प्रोफाइल फोटो

दाइको साथी हुनाले प्रशान्तलाई हाम्री आमा छोरो जत्तिकै मान्नु हुन्थ्यो । ऊ पनि दादासँगै पढ्ने, सँगै हिँड्ने गरेपछि टाढाको सोच्ने कुरै भएन । हाम्रो घरमा मिठो मसिनो पाकेपछि पहिला उसको नाममा अलग्गै राखिन्थ्यो । एक दिन आमा बजारबाट आएर भित्र पस्दा पस्दै सोध्नुभयो ‘प्रशान्त आएको थियो ?’ ‘छैन त !’ ‘अबदेखि त ऊसँग बोलेको देखेँ भने तेरा खुट्टा भाँच्छु।’ ‘आमा पनि ककस्का कुरा सुनेर के के भन्नुहुन्छ बित्थामा ।’
त्यो दिनदेखि प्रशान्तको हाम्रो घरमा आउनै बन्द भयो । हाम्रो दुई परिवारको आउनेजाने बोलीचाली सबै बन्द भयो । दादा र आमाले मलाई बस्दा उठ्दा नजर राख्ने गरेँ । खेरी खेरी सोधेँ तर मेरो लागि आज पनि उ अरु जस्तै साधारण मान्छे थियो । एक दिन प्रशान्तले एकान्तमा एक्लै भेट्न बोलायो । मान्छेले हामी दुवैलाई दिएका उपनाम सुनायो । सुनेर म छक्क परेँ । मान्छे कस्तासम्म हुँदा रहेछन् ।
मैले उसको सामु आँशु झार्नु सिवाय अर्को बाटो थिएन् । धेरै कुरा सिकाई बुझाई गरेर घर पठायो। तर उसलाई बिर्सनुको साटो दिन प्रतिदिन उनीप्रति आकर्षित हुँदै गएँ । मनका चाहना आदान-प्रदान हुन थाले । सकारात्मक सोच राख्ने आग्रह गर्यो । मलाई खै किन………, ऊ मन पर्न थाल्यो । खाली उसैका कुराले मन छुन थाल्यो । अरु सबै बिर्सिन थालेँ । मनमा लागेको कुरा उसलाई भनुँ- भनुँ भयो । जीवनको उत्तरार्ध खुसीमा रमाउने अठोटमा एक दिन उसैलाई रोजेँ । तेसै दिन मनमा अदम्य साहस गर्दै प्रोफाइलमा फोटो अपलोड गर्दै लेखेँ, “Engaged”।
प्रतिक्रिया