मंगलबार, वैशाख ९, २०८२

नेपाली कांग्रेस र गठबन्धन

ओम आचार्य २०७९ साउन १७ गते १३:५९

बीपी कोइराला जीवित रहुन्जेल नेपाली कांग्रेसले कसैसँग कुनै पनि आन्दोलनमा र कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल या गठबन्धन गरेन । त्यतिखेरसम्म कांग्रेस अन्य पार्टीको तुलनाम सबल र दह्रो थियो । देशको कुनै पनि राजनीतिक भूमिकामा या आन्दोलनमा नेपाली कांग्रेस अग्रणी थियो । कांग्रेसकै वरिपरि रहेर अन्य राजनीतिक दलहरु पनि आफ्नो भूमिका र उपस्थिति जनाउन कुनै न कुनै रुपमा आफूलाई सक्रिय गराउँथे । त्यो सक्रियता प्राय: कांग्रेसको विपक्षमा देखिन्थ्यो तत्कालीन समयमा कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा त्यो शक्ति बाधकका रुपमा रहन्थ्यो । त्यही भएर बीपी त्यस्ता शक्तिहरुदेखि टाढा र अलग भएरै कांग्रेसको छवि बनाउन सफल रहनुभयो ।

यहाँसम्म कि बहुदल कि निर्दलको जनमत संग्रहमा बहुदलको पक्षमा बीपी एक्लै लाग्नुभयो । त्यतिखेर मनमोहन अधिकारीलगायत ( मोहनविक्रम सिंहबाहेक) बहुदलकै पक्षमा रहेका पनि अन्य राजनीतिक दलहरु कांग्रेसको ठीकविपरीत थिए । धाँधलीपूर्ण तरिकाबाट जनमतको परिणाम विपक्षमा आएपछि अश्विकारको आन्दोलन सुरु भयो तर पनि बीपीले परिणाम स्वीकार गरेपछि आन्दोलन स्थगित भयो त्यतिखेर कांग्रेसमा अनुसाशन र नेताप्रति असिम श्रद्धा र निष्ठा पनि थियो तर अहिले बीपीले बनाइएको कांग्रेसको साख अहिलेका पुस्ताहरुले भोगिरहेका छन् । त्यही साखमा आफ्नो इतिहास बनाउन प्रयत्नशील छन् तर त्यो साख अक्षुण राखेर बचाउनेभन्दा गिर्दो अवस्था पुर्याएको भन्नुपर्ने अवस्था छ ।

बीपीको अवशानपछि २०४६ सालमा भएको आन्दोलनमा लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले अन्य राजनीतिक दलहरुसमेतलाई सहभागिता गराएर आन्दोलन गर्यो । नेपाली कांग्रेसको इतिहासमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गरेर गरिएको आन्दोलन अधिकारिक रुपमा सम्भवत: यो नै पहिलो हो । त्यसपछिका समयमा अन्य दलहरु पनि स्थापित हुँदै गए र नेपाली जनतामा परिचित हुँदै गए त्यो गराउने श्रेय नेपाली कांग्रेसलाई दिँदा हुन्छ लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा त्यतिखेर भएको आन्दोलन पञ्चायती व्यवस्थाबाट आजित भएर तत्कालीन राजशाहीबाट पटक-पटक कांग्रेसलाई धोका दिँदै शासन-सत्ता सञ्चालन गरेको कारणबाट नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसमेतको सहभागितामा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । त्यो कांग्रेसले आफ्नो नेतृत्वमा गरेको आन्दोलन राष्ट्र हित र राजनीतिक व्यवस्था परिवर्तनका लागि गरिएको थियो त्यसले राजनीतिक दलहरुलाई आपसमा वैचारिक र सैद्धान्तिक रुपमा फरक भए पनि राजनीतिक व्यवस्था परिवर्तनका लागि एक ठाउँमा उभ्याएको थियो । त्यो कुनै निर्वाचनमा जाने गठबन्धन थिएन । त्यो काम गणेशमान सिंहको नेतृत्वबाट सम्भव भयो तर पनि त्यस्को अर्को पाटा के भयो भने अन्य राजनीतिक दलहरु स्थापित हुँदै गए स्थापित गराउने काम कांग्रेसले नै गर्यो र आफू कमजोर हुँदै जाने अवस्था पनि पैदा भयो ।

०६२/६३ को संयुक्त जनआन्दोलनले त मुलुकमा आमूल परिवर्तन नै आयो राजशाही गयो मुलुक धर्म-निरपेक्ष भयो र मुलुक संघीय गणतान्त्रिकमा संरचनामा प्रवेश गर्यो र बहु पहिचानमा आयो । यो निश्चय पनि राम्रो थियो । यसले जनताले चाहेको शासन व्यवस्था आयो । यहाँसम्म त ठीक थियो । त्यो पनि कुनै निर्वाचनमा जाने गठबन्धन थिएन । तर यहासम्म आइपुग्दा त अरु राजनीतिक दलहरु पनि कांग्रेसको समकक्षी दलहरुमा आफूलाई स्थापित गराइसकेका थिए । सशस्त्र आन्दोलनमा लागेको माओवादीलाई पनि १२ बुँदे शान्ति-सम्झौताबाट नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले मूलधारमा ल्याए । मुलुकमा माओवादीको सशस्त्र आन्दोलनले विश्राम लियो । सधैंको त्रासदी समाप्त भयो । यो कार्यले मुलुक तहस-नहस हुनुबाट बच्यो र देशको राजनीतिले एउटा व्यवस्थित र स्थिर एवं दिगो राजनीतिक प्रणालीमा प्रवेश गर्यो यसरी माओवादीलाई पनि कांग्रेसले मूलधारमा ल्याएर माओवादीलाई स्थापित पनि गर्यो ।

यसरी वामघटकहरुलाई यो शक्तिलाई नेपाली कांग्रेसले बीपीको अवसानपछि स्थापित गराउने, उनीहरुसँग सहकार्य गर्ने, तालमेल गर्ने र गठबन्धन पनि गर्ने कांग्रेस प्रक्रिया हुन थाल्यो । यसै परिणाम पनि गएको प्रतिनिधि चुनावमा वाम घटकहरु कांग्रेस दुस्मन बन्दै वामघटहरु अप्राकृतिक गठबन्धन हुँदै पार्टी एक भएर नेकपा एमाले बनेर झन्डै दुईतिहाइ ल्याएर प्रतिनिधिसभामा उपस्थित भएर देखाए र एकलौटि सरकार सञ्चालन गरे । कांग्रेस निरिह भयो र प्रतिपक्षीको भूमिकामा पनि आफ्नो दह्रो भूमिका देखाउन सकेन । तत्कालीन समयमा नेकपा एमाले सर्वसत्तावाद र अधिनायकवादतिर उदय हुँदै गयो । संविधान पनि मिच्दै आफ्नो एकदलीय अवधारणामा मुलुक सञ्चालन गर्ने अभ्यास हुन थाल्यो । जस्तो- गुप्तचर विभाग, सम्पत्ति सुदृढीकरण विभागलगायत संवैधानिक परिषद्‌जस्ता संवैधानिक आयोगहरुमा आफ्नो पकडमा जबरजस्त राख्यो । अन्तत: वामघटकमा जुँगाको लडाइँ र सत्ताको भोक र त्यसलाई भोग गर्ने चाहनाले एकता भंग भयो कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवसर आयो र बन्यो ।

विचार र सिद्धान्तमा कुरा मिल्ने वामघटकहरुको एकतामा आएको विचलनले यिनीहरु भरपर्दो र विश्वसनीय नभएको देखिन्छ ।

गठबन्धन केका लागि र किन ?
अहिले नेपालमा दुई प्रकारको गठबन्धनको अभ्यास भएको देखिन्छ एउटा सरकार बनाउन र अर्को निर्वाचनमा जान गठबन्धन गर्ने । र यो अभ्यास मुलुकमा गणतन्त्र आएपछि सुरु भयो । कांग्रेसमा यी दुई कुरामा कुन गठबन्धन गर्ने यो विषयमा बहस भएको छैन । सरकार बनाउने कुरामा गठबन्धन गर्ने विषय निर्वाचनपछिको स्थिति हो । यो स्थितिमा चुनावी आकलनमा आफ्नो स्थिति सबल नदेख्दा र आफूमा पूर्ण विश्वास नहुँदा अन्य दलसँग गठबन्धनको कुरा अगाडि बढ्ने हो र अहिले कांग्रेस यही अवस्था देखिएको छ । र अर्को कुरा गएको निर्वाचनामा वाम एकताले ल्याएको मत परिणामस्वरूप पनि कांग्रेस तर्सिएका कारण वाम एकता रोक्न नै गठबन्धनको आवश्यकता बताउँदै आएको छ ।

तर यो कांग्रेसको अध्यन र विश्लेषण भविष्यमा कति दूरदर्शी हुन्छ त्यो विश्लेषण भने छैन । त्यो अवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेको अवस्थामा अहिलेका पाँचदलीय गठबन्धन नै आगामी सरकार बनाउनेमा पनि त्यति भरपर्दो र विश्वसनीय आधार किन देखिँदैन भने एउटै विचार र सिद्धान्त भएका वामशक्ति आफ्नो पार्टी विग्रह गरेर अलग पार्टी बनाएर सरकार बनाउने ध्येयले कांग्रेससँग गठबन्धन गरे भने अहिले कांग्रेस निर्वाचनमा जान गठबन्धन गर्छ भोलि सरकार बनाउने समयमा यी पाँचदलको कांग्रेससँग राजनीतिक स्वार्थ मिलेन भने गठबन्धन नरहन पनि सक्छ र त्यतिखेर एमालेसँग गठबन्धन पनि हुन सक्छ । नेपालमा यस्तै अभ्यास र अभियानको थालनी भएको छ जुन विकृत र निराशाजनक अभ्यास हो ।

त्यतिखेर छिमेकी मित्र राष्ट्र चीनको भूमिका पनि त्यस्तै नहुन सक्छ भन्न सकिँदैन ।

अहिले वास्तवमा कुनै पनि राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि गठबन्धन गर्नु स्वस्थकर छैन । यस्तो अवस्थाको गठबन्धनले धेरै राजनीतिक विकृति पैदा गर्छ । कार्यकर्तामा पनि सिट बाँडफाँडको विषयमा गठबन्धनका कारण असन्तुष्टि र नैराश्य पैदा मात्रै गर्दैन त्यतिखेर सबै दलमा अन्तरघात देखिन सक्छ। त्यति मात्रै होइन निर्वाचनमा जाने गठबन्धनमा अर्को खतरा पनि के देखिन्छ भने गठबन्धन गरेका दलले आफ्नो पार्टीभित्र अध्यक्षले नरुचाएका व्याक्तिलाई साइड लगाउने औजारको अवसरका रुपमा पनि लिन सक्छन् । सबैभन्दा खतरा सबै पार्टीभित्र गठबन्धन हुँदा देखिने रोग यो पनि हुन सक्छ ।

अरु पार्टीको तुलनामा सबैभन्दा खतरा कांग्रेसमा कांग्रेसीले नै देखेका छन् । अहिले पछिल्लो समयमा कांग्रेसमा देखिएको बहस, छलफल, वैचारिक द्वन्द्वले यही पुष्टि गर्छ । जस्तो- चौधौं महाधिवेशनमा पार्टी सभापतिका उम्मेद्‌वार रहेका डा. शेखर कोइरालाले तत्कालीन समयमा विधि प्रक्रियागत कुरा गर्दै गर्दा हामी भागबन्डाको राजनीति गर्दैनौं भनेका ड. शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएर उपस्थिति देखाएपछि निर्वाचन नजिकिँदै गर्दा ४० प्रतिशत भागबन्डाको कुरा राखे । अहिले यो कुरा राख्नुपर्ने बाध्यता र आवश्कता किन पर्यो । जहासम्म डा. शेखर समूहमा समेटिएका नेता एवं कार्यकर्ताहरुको राजनीतिक सुरक्षा र प्रतिरक्षाकै लागि आएको हुन सक्छ । यो अवस्था सायद गठबन्धनका नाममा डा. शेखरलाई र उनका समूहमा समेटिएका नेता एवं कार्यकर्तामा भोलि अन्याय पनि हुन सक्छ त्यही आकलन गरेर डा. शेखरले भागबन्डाको कुरा उठाएको हुन सक्छ ।

मैले भन्न खोजेको कुरा नेपाली कांग्रेसले बीपीको अवसानपछि वाम शक्तिहरुसँग सहकार्य गठबन्धन चुनावी तालमेलको अभ्यास सुरु गर्यो र त्यहीँबाट कांग्रेसमा बीपी विचार सिद्धान्त र निष्ठामा विचलन देखिन थाल्यो र कार्यकर्तामा चरम नैराश्य, पलायनता र उदासीनता बढ्दै गएर त्यो अन्तरघातका रुपमा विकसित हुन थाल्यो । समग्रमा भन्नु पर्दा निर्वाचनमा जाने प्रयोजनका निम्ति गरिने चुनावी गठबन्धनले राष्ट्रिय राजनीतिमा राजनीतिक संस्कारको विकास गर्दैन । यसले विभिन्न विकृति पैदा गर्छ । चुनावपछि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने अवस्थामा अन्य दलसँग सरकार बनाउन गठबन्धन गरिने अभ्यास र प्रचलन विश्व राजनीतिमा देखिएको छ ।

प्रतिक्रिया