शनिबार, वैशाख २०, २०८२

‘पूर्वानुमान नभएको सरुवा प्रणालीले निजामती सेवामा नकारात्मक असर परेको छ’

नेपालखोज २०७९ साउन १६ गते ९:५७

वाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको प्रशासनिक नेतृत्व अहिले तेह्रथुमका वेदनिधि खनालको काँधमा छ । २०७८ कात्तिक १ गतेदेखि सिन्धुपाल्चोकको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खनाल कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ खनाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै २० वर्ष बिताएका सिन्धुपाल्चोकका प्रजिअ खनाल यसअघि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए ।
आफूले सेवाग्राहीलाई कहिल्यै निराश बनाएर नफर्काउने उनी बताउँछन् । ‘मलाई पद र अधिकारले दिएको स्थानअनुसार सफल नै भएजस्तो लाग्छ । म कुनै सेवाग्राहीलाई निराश बनाएर फर्काउँदिनँ,’ प्रजिअ खनालले नेपालखोजसँग भने, ‘सेवाग्राहीकै ठाउँमा उँभिएर पहिला सोच्ने हो । अनि सेवा प्रवाह गर्ने हो । उहाँहरूको काम नभए पनि कन्भिन्स गरेर पठाउँछु ।’
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वेदनिधि खनालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६८औं शृंखला :

हाइलाइट्स :
-म कुनै पनि सेवाग्राहीलाई निराश बनाएर फर्काउँदिनँ । सेवाग्राहीकै ठाउँमा उँभिएर पहिला सोच्ने हो । अनि सेवा प्रवाह गर्ने हो ।
-ज्ञान कम भएपछि यस्तो गरिदिए हुने, एउटा सही (सिग्नेचर) त हो, छ्यास्स गरिदिए भई गयो नि भन्ने कुरा सेवाग्राहीमा पनि पाइन्छ ।
-मेरो कार्यालयमा पहिला तोक लगाएर काम गर्ने भन्ने छैन । सेवाग्राहीको समस्या फाँटबाटै सम्बोधन हुन्छ । निर्णय गर्नुपर्ने कुरा वा काम माथिल्लो तहमा प्रक्रियागत रुपमै आउँछ ।
-मनसुनको समयमा बढी विपत्‌का घटना हुने भएकाले मनसुनपूर्व तयारी तथा प्रतिकार योजना भनेर हामीले बनाएका छौं । हामीले स्थानीय तहलाई यस्तै योजना बनाउनू भनेका छौं ।
-म आएपछि मेलम्चीका बाढीपीडितका प्रतिघर-परिवार २५-३० हजार तत्कालीन राहत सरकारका तर्फबाट गरियो । त्यसपछि करिब ६ सयवटा घर बनाउने सरकारको जुन प्रणाली छ त्यसमा हामीले लाभग्राहीसँग मिलेर काम गरेका छौं । घर नभएकालाई जग्गा दिने भनेर जग्गाको पनि लाभग्राही कायम गरेका छौं ।
-म पहिला शिक्षक थिएँ । यतातिर पनि रोजगारको अवसर छ तर प्रवेश गर्न गाह्रो छ । वर्षौं मिहिनेतबाट प्रवेश गर्नुपर्छ भन्थे साथीहरू । थोरै-थोरै आवश्यक कुराहरु पढ्दा पनि हुन्छ कि भनेर परीक्षा दिएँ । सफल भइहालियो ।
-निजामतीमा प्रवेश गर्न अधिक गाह्रो छ भन्ने भ्रम छ । त्यो भ्रम तोडेर नियमित रुपमा आफूलाई अपडेट राख्ने हो भने सफल हुन सकिन्छ । म त्यो बेला धेरैभन्दा पनि नियमित पढाइलाई नै प्रयोग गरेर यसतर्फ छिरेको हुँ ।
-मेरो व्यक्तिगत अनुभवमा उत्कृष्ट व्यक्तिले अलि हाई रिटर्न खोज्ने, तलबलगायतको हिसाब गर्ने, खर्चको हिसाब गर्ने र अरु क्षेत्र रोज्छन् कि जस्तो मलाई लाग्छ ।
-ग्रामीण भू-भागमा हुर्किएका, सामान्य जीवनस्तर भए पनि चल्छ, मेरो क्षमतालाई नेपालमै प्रयोग गर्छु भन्नेले चाहिँ निजामती सेवा नै रोजेको पाउँछु ।
-हामी जे भने पनि निजामती सेवालाई गाइड र रिफर्म गर्ने भनेको राजनीतिले नै हो ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मलाई पद र अधिकारले दिएको स्थानअनुसार सफल नै भएजस्तो लाग्छ । म कुनै सेवाग्राहीलाई निराश बनाएर फर्काउँदिनँ । सेवाग्राहीकै ठाउँमा उँभिएर पहिला सोच्ने हो । अनि सेवा प्रवाह गर्ने हो । उहाँहरूको काम नहुने नभए पनि कन्भिन्स गरेर पठाउँछु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
चिनेजानेका र विश्वास गरेका मान्छेहरूले नै अलिकति म्यानुपुलेट गर्न खोज्छन् । यत्तिको काम गर्दा हुन्छ, ठीकै छ, मैले जान्दछु भन्ने । पछि त्यही काम गलत निस्किएको मैले पाएको छु । पछिल्लोपटक कानुन, नियम, ऐनको ज्ञान कमी छ । ज्ञान कम भएपछि यस्तो गरिदिए हुने, एउटा सही (सिग्नेचर) त हो, छ्यास्स गरिदिए भई गयो नि भन्ने कुरा सेवाग्राहीमा पनि पाइन्छ । यो कुरा बुझेर कानुनले नमिल्ने गर्नु हुँदैन भन्ने महसुस भएको छ ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
मेरो कार्यालयमा पहिला तोक लगाएर काम गर्ने भन्ने छैन । सेवाग्राहीको समस्या फाँटबाटै सम्बोधन हुन्छ । निर्णय गर्नुपर्ने कुरा वा काम माथिल्लो तहमा प्रक्रियागत रुपमै आउँछ । कसैको केही गुनासो छ भने सीधै कार्यालय प्रमुखसम्मको पहुँच सहज उपलब्ध गराएको छु । फिल्डमा जाँदा पनि सेवाबारे अन्तर्क्रिया गरेको छु । सेवाबारे बुझाएको छु । हामी सामाजिक सन्जाल फेसबुक, ट्विटर, भाइबरमा पनि छौं । अफ टाइममा पनि हामीले त्यहाँ सेवाग्राहीलाई रेन्सपोन्स गरिरहेका हुन्छौं ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपत्‌का घटनाको अवस्था कस्तो छ ?
अहिले जलवायु परिवर्तनको असर पनि होला । भूकम्पपछि जमिन कमजोर भएर पनि होला । यहाँ अघिल्लो वर्ष अकल्पनीय मेलम्ची बाढी आयो । पानी पर्दै जाँदा पानी सोस्ने क्षमता स्याचुरेटेड हुँदै जान्छ । अनि साना-साना पहिरो, सडक भासिनेजस्ता समस्या देखापरेका छन् । नदीछेउ भएका होचा संरचना, पुलहरू बगाएको अवस्था छ । तर, ठूला घटना भने यो वर्ष भएका छैनन् । नहुने भन्ने अपेक्षा त छ तर पनि हामी भइहाले कसरी जोगिने, कसरी जोगाउने भनेर योजना बनाएर विभिन्न सामाजिक सन्जालमा सूचना प्रवाहका लागि ग्रुप बनाएर काम गरिरहेका छौं । हामीले केही स्थानमा सुरक्षा फौजहरूको पनि व्यवस्था गरेका छौं । पीडितका लागि भनेर केही स्रोत र साधन पनि हामीले जम्मा गरेका छौं ।

पीडितलाई उद्धार तथा राहतको व्यवस्था कसरी मिलाइरहनुभएको छ ?
मनसुनको समयमा बढी विपत्‌का घटना हुने भएकाले मनसुनपूर्व तयारी तथा प्रतिकार योजना भनेर हामीले बनाएका छौं । हामीले स्थानीय तहलाई यस्तै योजना बनाउनू भनेका छौं । हामीसँग क्विक रेन्पोन्स टिम (क्यूआरटी) भन्ने हुन्छ । सबै सुरक्षा निकायमा त्यसलाई पनि तयारी अवस्थामा राखेका छौं । सँगसँगै स्थानीय जनता, जनप्रतिनिधिसँग र रेडक्रसलगायत अन्य संस्थासँग समन्वय गरेर हामीले तत्काल यो बर्खामा गर्न सक्ने भनेको खोज उद्धार गर्ने र अप्ठ्यारो ठाउँहरूलाई कार्य गर्ने हो । अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । भौतिक संरचनामा भने अलिअलि क्षति देखिन थालेको छ ।

गत वर्ष मेलम्चीमा आएको बाढीबाट भएका पीडितहरूले अझै राहत नपाएको गुनासो छ । जिल्ला प्रशासनबाट यो विषयमा के पहल भइरहेको छ ?
म आएपछि त्यहाँ प्रतिघर परिवार २५-३० हजार तत्कालीन राहत सरकारका तर्फबाट गरियो । त्यसपछि करिब ६ सयवटा घर बनाउने सरकारको जुन प्रणाली छ त्यसमा हामीले लाभग्राहीसँग मिलेर काम गरेका छौं । घर नभएकालाई जग्गा दिने भनेर जग्गाको पनि लाभग्राही कायम गरेका छौं । करिब चार सय जनालाई हामीले पहिलो किस्ता पनि पठाइसक्यौं । घर आफैँले बनाउने हो भने पाँच लाख ५० हजार रुपैयाँसम्म हामीले अनुदान दिन्छौं । जनता, स्थानीय तह, प्रदेश र संघको संयुक्त प्रयासबाट काम अगाडि बढेको छ । यो सँग-सँगै मेलम्ची खोलाको बाढीलाई सही दिशामा लैजान प्रदेश सरकारले धेरै ठाउँमा स्परहरू बनायो । संघीय सरकारले पनि यो काम गरेको छ । स्थानीय तहले पनि नदीलाई गहिराउने, नदीलाई छेउ-छेउमा बोल्ड राखेर च्यानलाइज गर्ने कामहरू गरिराख्नुभएको छ । माथि बेमाथाङ भन्ने ठाउँमा धेरै घनमिटर बालुवा जमेको छ र त्यो बालुवा कसरी आउँछ त्यसले कस्तो प्रभाव पार्छ यो वर्षचाहिँ हेरौं र दीर्घकालीन रुपमा नदीको राइट अफ वे एक किसिमले आएको छ । हाम्रो विज्ञहरूले तयार गर्नुभएको छ । त्यो राइट अफ वेलाई कायम गरेर अगाडि जाऔं भनेर त्यहीअनुसारको तयारी हामीले गरिरहेका छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म पहिला शिक्षक थिएँ । यतातिर पनि रोजगारको अवसर छ तर प्रवेश गर्न गाह्रो छ । वर्षौं मिहिनेतबाट प्रवेश गर्नुपर्छ भन्थे साथीहरू । थोरै-थोरै आवश्यक कुराहरु पढ्दा पनि हुन्छ कि भनेर परीक्षा दिएँ । सफल भइहालियो । निजामतीमा प्रवेश गर्न अधिक गाह्रो छ भन्ने भ्रम छ । त्यो भ्रम तोडेर नियमित रुपमा आफूलाई अपडेट राख्ने हो भने सफल हुन सकिन्छ । म त्यो बेला धेरैभन्दा पनि नियमित पढाइलाई नै प्रयोग गरेर यसतर्फ छिरेको हुँ । यसमा सेवा-सुविधा पनि पाइने र जनताको पनि सेवा गर्ने पाइने भएकाले दुईतर्फी फाइदा छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
मेरो व्यक्तिगत अनुभवमा उत्कृष्ट व्यक्तिले अलि हाई रिटर्न खोज्ने, तलबलगायतको हिसाब गर्ने, खर्चको हिसाब गर्ने र अरु क्षेत्र रोज्छन् कि जस्तो मलाई लाग्छ । ग्रामीण भू-भागमा हुर्किएका, सामान्य जीवनस्तर भए पनि चल्छ, मेरो क्षमतालाई नेपालमै प्रयोग गर्छु भन्नेले चाहिँ निजामती सेवा नै रोजेको पाउँछु ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
छिटो सरुवा हुने सरुवा प्रणालीले निजामती सेवामा नकारात्मक असर पारेको छ । कसरीभन्दा त्यहाँ रेकर्ड मेन्टिनेन्स हुँदैन, इन्स्टिच्युसनल मेमोरी हुँदैन, आफ्नो कार्यअवधि थाहा हुँदैन । थाहा नभएपछि बालबच्चालाई सहरमा राख्ने आफू गाउँमा बस्ने हुँदा दुईतिरको तनाव हुन्छ । परिवारिक व्यवहार मिलाउन पनि गाह्रो हुने हुन्छ । पूर्वअनुमान नभएको सरुवा प्रणालीले नकरात्मक असर पारेको छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामी जे भने पनि निजामती सेवालाई गाइड गर्ने र रिफर्म गर्छु भनेको राजनीतिले नै हो । यसको सम्भावनाबारे राजनीतिकर्मीलाई बुझाएर निजामती सेवा अगाडि बढ्नुपर्छ त्यो नै आजको आवश्यकता हो ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले गण्डकी प्रदेशको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसँग कुराकानी गरेका थियौं । यसपटक वाग्मती प्रदेशको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

सुशील वैद्य, प्रजिअ, लमजुङ – ‘नागरिकले झन्झटबिनै छिटो-छरितो सेवा पाउनुपर्छ, यो उनीहरूको अधिकार हो’

इन्द्रदेव यादव, प्रजिअ, सुनसरी – ‘निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो’

नवराज सापकोटा, प्रजिअ, रोल्पा – ‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया