बुधबार, वैशाख १०, २०८२

यसर्थ मैले धान खेती छोडें !

जयप्रकाश आनन्द २०७९ जेठ १९ गते १६:४१

अन्ततः मैले यस वर्ष धान खेती नगर्ने निर्णय लिएँ । अस्ति बजेट आउने दिनसम्म पर्खेको थिएँ, मैले अनुभव गरिरहेको कठिनाइको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर । बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन् । यसले गर्दा पछि-पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान् । तर, म मेरो तत्कालको समस्यामा केन्द्रित रहेर तलका केही पंक्तिहरू लेखेको हुँ ।

मेरा कुराहरू मोरङ जिल्लाको कटहरी गापासँग सम्बद्ध छन् । यसमा उल्लेखित दरभाऊ यहीँको कृषि र श्रम बजारसँग सम्बन्धित हो । अर्को कुरा, म धेरै जग्गा राखेको किसान होइन, यहाँ मेरो परिवारको ६/७ बिघा जग्गा छ । तर परिवारको कुनै पनि सदस्यको खेतीमा शारीरिक श्रम गर्ने स्थिति छैन । कामचोर नभन्नु होला, यी पंक्ति पढ्नेहरूमध्ये धेरैको अवस्था मै जस्तो होला ।

अब मूल कुरामा जाऊँ । म यहाँ एक बिघा धान खेती गर्दा/गराउँदा लाग्ने वास्तविक खर्च र आम्दानीको यथार्थ विवरण दिँदै छु । यदि यसमा केही फरक लागेमा अवश्य लेख्नु हुनेछ ।

एक बिघा धान खेतीको खर्च
१. बीउ ४० केजी प्रतिकेजी रू. ८०/- = ३२००/-
२. कदवा (जग्गा हिल्याउने) प्रतिचास (एकपटक) को प्रति बिघा रू. ४०००/- को दरबाट तीन चासको रू.१२०००/-
३. कोदरवाह (खेतको कुना काप्चा, खाल्डो, गारो-आली आदि मिलाउने) प्रतिबिघाको रू. ४०००/-
४. रोपनी, धानको बेर्ना रोप्ने ३५ जना जन/प्रतिजन रू. ४००/- को दरले रू. १४०००/-
५. मल : युरिया १ प्याकेट रू. १८००/-
डीएपी १ प्याकेट रू. ३५००/-
जिंक १ बाल्टी रू. १०००/-
घाँस मार्ने औषधि १ लि. रू. ८००/-
यसका लागि चाहिने १ जनको रू. ४००/-
६. कमौनी (गोडमेल) प्रतिकठ्ठा १ जनको रू. ४००/- को दरले रू. ८०००/- यसरी धान रोपाइमा कुल खर्च प्रतिबिघाको रू. ४८,७००/- हुन जान्छ ।

बाली बिक्रीका लागि तयार गर्नुअघि केही अरू खर्च हुन्छ । जस्तो- छोपनी कटानीबापत प्रतिमनमा ६ केजी धान नै दिनुपर्दछ । र, थ्रेसरले दाइँ गरेबापत प्रतिमन २ केजी लिन्छ । यसरी प्रतिमनमा ८ केजी धान गयो । मेरा लागि त एक मन भनेको ४० केजीको न भई ३२ केजीको मात्र भयो ।

अब उब्जनीको कुरा गरौं । मैले मेरो ठाममा अधिकतम उब्जनी ८० देखि ९० मन प्रतिबिघा मानेको छु । यो सीमान्त अधिकतम उब्जनी हो । तर, व्यवहारिक रूपमा यथार्थ उब्जनी भने ८५ मन मानेको छु । यसभन्दा बढी उब्जनी यस तरिकाको धान खेतीबाट सम्भव हुँदैन । माथि मैले उल्लेख गरेको छोपनी कटानी र थ्रेसर बापत १७ मन धान नै गयो । अब ८५ मनमा यो १७ मन घट्न जाँदा मसँग रहने ६८ मन धान हो । यो नै मेरो कुल उब्जनी हो ।

गत वर्ष सरकारले धान खरिदको प्रतिमन मूल्य १२००/- तोकेको हो । तर खरिद गर्दैन । बजारको गोलाले प्रतिमन रू. ११००/को दरले धान खरिद गर्छ । अधिकतम ६८ मनको रू. ७४,८००/- हुन आउँछ । यदि किसानले यो मूल्य पायो भने आफूलाई भाग्यमानी ठाने हुन्छ ।

रू. ७४,८००/- रकम धान बिक्रीबापत आम्दानीको रूपमा मेरो हात पर्छ । अब यसमा रोपनी, मल, खाद आदि माथि उल्लेख गरिएको खर्च रू. ४८,७००/- घटाउँदा रू. २६,१००/- रकम वर्ष दिनमा एक धान बालीबापत मलाई बचत हुन्छ । अर्थात् मैले ४ महिनासम्म लगातार रगडधस गर्दाको अन्तिम आम्दानी रू. २६,१००/- देखियो । यसमा मेरो पूरै ४ महिना खर्च हुन जान्छ ।

देशको संघीय संसद्‌मा बजेटबारे छलफल चल्दै छ । उफ्रेर बोल, कराएर बोल, रोस्टममा मुर्की बजारेर बोल-जसरी बोले पनि, जस्तो लक्ष्य निर्धारण गरे पनि म जस्ताले धान खेती गर्दा वर्षको १ बालीको आमद हो रू. २६,१००/-
यसर्थ, यस वर्ष मैले धान खेती परित्याग गरे‌ ।

प्रतिक्रिया