बुधबार, वैशाख १०, २०८२

मैले देखेको अनी भोगेको नेपालको स्वास्थ्य प्रणाली

सजिना पाैडेल २०७९ जेठ २४ गते १२:१९

स्वास्थ्य सुन्दा एउटा मात्र शब्द भएपनि यो शब्दसँग नाता जोडिएका धेरै कुराहरू छन्। स्वास्थ्य सम्बन्धित नीति, नियम तय गर्ने जिम्मा त मुख्य रूपमा स्वास्थ्यसँग सम्बन्धित निकायहरुको नै हुने गर्छ। स्वास्थ्य सेवा राम्रो गर्न, सुविधायुक्त बनाउन विशेष रूपमा भुमीका डाक्टर, ल्याबोरेटरी टेक्निसियन , टेक्नोलोजीस्ट, फार्मासिस्ट र अन्य स्वास्थ्य अधिकारीहरूको हुने गर्छ।

नेपालको सन्दर्भमा हेर्नुपर्दा स्वास्थ्य प्रणाली कस्तो भइसकेको छ भन्दा, टाउको दुख्दा, रुघा लाग्दा, छुस्स पेट अनी ढाड दुख्दा मानिसहरू झ्याप्पै सिटामोल, साइनेकस् लिने गर्छन् जब विकसित राष्ट्रहरूमा यस्ता औषधीहरू हानिकारक मानिन्छन् र मेडिकल प्रिस्क्रिप्सन बिना पाइदा पनि पाइँदैन। यी औषधीहरू लामो समयसम्म प्रयोग गर्दा भविष्यमा स्वास्थ्य सम्बन्धित निकै ठूला-ठूला जटिलताहरू नदेखिएलान् भनेर भन्न सकिँदैन । टाउको दुख्ने, ज्वरो आउने कुनै प्रकारको रोगको लक्षण पनि हुन सक्छन्। त्यसैले यस्ता समस्याहरू लामो समयसम्म देखिँदा चाहिँ जाँच गर्नुपर्छ। यो विषयलाई केन्द्रबिन्दु गराएर, नीति बन्नुपर्छ भन्ने कुरा पनि मलाई लाग्छ। विभिन्न ठाउँमा गरिएको अध्ययनहरूले, लामो समयसम्म प्यारासिटामोल प्रयोग गर्दा ओस्टियोआर्थराइटिस, उच्च रक्तचाप, हृदय रोग साथसाथै किड्नीको समस्या हुन्छ । औषधी सेवन गरिहाल्नु हुँदैन मतलब यो हैन कि गर्नै हुँदैन, यसको मतलब यो हो कि जथाभावी रूपमा प्रयोग गर्न हुँदैन। यस विषयमा हामी आफैँ सचेत बन्न जरुरी छ । सकेसम्म औषधीको प्रयोग कम गर्नुपर्छ।

हामी आफैँ डाक्टर बन्ने प्रयास गर्छौं र जथाभावी औषधी किनेर खान्छौं, यसरी औषधी पसलबाट कुनै आधार बिना औषधी दिने कार्य पनि नियन्त्रणमा आउनुपर्ने देखिन्छ। त्यसै गरी, स्वास्थ्य जाँच गर्दा हामी कहिले कुन डाक्टरसँग जान्छौं कहिले कुन। एउटै रोगको उपचारको लागि डाक्टर फेरिरहँदा औषधी पनि छुट्टै-छुट्टै पर्नसक्छ। यस्तो हुँदा ठीक हुनुपर्ने बिमार पनि ठीक नभई अझै बिग्रने अवस्था सिर्जना भएको कुरासँग हामी सबै अवगत नै छौं होला। यो प्रणालीलाई सुधार गर्न पनि हाम्रो नै भुमीका चाहिन्छ । एउटै डाक्टरसँग ‘फ्लो अप’ गर्ने बानी हामीले बसाल्न जरुरी छ तर त्यो खालको वातावरण नेपालमा अझै सिर्जना भइसकेको छैन। यो नीति नियम बनाउन फेरी सरकारकै आवश्यकता झल्किन्छ भने आवाज उठाउने जिम्मा चाहिँ स्वास्थ्यकर्मीहरुको नै देखिन्छ र जनताहरू पनि यस विषय बारे सचेत नै हुनुपर्दछ।

अब समस्या कोट्याउँदै जाँदा, सरकारी अस्पतालहरुमा बिरामीहरूले धेरै नै पीडा भोगिराखेका हुन्छन् । यो देख्दा कता कता यस्तो पनि लाग्छ, मानिसमा मानवता हराइसकेको छ र स्वास्थ्य सेवा दिनका लागि बसेका स्वास्थ्यकर्मीहरु पनि सेवा भन्दा कतै आफ्नो स्वार्थ पूरा गर्न होमिएको त हैनन् ? लामो लाइन बस्नुपर्ने, सकी-नसकी घण्टौं डाक्टरको प्रतिक्षा गर्नुपर्ने, एउटै टेस्ट बारम्बार गराईराख्नुपर्ने जस्ता समस्याहरूसँग हामी अवगत नै छौं। फेरि यो समस्या माथिल्लो तहमा कुनै पहुँच नहुने सर्वसाधरणले मात्र भोग्नुपर्छ । अहिले यस्तो अवस्था सिर्जना भएको छ, मान्छे एकपल्ट अस्पतालमा पाइला टेकेपछि बारम्बार अस्पतालमा होमिरहनुप्रर्ने हुन्छ। रोग सञ्चो हुने त कहाँ हो कहाँ औषधीका डब्बाहरु थपिँदै जान्छन् अनि औषधीको साइड इफेक्टका कारण अरु रोग पनि थपिने गर्छन्। फेरि बिरामीहरूले डाक्टहरुलाई दोष लगाउने, ढिला हुँदा गाली गलौच गर्ने वातावरण पनि नदेखेका हैनौं। एक अर्कालाई दोष लगाउने प्रवृत्ति हामी नेपालीको पुर्खौंली रोग हो ।

नेपालमा साच्चिकै स्वास्थ सेवामा सुधार ल्याउने हो भने, यसको लागि निकै अनुसन्धानको आवस्यक छ। नेपालमा नै औषधीहरु निर्माण हुनुपर्छ । रोग पत्ता लगाएर मात्र उपचार उचित ढंगले अगाडि बढाउन पर्ने हुन्छ। धनीले उपचार पाइरहेका हुन्छन् तर गोजीमा दाम नहुनेले के गर्ने ? उपचार नपाएर मर्ने ? यस्ता व्यक्तिले पनि उपचार पाउनुपर्छ। औषधीको आपूर्ति उचित समयमा नहुँदा १०० ओटा फार्मेसी धाउनुपर्ने, सरकारी अस्पतालमा जाँदा त्यहाँ टेस्ट हुन नसकेर प्राइभेट ल्याबमा होमिनुप्रर्ने, समयमा ल्याब रिपोर्ट नआएर धेरै समय पर्खनुपर्ने समस्या पनि धेरैले भोगेका छौं। अझै पनि गर्भवती महिलाहरु समयमा अस्पताल पुग्न सकेका छैनन्। दुर्गम ठाउँहरूमा अझै पनि स्वास्थ्य सेवाको हाहाकार नै छ। ग्रामिणा भेगका सबै जनता उपचारका लागि शहरका ठूला अस्पताल नै धाउनुपर्ने अवस्था छ । के अझै पनि राम्रो स्वास्थ्य सुविधा पाउनको लागि सहरमा नै दौडिनुप्रर्ने हो त? पैसा हुने त जान्छन् नहुने लाई चाहिँ के गर्ने ?

सबै नागरिक, स्वास्थ्यकर्मीहरु, स्वास्थ अधिकारीहरू, नीति निर्माताहरु यस विषयमा सचेत बन्न जरुरी छ । स्वास्थ्य सेवा हो । स्वास्थ्य सुधारको लागि धेरै कार्यक्रमहरु, योजनाहरु भएता पनि विकसित राष्ट्रहरूको तुलनामा हामी धेरै पछि छौं। स्वास्थ्य सेवालाई तबसम्म राम्रो भन्न सकिँदैन जबसम्म हरेक कुनामा स्वास्थ्यको पहुँच पुग्दैन र सबै नागरिकले एक सम्मान सेवा पाउँदैनन्।

प्रतिक्रिया