बुधबार, वैशाख १०, २०८२

मधेस सरकारले कार्यकालको ५ वर्ष पूरा गर्दै

जयप्रकाश आनन्द २०७९ असार ३० गते ११:४९

एक मधेसी दलले सधैं अर्काको अस्तित्वलाई चुनौती दिई रहँदा पनि मिलेरै शासन हत्याएका दुई मधेसी पार्टी अहिले ४/५ वटामा टुक्रिएका छन् । यसअघि १२/१४ टुक्रा मिलेर यिनीहरू दुईवटा भएका थिए ।

आफू स्वयं र सहकर्मीहरूले बनाएको माओवादीलाई ‘कछुवाको गतिमा हिँडिरहेको’ आरोप लगाएका डा. बाबुराम भट्टराईले जसपामा ‘भ्यागुतो उफ्र्याई’ को सम्भावना देखेका थिए । कुन पार्टीमा जाँदै छु, यसको हेक्का डा. साहेबले राख्नु भएन । जनयुद्ध ताका भारतको दिल्लीमा सुरेश आले मगर, मातृका यादव र उपेन्द्र यादव पक्रिएका थिए । आले मगर र मातृकालाई भारतीय पुलिसले नेपाललाई हस्तान्तरण गर्यो, जबकि उपेन्द्रलाई केही दिन दिल्लीमै राखेर पछि रिहा गरिएको थियो । पक्राउ गरिएको स्थानमा केही बेरपछि प्रचण्डको पनि आउने कार्यक्रम थियो । यस घटनालाई माओवादीले ठूलो षड्यन्त्र देख्यो उपेन्द्रलाई अपराधी । यस घटनाको छानबिन गर्न माओवादी हेडक्वार्टरले डा. बाबुरामको नेतृत्वमा (त्यतिखेरको नाम लालध्वज) समिति बनायो । यस समितिले उपेन्द्रलाई भारतीय ‘रअ’ को योजनामा काम गर्ने घुसपैठिया ठहर गरी मृत्यदण्ड दिने निर्णय गरेको थियो । तर, समय बदलियो, यही उपेन्द्र नेतृत्वको जसपामा डा. साहेब ‘भ्यागुतोको उफ्र्याई हुनसक्ने’ देख्नु भयो । डा. ले बिर्सनुभयो…पानी खानु मूलको…!

अहिले उपेन्द्रलाई ‘क्षेत्रीयताको नाममा भोट पाएर सत्ताका लागि केन्द्रमा लम्पसार परेको’ आरोप लगाएका छन्-मधेसका ती स्वनामधन्य भगवानलाई । अन्ध भक्तहरूले बहुधा भगवानलाई चिनेकै हुन्नन् । डा. साहेब छुट्टिनेतिर लाग्नुभयो, भलो गर्नुभयो । अब नयाँ सोचका साथ भरपर्दो गठबन्धन वा सहकार्य कायम गर्नुहोस् ।

जे होस, एकले अर्काको प्रतिरक्षा गर्दै उपेन्द्रहरू सत्तामा अविच्छिन्न रहेको पाँच वर्ष हुँदै छ । यस पाँच वर्षको इमानदार मूल्यांकन हुनुपर्दछ । मधेसमा के प्रगति भयो, सूचकांकहरूले बोल्नुपर्दछ ।

यस अवधिमा, यता प्रदेशगत जीडीपीमा मधेस प्रदेश सबैभन्दा तल छ । सबैभन्दा बढी वाग्मती प्रदेश ६.७४ प्रतिशत जब कि मधेस प्रदेशको सबैभन्दा कम ४.८२ रह्यो ।

सातै प्रदेशको तुलनामा मधेस प्रदेशका एउटा पनि जिल्ला पूर्ण साक्षर हुन सकेन । सबै प्रदेशमध्ये सबभन्दा बढी जनप्रतिनिधिउपर यहीँ भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

यस आवमा सबभन्दा कम विकास खर्च मधेस प्रदेशकै छ । अख्तियार मुख्यमन्त्रीको भान्साकोठामा छिरेको यही हो । यी सब कृत्यलाई रोक्ने निकाय ‘जन लोकपाल’ सातवटै प्रदेशमध्ये यही मात्र छ । सार्वजनिक जीवनमा भने यस निकायको कुनै गतिविधि देखिन्न । सायद, मधेसको यो लोकपालले आफ्ना पोषकहरूको फायलहरूलाई तामेलीमा राखेर सेवा पुर्याइरहेको होला । यस्तो अवस्था छ मधेसको । चरित्रमा कालो पोतिएको छ । तर, यिनकै कुर्ता-पाइजामा सबैभन्दा बढी ‘टिनोपालबाला सफेदी’ देखिन्छ । यहाँका नेताहरू मसिहा भइरहेकै छन्, जनताबाट कुनै प्रश्न छैन ।

जनकपुरका बासिन्दा गोर्खाली भएका छन् । गोर्खालीसँग आधारभूत रूपमा तीन कुरा जोडिएर आएको इतिहास छ-
१) खस राज्य,
२) नेपाली भाषा र खस भेष अनि
३) हिन्दू धर्म ।

मधेसमा, मधेस आन्दोलनको रापतापमा खस आर्यका जस्तै एक जातीय गठबन्धनको वर्चस्व भएकाहरूको शासन छ । हाल मधेसबाट यसलाई ठूलो चुनौती देखिन्न । जनकपुरका नयाँ गोर्खालीहरू समग्रमा मधेसको आर्थिक उत्थानको साटो भावनात्मक बजारीकरणमा बढी व्यस्त छन् । औपचारिक समारोहहरूमा भाषामा ‘मैथिली’ र भेषमा ‘पाक’को प्रयोगलाई बढावा दिएर अह्लादित भइ जनकपुर पूरै बौलाएको छ । मैथिली भाषाप्रति मधेसी सत्ताको रणनीतिक उपयोगबाट जनक र शिव चोक स्वभावतः खुसी छ । हिन्दू धर्मका बारेमा केही भनिरहनु परेन । के फरक रह्यो त खस-आर्य वर्चस्वको काठमान्डू अनि ‘पान, पाक र मखान’ लाई मधेसमुक्तिको पर्याय बनाएका जनकपुरीया मानसिकताका बीच ।

यस परिदृश्यको आलोकमा आजको जनकपुरले मधेसको खोजीलाई बलात् रोकेको छ । थोरै अवसरवादीहरूको स्वार्थको समागमले मूल बहसलाई विषयान्तर गरेको छ । मूल बहस विकास र प्रगतिको तथ्यमा आधारित हुनुको साटो अरू वैगुणीहरूको प्रायोजनमा केन्द्रित भएको छ । बहस र मन्थन होस् त धरातलीय जरूरतमा होस् !

प्रतिक्रिया