‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको प्रशासनिक नेतृत्व अहिले काभ्रेका नवराज सापकोटाको काँधमा छ । २०७८ वैशाख ६ गतेदेखि रोल्पाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सापकोटा कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ सापकोटालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै ३५ वर्ष बिताएका रोल्पाका प्रजिअ सापकोटा यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । कार्यालयमा आएका कर्मचारीले दु:ख नपाउन् भनेर आफूले कर्मचारीहरुलाई निर्देशन दिएको प्रजिअ सापकोटा बताउँछन् । उनले सहज सेवाप्रवाहका लागि कर्मचारी संयन्त्र दुरुस्त राखेको दाबीसमेत गरे । ‘कुनै सेवाग्राहीलाई गुनासो गर्नुपर्यो, मेरै कर्मचारीले दुःख दिए, अतिरिक्त शुल्क लिए भने सीधै मलाई कल (सम्पर्क) गर्नू भनेर मोबाइल नम्बर दिएको छु,’ प्रजिअ सापकोटाले नेपालखोजसँग भने, ‘मलगायत सूचना अधिकारी एवं गुनासो व्यवस्थापन अधिकारीको पनि व्यवस्था छ । केही भयो भने सूचना अधिकारी एवं गुनासो व्यवस्थापन अधिकारीलाई पनि सम्पर्क गराउने नभए सीधै प्रमुख जिल्ला अधिकारीलाई नै जानकारी गराउने व्यवस्था मिलाएको छु ।’
रोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज सापकोटासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६५औं शृंखला :
हाइलाइट्स
-कार्यालयमा दरबन्दीअनुसार कर्मचारी छैनन् । तर पनि म यहाँ प्रमुख जिल्ला अधिकारी भएर आएपछि सेवाग्राहीको सन्तुष्टि र उहाँहरूलाई मध्यनजर गरेर सेवा-सुविधा प्रभावकारी बनाउन मैले ‘टाइम फ्रेम’ चाहिँ राखेको छैन ।
-विभिन्न कामले कार्यालय परिसर छिरेका सेवाग्राहीको काम ७ बजे पनि गरेर पठाएको छु । कपिपय डकुमेन्ट नमिलेको अवस्थामा राम्रोसँग भनेर ती विवरणहरू ल्याउन लगाउने र कतिपय विवरण सेवाग्राहीलाई मार्का नपर्ने गरी पालिकाबाट मेल गर्ने लगाएर पनि सेवाग्राहीको काम सम्पन्न गरेको छु ।
-सेवाग्राही लामो समय लाइनमा बस्नुपर्ने अवस्था पनि हुन सक्छ, त्यहाँ बच्चा भएका महिला पनि हुनसक्ने भएकाले उहाँहरूका लागि स्तनपान कक्ष पनि स्थापना गरिएको छ । बच्चाहरू खेल्न खेलौनाले भरिएको एउटा कोठा पनि छ । सेवाग्राहीका लागि टेलिभिजन पनि राखिएको छ । त्यससँगै सेवाग्राहीलाई खानेपानीको व्यवस्था मिलाइएको छ ।
-कुनै सेवाग्राहीलाई गुनासो गर्नुपर्यो, मेरै कर्मचारीले दुःख दिए, अतिरिक्त शुल्क लिए भने सीधै मलाई कल (सम्पर्क) गर्नू भनेर मोबाइल नम्बर दिएको छु । मलगायत सूचना अधिकारी एवं गुनासो व्यवस्थापन अधिकारीको पनि व्यवस्था छ । केही भयो भने सूचना अधिकारी एवं गुनासो व्यवस्थापन अधिकारीलाई पनि सम्पर्क गराउने नभए सीधै प्रमुख जिल्ला अधिकारीलाई नै जानकारी गराउने व्यवस्था मिलाएको छु ।
-जसको प्रक्रिया पुग्दैन, नियमअनुसार कागजपत्र पुग्दैन त्यस्ता व्यक्तिले राजनीतिक वृत्तमा पुगेर सही सूचना नदिई उल्टै कर्मचारीले गरिदिएन भनिदिनुपर्यो भनेर मन्त्री संसदकोमा कुरा पुगेपछि किन नगरिदिएको गर्नुपर्यो भन्ने कुरा आउँछ । योचाहिँ सेवा लिन आउने व्यक्तिकै कमजोरी हो । मैले अहिलेसम्म कुनै पनि राजनीतिक दबाब र प्रभावबाट काम गरेको छैन ।
-रोल्पा पहाडी र दुर्गम जिल्ला हो । भौगिलिक रूपमा हामी ठगिएका छौं । यहाँ ७२ वटा वडा छन् सबैमा कच्ची बाटो पुगेको छ । सदमुकाममा मात्र पिच छ । कच्ची बाटो पिच नभएका कारण वर्षाको समयमा धेरै ठाउँमा बाटो बिग्रिएका कारण गाडी जाँदैन । कतै दुर्घटना भयो भने चाहेर पनि हामीले बाटोका कारण तत्काल सेवा पुर्याउन सक्दैनौं ।
-आफ्नो मिहिनेतले प्रमुख जिल्ला अधिकारीको पदसम्म आइपुग्दा मैले आफूलाई निकै भाग्यमानी ठानेको छु । जहाँ-जहाँ मैले काम गरेँ त्यहाँका कार्यालय प्रमुख र सेवाग्राही सन्तुष्ट नै हुनुहुन्छ । बिदाइ सधैं स्मरणीय नै छ ।
-अहिलेको पुस्ता निःतान्त निजामती सेवामा आकर्षित छैन । यसका विभिन्न कारण छन् ।
-अहिले निजामती सेवामा आत्मसम्मानको एकदम खडेरी लागेको छ । नयाँ पुस्ता यसमा आउन चाहँदैन किनभने यसमा सिस्टम विकास भएको छैन । संघीयता लागु भएको यत्रो समय हुँदा पनि संघीयता निजामती ऐन आउन सकेको छैन । यसले गर्दा पनि युवा पुस्तामा आकर्षण छैन ।
-मलाई यो सही हो भन्ने लाग्ने कुरा म फटाफट गरिदिन्छु । मैले मेरो टिमका कर्मचारीलाई यही निर्देशन दिएको छु ।
-मलाई संगठनले जता पठाए पनि क्षमताले भ्याएसम्म जिल्लावासीको हक-हितका लागि काम गरेको छु । अरूले नभने पनि रोल्पाका सबै राजनीतिक प्रतिनिधि यहाँका जनताले राम्रै मानेको अनुभूति हुन्छ ।
-हामी निजामती कर्मचारी राष्ट्रको सेवकको हिसाबमा जनताका लागि विभिन्न ठाउँमा खट्छौं । यसका लागि कम्तीमा पनि प्रशासकीय नेतृत्व तथा राजनीतिक नेतृत्वले निजामती सेवालाई तटस्थ रूपमा राखिदियो भने निजामती सेवा वास्तवमा अब्बल र सक्षम छ ।
सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
यो दुर्गम क्षेत्रमा विभिन्न किसिमका सेवाग्राही आउने गर्छन् । अहिले आईटीको समय भएका कारण सेवाग्राहीको अपेक्षा अलि बढी पनि हुन सक्छ । हाम्रो जनशक्ति, क्षमता प्राविधिक रूपमा दुर्गम भएकाले सम्पन्न बनाउन पाएका छैनौं । यहाँ जनशक्ति व्यवस्थापन पनि ठूलो चुनौती छ । कार्यालयमा दरबन्दीअनुसार कर्मचारी छैनन् । तर पनि म यहाँ प्रमुख जिल्ला अधिकारी भएर आएपछि सेवाग्राहीको सन्तुष्टि र उहाँहरूलाई मध्यनजर गरेर सेवा-सुविधा प्रभावकारी बनाउन मैले ‘टाइम फ्रेम’ चाहिँ राखेको छैन । हाम्रो कार्यालय समय १०-५ भए पनि आएका सेवाग्राहीको काम ७ बजेसम्म भए पनि गरेर पठाउने गरेको छु । कार्यालयको समय सकिएपछि पनि म क्वाटरमै गएर बस्ने हो । त्यसकारण म २ घण्टा बढी कार्यालयमा बसेर सेवाग्राहीले सुविधा पाउँछन् भने सेवाग्राहीलाई अब ५ बज्यो भनेर फर्काउँदिनँ । विभिन्न कामले कार्यालय परिसर छिरेका सेवाग्राहीको काम ७ बजे पनि गरेर पठाएको छु । कपिपय डकुमेन्ट नमिलेको अवस्थामा राम्रोसँग भनेर ती विवरणहरू ल्याउन लगाउने र कतिपय विवरण सेवाग्राहीलाई मार्का नपर्ने गरी पालिकाबाट मेल गर्ने लगाएर पनि सेवाग्राहीको काम सम्पन्न गरेको छु ।
सेवाग्राहीलाई सहज सेवा-प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
सेवाग्राही लामो समय लाइनमा बस्नुपर्ने अवस्था पनि हुन सक्छ, त्यहाँ बच्चा भएका महिला पनि हुनसक्ने भएकाले उहाँहरूका लागि स्तनपान कक्ष पनि स्थापना गरिएको छ । बच्चाहरू खेल्न खेलौनाले भरिएको एउटा कोठा पनि छ । सेवाग्राहीका लागि टेलिभिजन पनि राखिएको छ । त्यससँगै सेवाग्राहीलाई खानेपानीको व्यवस्था मिलाइएको छ । मेरो टिमलाई पनि ‘कस्टमर इज दी किङ’ भने जस्तै कर्मचारीलाई प्राथामिकता दिएर काम गर्नुपर्छ भनेर निर्देशन दिएको छु । रोल्पा जहाँ दुई दिन लगाएर पनि सेवाग्राही सेवा लिन आएका हुन्छन् । सेवाग्राही फर्कनुपर्यो भने फेरि उहाँहरूले दुःख पाउनुहुन्छ । होटेलमा बस्नुपर्दा खर्च लाग्छ । सकभर प्रक्रिया छोट्याएर भए पनि काम गर्नुपर्छ भनेर कर्मचारीलाई स्टाफ मिटिङमा भन्ने गरेको छु । कुनै सेवाग्राहीलाई गुनासो गर्नुपर्यो, मेरै कर्मचारीले दुःख दिए, अतिरिक्त शुल्क लिए भने सीधै मलाई कल (सम्पर्क) गर्नू भनेर मोबाइल नम्बर दिएको छु । मलगायत सूचना अधिकारी एवं गुनासो व्यवस्थापन अधिकारीको पनि व्यवस्था छ । केही भयो भने सूचना अधिकारी एवं गुनासो व्यवस्थापन अधिकारीलाई पनि सम्पर्क गराउने नभए सीधै प्रमुख जिल्ला अधिकारीलाई नै जानकारी गराउने व्यवस्था मिलाएको छु ।
कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
मेरो विभिन्न जिल्लाको कामको अनुभवअनुसार कामका दौरान राजनीतिक दलबाट नै दबाब आउने रहेछ । जसको प्रक्रिया पुग्दैन, नियमअनुसार कागजपत्र पुग्दैन त्यस्ता व्यक्तिले राजनीतिक वृत्तमा पुगेर सही सूचना नदिई उल्टै कर्मचारीले गरिदिएन भनिदिनुपर्यो भनेर मन्त्री संसदकोमा कुरा पुगेपछि किन नगरिदिएको गर्नुपर्यो भन्ने कुरा आउँछ । योचाहिँ सेवा लिन आउने व्यक्तिकै कमजोरी हो । मैले अहिलेसम्म कुनै पनि राजनीतिक दबाब र प्रभावबाट काम गरेको छैन । विशेष रोल्पामा विदेशमा गएकाको मृत्यु भयो भने बिमाबाट पैसा आउँछ यूएनतिर काम गर्नेको विदेशमा मृत्यु भयो भने एकैजनाको नाममा तीन करोड रुपैयाँसम्म आउने रहेछ । त्यो पैसा नजिकको (संरक्षण गरेको) मान्छेले पाउनुपर्नेमा उसले नपाउने । बरु उनीहरुलाई बाइपास गरेर अनधिकृत व्यक्तिले निकाल्न पाउने गरी ठूलो रकम निकाल्नका लागि दबाब आउने रहेछ । यस्ता किसिममा दबाब नमानेर मैले नियमअनुसार रोकेको छु । सेवाग्राहीको बौद्धिकता, चेतनास्तरकै कारण राजनीतिक दबाब सिर्जना हुन्छ भन्ने मेरो भनाइ छ । स्वच्छ हिसाबले काम गरेको छ भने यस्ता राजनीतिक दबाबसँग डराउनु पनि पर्दैन ।
अहिले बर्खाको मौसम, जिल्लामा बाढी तथा प्राकृतिक विपत्का घटनाको अवस्था कस्तो छ ?
रोल्पा पहाडी र दुर्गम जिल्ला हो । भौगिलिक रूपमा हामी ठगिएका छौं । यहाँ ७२ वटा वडा छन् सबैमा कच्ची बाटो पुगेको छ । सदमुकाममा मात्र पिच छ । कच्ची बाटो पिच नभएका कारण वर्षाको समयमा धेरै ठाउँमा बाटो बिग्रिएका कारण गाडी जाँदैन । कतै दुर्घटना भयो भने चाहेर पनि हामीले बाटोका कारण तत्काल सेवा पुर्याउन सक्दैनौं । म आफैं विपत् व्यवस्थापन समितिको अध्यक्ष हो । यहाँ तीन प्रकारका विपत्का घटना बढी हुन्छन् । मुख्य आगालागी, चट्याङ र बाढी-पहिरो । धेरै खोलानाला र पहाडी जिल्ला भएकाले यहाँ खासै डुबानको समस्या छैन । चट्याङबाट यहाँ धेरैको मृत्यु भएको अवस्था छ । अर्को आगालागी हो । अघिल्लो वर्ष यहाँ एउटै पालिकामा ३७ घर जलेर नष्ट भएका थिए । म आफैँ आगलागीको दोस्रो दिन रेडक्रससहित गएर राहत दिएका थियौं । रोल्पा दुर्गम भएकाले नेपाली सेना र सशस्त्र प्रहरीका तालिम प्राप्त जवानहरूलाई विभिन्न ठाउँमा उद्धारका लागि तैनाथ राखेको छु । विगतका गतिविधिलाई मध्यनजर गरेर मैले यो व्यवस्था गरेको हो । कुनै अवस्थामा विपत् आइलागे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नजिकैबाट तत्काल परिचालन गर्ने व्यवस्था गरेको छु । तालिमप्राप्त जनशक्ति कुनै विपत् पर्दा तत्काल उपस्थित हुने गरी व्यवस्थापन गरेको छु साथै उद्धारका लागि सम्पर्क गर्ने सबै पालिकामा फोन नम्बर उपलब्ध गराएको छु ।
निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्यो ?
म बाल्यकालदेखि नै साधारण ग्रामीण विद्यालयमा पढेको हो । म नागरिकता बनाउँन जाँदा जनताको सेवा गर्ने, जनताको भिड देखेँ र त्यसलाई सहज रूपमा लिन आफ्नो वृत्तिविकास र जनताको सेवा गर्ने राम्रो अवसर यही हो भन्ने ज्ञान भएर कलेजपछि लोकसेवा तयारी गरेर यस क्षेत्रमा प्रवेश गरेको हुँ । आफ्नो मिहिनेतले प्रमुख जिल्ला अधिकारीको पदसम्म आइपुग्दा मैले आफूलाई निकै भाग्यमानी ठानेको छु । जहाँ-जहाँ मैले काम गरेँ त्यहाँका कार्यालय प्रमुख र सेवाग्राही सन्तुष्ट नै हुनुहुन्छ । बिदाइ सधैं स्मरणीय नै छ । अहिलेसम्म सेवा प्रवाहमा म सन्तुष्ट र सफल भएको अनुभव हुन्छ । तर पनि यसको मूल्यांकन सेवाग्राहीले नै गर्ने भएकाले यसको जिम्मेवारी सेवाग्राहीलाई नै छाड्न चाहन्छु ।
निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
अहिलेको पुस्ता निःतान्त निजामती सेवामा आकर्षित छैन । यसका विभिन्न कारण छन् । म एसएलसीदेखि प्रथम (फर्स्ट) हो । मेरो मास्टर डिग्रीसम्म नै फर्स्ट डिभिजन छ । तर पनि यो निजामती क्षेत्रमा कुनै पनि विकास भएन । मलाई निजामती सेवामा प्रवेश गर्दा लाग्थ्यो यहाँ ट्यालेन्टको सम्मान हुन्छ । राम्रोसँग काम गर्दा आत्मसम्मान र पुरस्कृत हुन्छ भन्ने सोचेको थिएँ तर यहाँभित्र आएपछि त्यो पाएन । यही सबै देखेका कारण अहिलेका युवापुस्ता आकर्षित छैनन् । निजामती सेवाको साख वृद्धि गर्नेका लागि अहिलेको सरकारले ध्यान दिन जरुरी छ । अहिले निजामती सेवामा आत्मसम्मानको एकदम खडेरी लागेको छ । नयाँ पुस्ता यसमा आउन चाहँदैन किनभने यसमा सिस्टम विकास भएको छैन । संघीयता लागु भएको यत्रो समय हुँदा पनि संघीयता निजामती ऐन आउन सकेको छैन । यसले गर्दा पनि युवा पुस्तामा आकर्षण छैन । अर्को जीविकोपार्जनको पनि कुरा हो । बाल-बच्चा पढाउन घरको आर्थिक स्थिति व्यवस्थापन गर्ने पनि समस्या हुन्छ, महँगी बढेको बढ्यै छ । दक्षिण एसियाकै सबैभन्दा कम स्केलको तलब नेपालको छ । नयाँ पुस्ता निजी क्षेत्र अथवा विदेशमै आकर्षित भएको अवस्था छ । हामी बच्चा बोर्डिङमा पढाउँछौं, प्लस टु पनि राम्रैमा पढाउँछौं अनि प्लस टुपछि अस्ट्रेलिया कि अमेरिकातिर जान्छन् । बुबा-आमाले दुःख गरेर ठूलो लगानी गरेको युवा विदेशमै हराउने, बिलाउने अवस्था छ, उतै सेटल हुन्छन् प्रायः । यो अवस्थाको अन्त्य भएसम्म देशमा विकास हुन्छजस्तो मलाई लाग्दैन ।
‘निजामती सेवालाई तटस्थ राखिए अब्बल छ, सक्षम छ’
आफूबाट सम्पादन भएको कार्यबाट सेवाग्राही खुसी भएको क्षण जसले तपाईंलाई सन्तुष्ट बनाएको कुनै घटना छ कि ?
यस्ता घटना त धेरै छन् । प्रशासनमा काम गरेपछि हामी परम्परादेखि नै ‘प्रोसेस ओरेन्टेड’ काममा लागेका हुन्छौं । ऐन, कानुन पनि हामी हेर्ने गर्छौं । मलाई कुरा सही लाग्छ, मिथ्या छैन, यसले झुटो गरेको छैन भन्ने लाग्छ भने म आफैँले पनि सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिदिएको छु । मैले आफ्नै ‘रिस्क’ मा पनि कति काम गरेको छु । यसैगरी रोल्पा जिल्लाका धेरै नेपाली भारतमा गएर काम गर्छन् । विशेषगरी त्यहाँ भारतीय सेनामा काम गर्छन् । उतै पेन्सन लिएर बस्छन् र उनीहरूको मृत्यु भएपछि पेन्सनवालाको श्रीमतीका नाममा पेन्सन सार्न समस्या हुँदो रहेछ । उनीहरू धेरै नपढेका, नबुझेका हुन्छन् । श्रीमानको मत्युको कागज र पेन्सनपट्टा लिएर मात्र आउँछन् उनीहरूलाई प्रक्रियाबारे केही थाहा हुँदैन । उनीहरूको हकमा मैले मृतकको श्रीमती हो भन्ने पुष्टि भएको कागजका आधारमा फटाफट काम गरेर पठाएको छु । रोल्पामै पनि भर्खरै एउटा घटना आएको थियो ०६७ सालमा श्रीमान् बितेर श्रीमतीले पेन्सनपट्टा सार्न नसकेर आउने र काम नहुने फर्केर जाने गर्नुभएको रहेछ । उहाँ रोल्पाको एकदमै विकट ठाउँबाट आउनुभएको रहेछ । अस्ति पनि आउनुभएको थियो उहाँ पहिला जुन कागज थियो त्यही कागज छ थप केही प्रमाण छैन । मैले उहाँको काम पनि गरिदिएँ । काम सम्पन्न भएपछि उहाँको हाँसो र खुसी शब्दमा वर्णन गर्न सक्दिनँ । त्यसकारण म धेरै प्रोसेस ओरेन्टेड कुरामा म जाँदिनँ । मलाई यो सही हो भन्ने लाग्ने कुरा म फटाफट गरिदिन्छु । मैले मेरो टिमका कर्मचारीलाई यही निर्देशन दिएको छु । अर्को यहाँका दुर्गमका महिला तथा पुरुष रोजीरोटीका लागि भारत जाने गर्छन् । श्रीमान्-श्रीमती भारतमा जाने श्रीमान्को मृत्यु हुने बच्चा उतै जन्मने हुन्छ । श्रीमान् बितेपछि बच्चा र महिला नेपाल फर्कछन् काम नपाउने कारणले । सहारा नभए पनि घर खोज्दै परिवारको सम्पर्कमा आउँछन् । यो घटना धेरै रोल्पालीमा घटेको छ । अब उनीहरूको नागरिकता चाहियो । उनीहरूको हकमा श्रीमती नेपाली नै हो भन्ने माइतीको पहिचान र श्रीमानको मृत्यु भएको पुष्टि भएको आधार र दुवै नेपाली भएको पुष्टि भएमा जन्मदर्ता र नागरिकता बनाउने काममा मैले एकदमै सहज भएर काम गरिदिने गरेको छु । काम भएपछि उहाँहरू प्रशन्न भएको देख्दा एकदमै खुसी लाग्छ ।
निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
रोल्पामा प्रथम श्रेणीको सह-सचिव तहको प्रमुख जिल्ला अधिकारी पहिलोपटक मै हो । यसभन्दा पहिले ‘सेकेन्ड क्लास अफिसर’ दुर्गमको नम्बरको हिसाब लिएर आउनुहुन्थ्यो । म यहाँ आएको १४ महिना भइसकेको छ । मलाई संगठनले जता पठाए पनि क्षमताले भ्याएसम्म रोल्पावासीको हक-हितका लागि काम गरेको छु । अरूले नभने पनि रोल्पाका सबै राजनीतिक प्रतिनिधि यहाँका जनताले राम्रै मानेको अनुभूति हुन्छ । ‘इन्डाइरेक्ड’ प्रतिक्रियाबाट रोल्पावासी सन्तुष्ट नै भएको पाउँछु । खासगरी निजामती क्षेत्रमा सिस्टम हुनुपर्छ त्यो विकास भएको अवस्था छैन । नेपालमा सरुवाको मापदण्ड छैन । सरुवाको व्यवस्थापन छैन किनभने एउटा व्यक्तिको सरुवा कहाँ हुन्छ ? पहिला कहाँ थियो ? त्यसपछि कता हुन्छ ? भन्ने प्रकारको दीर्घकालीन योजना निजामती सेवामा बन्न सकेको छैन । जबसम्म यो योजना बन्दैन तबसम्म निजामती प्रशासन यसरी नै चलिरहन्छ । तर जता जे भए पनि कर्मचारीलाई कम्तीमा एक वर्ष एउटै कार्यालयमा काम गर्न दिइयो भने उसको क्षमताले भ्याएसम्म गर्छ र उसको कार्यसम्पादन पनि देख्न सकिन्छ । कामको मूल्यांकन पनि गर्न सकिन्छ । एक वर्षको पर्फमेन्सले उसको कार्यक्षमता मूल्यांकन गर्न पनि सकिन्छ जस्तो लाग्छ मलाई । एक वर्षभन्दा कम समयमा सरुवा गर्नु हुँदैन भन्ने मेरो भनाइ छ । अब निजामती क्षेत्रलाई सुधार गर्न, राम्रो बनाउन, दुर्गममा पनि कर्मचारी खुसी र सहज तरिकाले आउन दुई सरुवा ‘फोरकास्ट’ गर्ने सिस्टम नेपाल सरकारले निजामती ऐनमा समावेश गर्न सक्यो भने सहज हुन्छ । अहिले संघीय निजामती ऐन बन्ने क्रममा छ । कुनै कर्मचारीलाई एउटा सरुवा हुँदै त्यसपछि थप यी दुई स्थानमा सरुवा भनेर चिठी दियो भने जस्तो दुर्गममा पनि ऊ सहर्ष काम गर्न आउँछ । अहिले प्रथम श्रेणीको अफिसर रोल्पामा सरुवा भएर आएको छ अब मेरो पोस्टिङ कता हुन्छ भनेर मलाई थाहा छैन । मेरो संगठनलाई पनि थाहा छैन । यस्तो भयो भने कर्मचारीले दुर्गम क्षेत्रमा आएर मन लगाएर काम गर्दैन । परिवार छाडेर आउन चाहँदैन । आफ्ना परिवार आफन्तको सेरोफेरोमै बस्न चाहन्छ । कम्तीमा दुई ठाउँको सरुवा एउटै चिठीबाट हुने हो भने मान्छे जुन ठाउँमा पनि खुसी साथ आउँछ । अब आउने निजामती ऐनमा यो कुरा राख्न सकियो भने दुर्गममा जनशक्ति व्यवस्थापन भएन भन्ने कुराहरू टर्न सक्छ । छिटो-छिटो सरुवा कर्मचारी, सेवाग्राही सबैको हिसाबमा अलिकति राम्रो हुँदैन ।
अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
मेरा भनाइ राख्ने मौका दिनुभएकामा तपाईं र तपाईंको टिमलाई धन्यवाद दिन चाहन्छु । हामी निजामती कर्मचारी राष्ट्रको सेवकको हिसाबमा जनताका लागि विभिन्न ठाउँमा खट्छौं । यसका लागि कम्तीमा पनि प्रशासकीय नेतृत्व तथा राजनीतिक नेतृत्वले निजामती सेवालाई तटस्थ रूपमा राखिदियो भने निजामती सेवा वास्तवमा अब्बल र सक्षम छ । किनभने सयौं प्रतिस्पर्धीका बीचमा छानिएर आएका व्यक्ति निजामती सेवा छन् । प्रवेश गरेपछि सिस्टमको अभाव, राजनीतिक प्रभावलगायत विभिन्न कारणले गर्दा निजामती सेवा निकम्मा देखिएको छ । यसलाई चुस्त बनाउन सिस्टमको आवश्यक छ ।
(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले लुम्बिनी प्रदेशको बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग कुराकानी गरेका थियौं । यसपटक लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)
‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।
सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’
धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’
अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’
शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’
परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’
दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’
भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’
हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’
नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’
माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’
चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’
काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’
कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’
बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’
प्रतिक्रिया