बुधबार, वैशाख १०, २०८२

ल्यान्डफिल्ड साइट, प्रभावितका समस्या समाधान र व्यवस्थापनका लागि मेयर बालेन्द्रलाई सुझाव !

प्रदीपराज कणेल २०७९ जेठ २४ गते १३:४९

१. फोहोर व्यवस्थापन केन्द्रित – कार्यपालिकाको विशेष बैठक बोलाउनुस् ।
-सोअघि उप-प्रमुख, सबै वडाध्यक्षसँग छुट्टाछुट्टै र संयुक्त भेट गरी कमन एजेन्डामा सहमत गरेर निर्णय गर्न औपचारिक बैठक आयोजना गर्नुस् ।
-आफ्नो कार्यपालिकाको बोर्डबाट देहायको विषयमा सिसडोल र बन्चरेडाँडास्थित स्थानीय तहसँग सम्झौता गर्ने भनि निर्णय गराएरै कार्यादेश लिनुहोस् ।
क) ल्यान्डफिल्ड साइटको २ किमि क्षेत्रभित्रका बासिन्दा, विद्यार्थी-शिक्षक-कर्मचारीसमेतको आधारभूत स्वास्थ्य बिमा कामपाले आउँदो साउनबाट पाँच आर्थिक वर्षका लागि गर्ने गरी लाग्ने प्रिमियम कामपाले व्यय गर्ने र आव ०७९/८० बाटै कार्य प्रारम्भ गर्ने ।

सो २ किमि क्षेत्रका क्यान्सर पीडितको उपचारमा अन्य निकायको भुक्तानीमा दोहोरो नपर्ने गरी प्रतिव्यक्ति दश लाख रुपैयाँसम्म सम्बन्धित अस्पताललाई भुक्तानी दिने । यसमा २ किमिभित्रको स्थानीय र बिरामी हो भन्ने वडाको किटानी सिफारिस र अस्पतालको प्रमाण भए हुने ।
यसका लागि अनुमानित जनसंख्या, उमेर समूह, उपचार गर्ने अस्पताल र लाग्ने खर्चको अनुमान गरी बजेट विनियोजन गर्ने ।

ख) सिसडोल र बन्चरेडाँडाका लागि १/१ एम्बुलेन्स कामपाले उपलब्ध गराउने तर यसको सञ्चालनको ढाँचा र व्यय त्यहीँको स्थानीय तहको सामान्य निर्देशन र नियन्त्रणमा रही स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन गर्ने ।

ग) ल्यान्डफिल्ड साइटसम्म पुग्ने सडकको निर्माण सुधार र स्तरोन्नति सडक विभाग र सहरी विकास मन्त्रालयसँग समन्वय गरी तत्काल प्रारम्भ गर्ने ।
त्यहाँबाट बजेट सुनिश्चित नहुने लिखित पत्र आएमा महानगरबाटै स्रोत परिचालन गरी कार्य आरम्भ गर्ने ।

घ) ल्यान्डफिल्ड साइटमा फोहोर ट्रिटमेन्ट प्लान्ट जडान गर्ने ।

ङ) सो साइटमा दुर्गन्ध आउन नदिने व्यवस्था मिलाउने ।

च) फोहोरबाट मोहोर हुने उद्योग साइट क्षेत्रमै सञ्चालन गरी क्षमताअनुरूपको कामदार छनोट गर्दा प्रभावित क्षेत्रकै वासिन्दालाई प्राथमिकतामा राख्ने ।

छ) सफाइकर्मी/चालकहरु र निजका परिवार (पति, पत्नी, छोराछोरी, बाबु-आमा) को समेत स्वास्थ्य बिमा महानगरले गराइदिने ।
सफाइकर्मी र चालकलाई सफाइ उपकरण, पोसाक र नुहाउने नियमित व्यवस्था मिलाउने ।

२. बन्चरेडाँडा र सिसडोल क्षेत्रका वडाध्यक्ष/वडा सदस्य, स्थानीय तह प्रमुख, उप-प्रमुख/अध्यक्ष, उपाध्यक्ष र गठित समितिका पदाधिकारीलाई महानगरमै आमन्त्रण गरी कार्यपालिकाको रोहबरमा नेगोसिएसन गर्नुस् अनि आफ्नो रोहबरमा प्रमुख प्रशासकीय अधिकृतमार्फत सम्झौता गर्नुस् ।

३. कार्य सञ्चालन टोली गठन गर्नुस् ।

४. संयुक्त अनुगमन टिम बनाउनुस् । यसमा सिसडोल र बन्चरेडाडाका वडाध्यक्षसमेतलाई राख्नुस् ।

५. भए/गरेका प्रगतिको वेबसाइटबाट नियमित प्रकाशन गर्नुहोस् ।

प्रतिक्रिया