‘जसले राष्ट्रि-यताको कम्मल ओढेर आधारातमा, राष्ट्रि-उताको घिउ एउटा पनि हजम गरेको छैन !’
अर्जुन पराजुली
२०७९ असार ९ गते ७:५९

सिटामोलको चक्कीमा कमिसनको खेती गरेर
जसले खल्ती एउटा पनि भरेको छैन !
जसको यती, ओम्नी, बतास या सतासमध्ये
एउटासँग पनि माल-अंकमाल परेको छैन !
अरुलाई गर्न सिकाउने कुरो त परै जाओस्
जसले आफूले नै भ्रष्टाचार गरेको छैन !
बनाएरै उद्घाटन त जसले पनि गर्छ दुनियाँमा
जसले नबनाईकन एउटा पनि उद्घाटन गरेको छैन !
जसले राष्ट्रि-यताको कम्मल ओढेर आधारातमा
राष्ट्रि-उताको घिउ एउटा पनि हजम गरेको छैन !
एक सिलिन्डर अक्सिजन नदिएर कोरोना कालमा जसले-
एउटा पनि बिरामीलाई मर्न मद्दत गरेको छैन !
भने
उसले राजनीतिमा आउन कसरी मिल्छ महोदय ? मिल्दैन !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया