बिहीबार, वैशाख ११, २०८२

नेपाल बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई मजबुत बनाउँछु : अध्यक्ष ज्ञवाली

नेपालखोज २०७९ भदौ १ गते ११:५८

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको यही साउन २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ ग्रहण ज्ञवालीले गरेका हुन् ।

ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै, उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिनसमेत बैंकलाई सुझाए ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे । उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी गराएका थिए । शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाखर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा. सावित्री रञ्जित श्रेष्ठ, विवेकशमशेर जबरा तथा बैंकका कम्पनी सचिवको उपस्थिति थियो ।

प्रतिक्रिया