बुधबार, वैशाख १०, २०८२

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको आईपीओ खुल्यो, कति कित्ता भर्ने ?

नेपालखोज २०७९ जेठ १९ गते ८:०८

काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको आईपीओ आजदेखि खुला भएको छ । जेठ २४ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री खुला हुनेछ ।

एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति एकाइ मूल्य १० रुपैयाँ अंकित दरको १० करोड एकाइमध्ये बीज पुँजीबापत न्यूनतम एक करोड ५० लाख एकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइ निष्कासन तथा बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गरिनेछ । उक्त योजनाको प्रमुख विशेषता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीहरूमा लगानी गरिन्छ ।

योजनाको न्यूनतम १०० इकाइ र अधिकतम एक करोड एकाइसम्मका लागि खरिद आवेदन दिन सकिन्छ । एकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिनुपर्नेछ ।

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रक्षेपित प्रतिफल दर तथा प्रतिएकाइ खुद सम्पत्ति विवरण निम्न अनुसार छ । उक्त फन्डमा लगानी गर्ने एकाइधनीलाई योजनाको अवधिभरमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।

एकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरू जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले एकाइ खरिद गर्न आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया