आमाको तिलहरी !

सात समुन्द्र तरी आएको छु आमा,
आउनेबित्तिकै काम समाएको छु,
बैनीको बिहे गर्दा घाउ लागेको गैरी खेत र,
साहुकोमा धितो राखेको,
तिम्रै गलाको तिलहरी उकास्न,
उँटहरुको ब्रिगेड कमान्डर सम्हालेको छु,
त्यसैले त आमा,
यो बालुवाको समुद्रभित्र,
अरुणको चीसो पानी खोजिरहेको छु ।
घरधन्दामा बुहारीलाई अह्राउनु,
टाहार बारीको सिरानमा कुलेसो बनाउनु,
खेतालो खोजेर सधैं सिमानामा,
बाली हराउन त सक्छ ।
घरका डाँडाभाटाले आकाश हेररिहँदा,
रुँदै होलान् निदाल र झ्याल्सीहरु,
आमा यो अनाम बस्तीमा म,
छानो टाल्ने जस्ता पाताहरु खोजिरहेको छु ।
आधा रातसम्म जाँताका फल्मेटाहरुसँग,
रात बिताउने बुहारीहरु,
अनिँदा आँखाले सुम्सुमाउँदा हुन्,
पँधेरीहरु,
चुच्चोमा बोकेर माटो,
कोरल्दै होलान् बचेरा,
कर्मी गौँथलीहरु,
वागबानीमा वसन्तले लठ्याउँदा हुन्, भँवराहरु,
आमा खुकुरीको धारमाथि राखेर मन,
चाँडै आउँन खोजिरहेको छु ।
हली आउन दोपरे बाँड्दा,
परेली भिम्क्याउँदा हुन्
डाँडा घरका जुनेलीहरु,
झ्याउँकिरी बस्दा गोरु फुकाउँदै,
समाहा मिलाउँदा हुन्,
पल्लाघरका ठूलेहरु,
लागेर बाला झपक्कै गह्राभरि,
मौलाउँदै होलान्,
परदेशी आउँन भनी,
त्यसैले आमा,
यो बिरानो बस्तीलाई,
बिलाई गर्न खोजिरहेछु ।
प्रतिक्रिया