बिहीबार, वैशाख ११, २०८२

तरलता अभावबीच पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

नेपालखोज २०७९ साउन २२ गते १८:१२

काठमाडौं । १७औं वाणिज्य बैंकका रूपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंक आज देशको एक अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । हाल १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको बैंकले आ.व. ०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना सेयरधनीहरूलाई २५ दशमलव ७१ प्रतिसेयर आम्दानी दिन पनि सफल भएको जनाएको छ ।

बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुर्याउँदै आएको छ । बैंकले आ.व. ०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्याएको जानकारी दिएको छ । बैंकले अवलम्बन गरेको ग्राहकमैत्री अवधारणाको कारण, सिद्धार्थ बैंक आज ग्राहकको प्रमुख रोजाइको बैंक बन्न सफल भएको छ ।

ग्राहकको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग र सद्भावकै कारण वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. ०७८/७९ सम्ममा एक खर्ब ९६ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रह्यो । त्यस्तै आ.व. ०७८/७९ मा दुई लाख ५० हजारभन्दा बढी नयाँ ग्राहक बैंकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरी बैंकले आफ्नो ग्राहकमध्ये ६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई मोबाइल बंैकिङ सेवा, पाँच लाख ४५ हजारभन्दा बढी ग्राहकलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ ।

आफ्नो लगानीलाई उत्पादनमूलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्त्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ । त्यसैगरी देशको आर्थिक विकासका लागि उद्यमशीलता अभिवृद्धि गर्नुपर्नेमा बैंकको सदैव जोड रहिआएकाले मूलभूत रूपमा लघु, साना तथा मझौला स्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोहीअनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।

एउटा सबल र सफल बैंक हुनका लागि प्रविधिमैत्री सेवाको विस्तार र सवलीकरण नगरी सम्भव छैन भन्ने कुरालाई हृदयङ्गम गरीआफ्ना सेवा सञ्चालनमा डिजिटल माध्यमलाई बैंकले अधिकतम महत्त्व दिँदै आएको छ । यस बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरू जस्तै अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधा आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ । यसका साथसाथै बैंकिङ सेवालाई सुलभ तरिकाले ग्राहकमाझ पुर्याउनलाई मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर व्यवसाय सञ्चालन गरिरहेको यस बैंकले ग्राहकको समस्याको छिटो–छरितो ढंगले समाधान गर्न ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयर पनि सञ्चालन गर्दै आएको छ । ग्राहक सेवा केन्द्रमा ग्राहकले फोन, इमेल, हेल्पडेक्स, भाइबरजस्ता डिजिटल माध्यमबाट सम्पर्क गरी आफ्ना समस्या र जिज्ञासा राख्नुका साथसाथै सल्लाह, सुझाव एवं गुनासा पनि व्यक्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले इन्टरनेसनल फाइनान्स को-अपरेसन (आईएफसी) द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१ उपाधि प्राप्त गर्न सफल भएको छ । त्यसैगरी, बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आर्थिक वर्ष ०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ समेत प्रदान गरिएको छ ।

सिद्घार्थ बैंक आफ्नो वित्तीय सवलीकरणका साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकता दिँदै आएको छ । बैंकले प्रत्येक वर्ष खुद मुनाफाबाट संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहका लागि छुट्याइने एक प्रतिशत रकम स्वास्थ्य, शिक्षा, वातावरण तथा अन्य विभिन्न क्षेत्रहरूको दिगो विकासका लागि प्रयोग गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० शाखा (चार एक्स्टेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया