बिहीबार, वैशाख ११, २०८२

महालक्ष्मी विकास बैंकको नाफामा उच्छल !

नेपालखोज २०७९ साउन २२ गते १६:४१

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष ०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष ०७८/७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव ०७७/७८ को तुलनामा ४४ दशमलव २१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव आठ प्रतिशतले बढेर एक अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

बैंकको निक्षेप र कर्जा क्रमशः ३९ अर्ब ८८ करोड १२ लाखबाट १५ दशमलव नौ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२ दशमलव ९३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा निष्क्रिय कर्जा अनुपात दुई दशमलव ८० प्रतिशत रहेकामा आर्थिक वर्ष ०७८/७९ मा शून्य दशमलव ३७ प्रतिशतले सुधार भई दुई दशमलव ४३ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आबमा २० प्रतिशत बोनस सेयर दिएर चार अर्ब एक करोड ८ लाख पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७५ पैसाले बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको छ । यस्तै पुँजी पर्याप्तता अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सेयरधनी पुँजी कोष पाँच अर्ब ५७ करोड ९३ लाख रहेकामा आर्थिक वर्ष ०७८/७९ मा सेयरधनी पुँजी कोष ६ अर्ब ४२ करोड नौ लाख छ ।

बैंकले प्रदेश १ मा ५, मधेसमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र रहेको बैंकले दाबी गरेको छ ।

प्रतिक्रिया