जब हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुन्धकारी देखिए…

आफ्ना केही साथीहरूका साथ परशु नारायण चौधरी ४/५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो । उहाँले आफ्नो वक्तव्यको शिर्षक ‘अबको नयाँ बाटो’ राख्नु भएको थियो । यसका हस्ताक्षरकर्तामा यस अघि पंचायत पसेका केही मानिसहरू पनि थिए । परशु नारायण चौधरीको पंचायततिर पलायनको बडो ठूलो चर्चा थियो । आजको जस्तो सामाजिक सञ्जाल र मिडियाको विशाल संख्या त थिएन । तर, सरकारी सञ्चार माध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिई राखे ।
जनमत संग्रह ताकाको प्रचारका क्रममा काठमाडाैंको टुडिखेलको आम सभामा बीपी कोइरालाले मुलुकमा बहुदल आए परशु नारायण नेपालको प्रधानमन्त्री हुने भन्नु भएको थियो । त्यस सभाको मन्चमा गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई पनि रहनु भएको थियो । अप्रत्याशित रूपमा बीपीको यो भनाई सुनेर कालो चश्मा लाउनु भएका गणेशमान जी मुसुक्क हाँसेको र किसुन जी मन्चको सिमेन्टे भूइमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिए । यो विषय उहाँहरूका बीचमा सुविचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन ।
यद्यपि बीपीको ठूलो विश्वास परशु नारायणका लागि मुखरित भएको थियो । बीपीको विश्वासमा रहेका यस्तो मानिस सुटुक्क पंचायत पसेको अवस्था थियो । यसर्थ बीपीको रोजाइका वारेमा पनि प्रश्न उठेको थियो । परशु जीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन ।
‘नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।’ यति थियो बीपीको प्रतिकृया । बीबीसीलाई बीपीले यति मात्र भन्नु भयो। एमालेबाट बामदेव निस्किदां ‘पिलो निचोरियो’ भनेर उ बेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझै, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेर बहादुर देउवाजीले शेखर कोईरालाको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन क्यार! कांग्रेस भित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्र भित्र पंचायतसंग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन कि ? यस्तो आशंका गर्दै लेखेका थिए ।
तर, गंभीर चर्चा के थियो भने बीपीको चयन प्रायसः गलत हुने गरेको छ । बीपीले सारै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन। डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर प्र. सिंह, बखान सिंह गुरूंग, सूर्य प्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी-यस्ता मानिसहरूको सूचि लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । प्रदीप गिरी कहिले पंचायत पस्नु भएन, तर बिस ०३०/३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना गर्नु हुन्थ्यो ।
जबकी हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धकारी देखिएका थिए । यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो । बीपी सन् 1977 नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुँदा परशु नारायण र गिरिजा बाबु दुवै जनालाई पटना-काठमाडाैंको हवाई जहाजमै उहाँले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनु भएको थियो ।
राष्ट्रिय मेल मिलापको नीतिका साथ लामो भारत प्रवासपछि वि. सं २०३३ मा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पंथी, खुम बहादुर खडकाहरू काठमाडाैं हवाई अड्डाबाटै गिरफ्तार गरिनु भएको थियो । केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा बीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदाशयता देखाउनु भएको थियो । उपचार पश्चात बीपी पटना हुदै नेपाल फर्किनु भयो र पुनः थुनामा राखिनुभयो। यस अघि पटनामा नेपाली काँग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुन जीलाई पार्टीको कार्यवाहक सभापति बनाउनुभयो ।
यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट तेस सम्मेलनमा सहभागी भएको थिए। अ, यही बेला बीपीले शानेवानिको बिमानमै बसी परशु जी र गिरिजा बाबु महामंत्री नियुक्त गरिएको एक सानो विज्ञप्ति कुनै सहयात्रीलाई दिनु भयो, जो पछि सबैले थाहा पाए । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । फेरी लेखौला । यसरी एकै पटक दुई जना महामन्त्री भएको शायद गिरिजा बाबुलाई तेतीसारो मन परेको थिएन क्यार ! त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशु जीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो ।
बीपीले विशेष नेताहरूलाई भोजनमा बोलाउनु भएको थियो । खानाको अन्त्यमा बीपीले रूचि पूर्वक खीर खादै गर्दा चक्र जी, चक्र बास्तोलाले कुरा उठाई हाल्नु भो । यो कुरा फेरी गिरिजा बाबुको पनि रूचिको कुरा भएको थियो । तेसैले बीपीले यसको जवाफ नपन्छाउनु होस भनेर गिरिजा बाबुले चक्र जी तिर उन्मुख हुदै जिज्ञासा गर्नु भो; के भन्नु भो अरे चक्र जी ? बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, बीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत र म पनि; हामी सबै चक्र जीका प्रति उन्मुख भयौ । चक्र जी बीपीसँग सदैव निर्भिक रहनु हुन्थ्यो ।
गिरिजा बाबु सदैब थिचिएको ! चक्र जीले भन्नु भयो; हैन सान्दाजु, परशु नारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईलाई शंका थिएन ? के पहिले देखिनै उनि प्रति तपाईको विश्वास अडीग थियो र ? बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबु तर्फ मुखातिव हुदै सोध्नु भयो-गिरिजा कुनै पनि सहयोगीसंग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नु भयो-म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु ।
परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो-ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसंग रहेनन् ? बीपीले थप्नु भयो: सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहां हुन्छ र ? यो सर्वकालिक हुदैन ।
मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उस्को बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र नि:स्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । सबैले विस्तारै दूधको खीर सकेका थिए ।
मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो । म तेस बेला चावहिलको बीपी निवास मै बस्थे। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन । तर, बीपीले जे जवाफ दिनु भयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ ! हो त, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ । आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ ।
हुनत् नेपाल मात्र हैन-सबै तिर यही अवस्था छ। बडेमानका बिश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ । कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसँग तेस नेताको सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? बीपीको आदर्श त मेरो मनमा छ। तर, मैले पनि मलाई पहिचान दिएको नेपाली कांग्रेसलाई छोडे, अझ गिरिजा बाबुलाई छोडे ।
म स्वयसँग पनि यसको जवाफ छैन कि ‘म बिश्वास योग्य थिए कि नेताले मलाई पत्याएको बखत उनि धोकामा परे, म आशंका योग्य थिए ।’ जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि ‘साथ रहुन्जेल,पुरै ईमान्दार थिए, भरोसा योग्य थिए ।’ आज बीपीलाई सम्झिदैछु । थोरै भेटे तर भरपुर सम्झना छ । बीपीको प्राणहीन शरिरका छेउ उभिएको थिए, तेस बेला । जीवनका केही थोरै काल उहाँको वरिपरिमा बित्यो । त्यसमा म गर्व गर्छु । साउन ६ गते । बीपी स्मृति दिवसमा उहाँलाई हार्दीक श्रद्धांजली छ ।
प्रतिक्रिया