत केही दश-बीस नेताहरु र त्यस्तै केही निजामती कर्मचारीहरु र केही पत्रकारहरु पनि राष्ट्रवादी थिए । तर यीभन्दा पनि बढी राष्ट्रवादीचाहिँ नेपालका राजाहरु नै रहेका थिए भन्ने मलाई लाग्छ । यो मेरो व्यक्तिगत विचार हो । किनभने राजाको व्यक्तिगत स्वार्थले पनि उसलाई राष्ट्रवादी हुन करै लाग्छ ।
लेख्दा-लेख्दै बीपी कोइरालाबारे एउटा प्रसंग याद आयो । भनिन्छ कि भारतले सिक्किमलाई आफ्नो देशमा विलय गरेपछि त्योबेला भारतमा राजनीतिक शरणार्थीका रुपमा निर्वाशित जीवन बिताइरहेका बीपीलाई तत्कालीन भारतको प्रधानमन्त्री इन्दिरा गान्धीले- ‘तपाईंलाई म नेपालमा लोकतन्त्र/गणतन्त्र ल्याउन जे पनि सहयोग गर्न तयार छु तर तपाईंले मेरा यी-यी कुरा वा सर्तहरु मान्नुपर्छ भनी उनको मान्छेद्वारा खबर पठाउँदा बीपी त्यतिखेर झस्केका थिए । उनले इन्दिरा गान्धीको खबर ल्याउने मानिसलाई ‘If i have to be your servent rather than i would be servent of my king.’ तिमीले पनि बीपीले यस्तो खबर पठाएको छ भन्नू है भनेर त्यो खबर ल्याउने मानिसलाई भनेका थिए ।
२०३५ सालतिर जब बीपी जनमत संग्रहका बेला बहुदलको प्रचार गर्दै विराटनगर आएका थिए त्योबेला एकदिन दिउँसो ४ बजेतिर नेपाल विद्यार्थी संघका केही साथी प्रकाश नेपाली, उमेश अधिकारी, प्रकाश खड्का र मलगायत अरु एक-दुईजनाले बीपीसँग मज्जाले लामो कुरा गर्ने मौका पाएका थियौं । ‘मैले त्यसै मेरो घाँटी राजाको घाँटीसँग जोडिएको भनेको छैन, अहिले हामीलाई भारतबाट खतरा छ । म राष्ट्रका लागि ज्यान फ्यालेर त्यसै आएको होइन’ भनेर हामीलाई भन्नुभएको थियो । यी कुरा लेख्दा लामो हुन्छ, पछि कुनैबेला प्रसंग उठ्दा लेखुँला । कुराहरु धेरै लेख्नुपर्ने छ मैले । धेरै के लेखुँ । अन्त्यमा, स्वर्गीय राजा वीरेन्द्रलगायत दिगंवत राजपरिवारका सदस्यहरुमा हार्दिक श्रद्धाञ्जली ।
प्रतिक्रिया