शनिबार, वैशाख २७, २०८२

‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

नेपालखोज २०७९ असार ६ गते ९:५७

वाग्मती प्रदेशको चितवन जिल्लाको प्रशासनिक नेतृत्व अहिले काभ्रेका अस्मान तामाङको काँधमा छ । २०७८ असोज ४ गतेदेखि चितवनको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तामाङ कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ तामाङलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै ३० वर्ष बिताएका चितवनका प्रजिअ तामाङ यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
कार्यालयमा आएका सेवाग्राहीका समस्या समाधान अवश्य हुने उनको भनाइ छ । सेवाग्राहीका समस्या समाधानमा नमिलेको कुरो भए पनि वैधानिक रुपमा हुने भए प्रक्रिया मिलाएर काम गरिदिने गरेको प्रजिअ तामाङ बताउँछन् । ‘आमजनता जति पनि समस्या लिएर आउँछन् ती समाधान हुनै नसक्ने समस्या होइनन् । मात्र कुनै कुरामा प्रक्रिया नमिलेको हुने हो,’ प्रजिअ तामाङले नेपालखोजसँग भने, ‘ यसलाई प्रक्रिया मिलाएर काम गरिदिनुपर्ने हुन्छ । आमजनताले सेवा नपाउने भन्ने कुरा हुँदैन ।’
चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अस्मान तामाङसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६२औं शृंखला :

हाइलाइट्स :
-मैल के कारणले सेवा लिन सकिनँ भनेर प्रश्न गर्ने क्षमता अहिले आमनागरिकमा छ । कार्यालबाट प्रवाह हुने विभिन्न प्रकृतिको सेवा आमजनतालाई मेरो क्षमताले भ्याएसम्म सन्तुष्ट दिलाको छु ।
-गृह प्रशासनको काम मूलभूत रुपमा शान्ति-सुरक्षा कायम गर्ने हो । चुलो-चौकोदेखि सीमासम्मको प्रशासन र कुनै पनि कार्यालयले नगरेको काम गृह प्रशासनले सम्पादन गर्नुपर्ने हुन्छ ।
-आमजनता जति पनि समस्या लिएर आउँछन् ती समाधान हुनै नसक्ने समस्या होइनन् । मात्र कुनै कुरामा प्रक्रिया नमिलेको हुने हो । यसलाई प्रक्रिया मिलाएर काम गरिदिनुपर्ने हुन्छ । आमजनताले सेवा नपाउने भन्ने कुरा हुन्न ।
-सरकारले उपलब्ध गराएको स्रोत-साधनमै सेवा प्रवाह गर्ने हो । कुनै बेला बिहान १० देखि बेलुका ७ बजेसम्म पनि सेवा प्रवाह हुन्छ ।
-अहिले हामी ओपन अफिसको कन्सेप्टमा छौं । नागरिकता, नागरिकता प्रतिलिपि, राहदानीमा एउटा सनाखत गर्ने हुन्छ । सनाखत गर्ने त्यहीँबाट सदर हुने । सदर भएपछि कार्ड बन्ने, कार्ड बनेपछि फोटो टाँस्ने र अभिलेख कायम गर्ने र सही गर्ने काम । यस्ता समस्याको समाधान एउटै कोठाबाट हुन्छ ।
-लोकसेवामा प्राय: मध्ययम वर्गीय परिवारका मान्छे बढी आउँछन् । यसको बृहत् कार्यक्षेत्र पनि हो । वडादेखि सिंहदरबारसम्म यसको कार्यक्षेत्र छ ।
-राज्य सबैभन्दा ठूलो रोजगार दाता हो । स्थानीय तह, प्रदेश, अथवा कुनै पनि तहका लागि आवेदन दिनेको संख्याबाट निजामती सेवाको आकर्षण राम्रो छ भनेर प्रस्ट हुन्छ ।
-निजामती सेवाको सबैभन्दा विवादित विषय सरुवा हो । निजामती ऐनमा भएअनुसार यो ठाउँमा जानै पर्छ, भनेको ठाउँ जानै पर्ने व्यवस्था लागु हुनुपर्छ । नेपालको सरुवाको मापदण्ड कहिल्यै पनि पूरा हुन सकेन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म निजामती सेवामा प्रवेश गरेको करिब ३० वर्ष भयो । पछिल्ला ५ वर्षमा ४ वटा जिल्लाको प्रजिअ भएर जनतासँग प्रत्यक्ष काम गरिरहेको छु । यहाँसम्म आइपुग्दा आम सेवाग्राही सचेत रहेको अनुभव पाएको छु । आफूले प्राप्त गर्ने सेवाप्रति उहाँहरु सबै दृष्टिकोणबाट सचेत हुनुहुन्छ । मैल के कारणले सेवा लिन सकिनँ भनेर प्रश्न गर्ने क्षमता अहिले आम नागरिकमा छ । हाम्रो कार्यालबाट प्रवाह हुने विभिन्न प्रकृतिको सेवा आमजनतालाई मेरो क्षमताले भ्याएसम्म नभएर सम्बन्धित कार्यालयको समन्वयमा सन्तुष्ट दिलाएँजस्तो लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
गृह प्रशासनको काम मूलभूत रुपमा शान्ति-सुरक्षा कायम गर्ने हो । चुलो-चौकोदेखि सीमासम्मको प्रशासन र कुनै पनि कार्यालयले नगरेको काम गृह प्रशासनले सम्पादन गर्नुपर्ने हुन्छ । जिल्लाको समग्र कार्यालयहरुको कार्य सम्पादन गर्ने हो । सेवाप्रवाहका क्रममा केही जटिलताहरु सिर्जना हुन्छन् । तर ती समाधान नहुने खालका समस्या होइनन् । आमजनता जति पनि समस्या लिएर आउँछन् ती समाधान हुनै नसक्ने समस्या होइनन् । मात्र कुनै कुरामा प्रक्रिया नमिलेको हुने हो । यसलाई प्रक्रिया मिलाएर काम गरिदिनुपर्ने हुन्छ । आमजनताले सेवा नपाउने भन्ने कुरा हुन्न ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
जिल्ला प्रशासनले विभिन्न प्रकृतिका सेवा प्रवाह गर्छ । नेपाल सरकारले उपलब्ध गराएको स्रोत साधनमा हामीले सेवा प्रवाह गर्ने हो । कुनै बेला बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म पनि सेवा प्रवाह हुन्छ । नागरिकता लिनका लागि लामो लाइन छ भने ५ बजेपछि पनि हामी सेवा दिन्छौं । कहिलेकाहीँ सेवाग्राहीको चाप बढी हुन्छ जस्तो- मतदाता परिचयपत्र बनाउन, राष्ट्रिय परिचयपत्र बनाउनेमा चाहिँ अस्वभाविक रुपमा हाम्रो स्रोत-साधनले धान्नेभन्दा बढी सेवाग्राही आउनुहुन्छ । यो बेलामा मात्र समस्या हो ।

तपाईंसँग आइपुग्ने सेवाग्राहीले कस्ता प्रकृतिका काम लिएर आउने गरेका छन् ?
अहिले चितवनमा मोर्डन मेनेजमेन्ट अवलम्बन गरेको हो । हामी ओपन अफिसको कन्सेप्टमा छौं । नागरिकता, नागरिकता प्रतिलिपि, राहदानीमा एउटा सनाखत गर्ने हुन्छ । सनाखत गर्ने त्यहीँबाट सदर हुने । सदर भएपछि कार्ड बन्ने, कार्ड बनेपछि फोटो टाँस्ने र अभिलेख कायम गर्ने र सही गर्ने काम । यस्ता समस्याको समाधान एउटै कोठाबाट हुन्छ । अलि जटिल काममा सहायक सरहरु हुनुहुन्छ उहाँहरुले गर्नुहुन्छ । उहाँहरुबाट समाधान भएन भने मसँग पेस हुन्छ । तल्लो तहमा समाधान नभएका केही काम मात्र मसँग आउँछन् । नागरिकताको कुरा गर्ने हो भने बुबा नभएको, आमाबाट नागरिकता लिनुपर्ने विषय हुन सक्छ । यस्तै प्रकृतिको समस्याहरु मसँग आउँछन् । ठाडो उजुरी लिएर पनि मसँग आउनुहुन्छ । विभिन्न निकायमा समन्वय गर्नुपर्ने कुराहरु पनि मसँग आउँछन् । विभिन्न कार्यालयको उजुरी, आफ्नै कार्यालयको उजुरी, अरु निकायको कर्मचारीको उजुरीलगायत विभिन्न गुनासाहरु पनि आउने गर्छन् ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
हामी मध्ययम वर्गीय परिवारको मान्छे । लोकसेवामा प्राय: मध्ययम वर्गीय परिवारका मान्छे मात्र आउँछन् । मैले आफ्ना लागि उपयुक्त स्थान यही देखेँ । अर्को कुरा यसको बृहत् कार्यक्षेत्र पनि हो । वडादेखि सिंहदरबारसम्म यसको कार्यक्षेत्र छ । यस क्षेत्रमा आउने माध्यम लोकसेवा हो । यसले योग्यतको कदर गर्छ । त्यहीँ हामीजस्ता मध्यमवर्गको आकर्षण छ । अर्को कुरा सेवाको सु-निश्चितता छ । एकपटक यहाँ छिरेपछि आफ्नो गल्ती बाहेक अरु कुराले यहाँबाट बाहिर निस्कने सम्भावना हुँदैन ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
राज्य सबैभन्दा ठूलो रोजगार दाता हो । स्थानीय तह, प्रदेश, अथवा कुनै पनि तहका लागि आवेदन दिनेको संख्याबाट निजामती सेवाको आकर्षण राम्रो छ भनेर प्रस्ट हुन्छ । मान्छे अझै पनि निजामती सेवामा अकर्षित छन् । यद्यपि निजामती सेवाको साख पछिल्लो समय गिर्दो अवस्थामा छ । यो हामीले स्वीकार गर्नुपर्छ ।

फुर्सदको समयलाई कसरी सदुपयोग गर्नुहुन्छ ?
म प्रजिअको भूमिकामा पछिल्लो ५ वर्षदेखि छु । म मद्यपान गर्दिनँ त्यसकारण त्यसका लागि मेरो समय खर्च हुँदैन । कर्मचारीहरु खेलबाडमा लाग्छन् भन्छन् मेरो त्यो पनि छैन । फुर्सदमा पनि कार्यलयको जिम्मेवारीमै केन्द्रित हुन्छु । विभिन्न पत्रपत्रिका, पुस्तक अध्ययनमा बिताउँछु फुर्सदको समय ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवा निजामती सेवाको सबैभन्दा विवादित विषय हो । अनुमानभन्दा बाहिर रहेर सरुवा हुने । सरुवा निजामती सेवाको नियमित प्रक्रिया नै हो । कर्मचारीका लागि पनि सरुवा अवसर हो । स्वार्थका लागि पनि कर्मचारीले सरुवा उपयोग गर्छ यो विवादित विषय पनि हो । सरुवा कहिले पनि विवादरहित भएन । तीनवटा सरुवाचाहिँ अपेक्षित नै हुनुपर्छ । मेरो यो ठाउँमा सरुवा हुन्छ त्यसपछि यतिवर्ष पछि यो ठाउँमा सरुवा हुन्छ भनेर जानकारी हुन जरुरी छ । निजामती ऐनमा भएअनुसार यो ठाउँमा जानै पर्छ भनेको ठाउँ जानै पर्ने व्यवस्था लागु हुनुपर्छ । हाम्रो सरुवाको मापदण्ड कहिले पनि पूरा हुन सकेन ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
निजामती सेवा देशको स्थायी सरकार हो । निजामती सेवाभन्दा बाहिर रहेका साथीहरुलाई पनि यस क्षेत्रमा आउन आग्रह गर्छु म । दोस्रो कुरा निजामती सेवा तोकिएका अचारण अक्षराश: रुपमा पालना गर्ने प्रयत्न गरौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसँग कुराकानी गरेका थियौं । यसपटक वाग्मती प्रदेशको चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया