बुधबार, वैशाख १०, २०८२

अन्ततः दुई हजार अंकमा झर्यो नेप्से, ३३ अंकले घट्दा १ अर्ब ३० करोडको कारोबार

नेपालखोज २०७९ जेठ २० गते १५:३०

काठमाडौं । नेप्से अन्ततः दुई हजार अंकमा झरेको छ । अघिल्लो दिन १८ दशमलव २६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुनः ३३ दशमलव ७६ अंकले घटेर दुई हजार ७८ दशमलव ७० अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंकले घटेर चार सय तीन दशमलव ४८ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय २६ वटा कम्पनीको २६ हजार ६ सय ९३ पटकको कारोबारमा ३८ लाख ४८ हजार पाँच सय आठ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसकारण कुल कारोबार रकम १ अर्ब ३० करोड ७३ लाख ५९ हजार पाँच सय ४१ रुपैयाँ मात्र पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै राताम्मे भएको छ । वाणिज्य बैंक समूहको सूचक २४ दशमलव सात अंकले घटेर १४ सय ४७ दशमलव ५० अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ५६ दशमलव ६८ अंकले घटेर तीन हजार ६ सय ६ दशमलव ७७ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक पनि ३१ दशमलव ९३ अंकले घटेर २४ सय २५ दशमलव ७६ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ६७ दशमलव १५ अंकले घटेर आठ हजार पाँच सय ३४ दशमलव ६७ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ३६ दशमलव ६५ अंकले घटेर नौं हजार आठ सय ६१ दशमलव ९२ अंकमा पुगेको छ । ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीमध्ये आज उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १७ सय ५७ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले घटेर दुई सय ८९ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सात सय ३९ रुपैयाँ अन्तिम मूल्यमा छ करोड २३ लाख ५५ हजार ६ सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया