भगवान !

कथा लेख्न भरखरै बसेको थिएँ । छोरो बाहिरबाट दौड्दै आयो र सोध्यो- बाबा ! भगवान हुन्छ कि हुँदैन ?´ म उसलाई भगवान हुँदैन भनेर सम्झाउथें । ऊ कताकता के के सुन्थ्यो र बारम्बार यही प्रश्न सोधिरहन्थ्यो ।
हुँदैन ।´ मैले उतिर नहेरी जवाफ दिएँ ।
बाबा आकाशमा कति धेरै ताराहरू है ?’ उसले भन्यो ।
अँ । मैले उसलाई वेवास्ता गरे झैं भनें । म चाहन्थें ऊ चाडै गैदियोस् र कथा लेख्न सकुँ ।
यसो किबोर्ड थिचेर एकदुई शब्द के टाइप गरेको थिएँ , ऊ फेरि सुरु भयो- ` बाबा, मलाई रात परेपछि कस्तो डर लाग्छ नि ।´
किन बाबु?´ अब भनें मैले कथातिर भन्दा ऊतिर आफूलाई केन्द्रित गरें ।
ती ताराहरू झरेर हाम्रो टाउकामा लागे भने…? हाम्रो घरको छानो प्वाल पारेर सुतेकै ठाउँमा खसे भनें ?… ।´
धत्त... त्यस्तो पनि हुन्छ कहीँ । झर्दै झर्दैनन् नि । असम्भव कुरा सोचेर पनि हुन्छ ?´ मैले सम्झाउने कोसिस गरें ।
कसले थामेर राख्दो हो है बाबा तिनीहरूलाई ?´ उसले फेरि सोध्यो ।
उसका प्रश्नहरूबाट हायल कायल भएको मैले भनिदिएँ- खै , भगवानले होला ।´
ए ! बुझें बाबा ।´ बाहिर जान उठ्दै उसले भन्यो ।
`के बुझ्यौ ?´ मैले सोधें ।
`सजिलोमा भगवान हुँदैन । अफ्ठ्यारोमा भगवान् हुन्छ ।´ सँघारको बीचमा उभिएर उसले जवाफ दियो ।
प्रतिक्रिया