झम्सिखेलमा जडान गरियो ‘ट्राफिक लाइट’

ललितपुर । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन ललितपुरको झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा आएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले नयाँ ट्राफिक लाइटको स्विच अन गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए । ‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ,’ जोशीले भने, ‘प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।’

कार्यक्रममा ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष गोपाल महर्जनले ट्राफिक लाइट जडानबाट आमसेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने बताए । उनले सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भूमिकाको प्रशंसा गरे । आगामी दिनहरूमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने उनले बताए ।
कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरूलगायतको उपस्थिति थियो । हाल उपत्यकाको मुख्य ४० चोकमा ट्राफिक लाइटबाट सवारीसाधनको व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा छ । यस्तै सात स्थानमा जडान कार्य भइरहेको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकमा ट्राफिक लाइटको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न सम्पूर्ण सवारी चालक तथा पैदलयात्रीलाई ट्राफिक कार्यालयले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया