बिहीबार, वैशाख ११, २०८२

राष्ट्र बैकद्धारा आठ अर्बको विकास ऋणपत्रको बिक्री आव्हान

नेपालखोज २०७९ मंसिर १२ गते १३:००

काठमाडौं । नेपाल राष्ट्र बैकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार मंसिर १४ गते दुई बर्षे अवधिको बिकास ऋणपत्र २०८१ ‘छ’ (२ बर्षे) बिक्री गर्न लागिएको हो । ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यही मंसिर १३ गते अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०७९ मंसिर १४ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ मंसिर १४ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ६ अर्ब ८० करोड र एक अर्ब २० करोड छुट्ट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।

राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

प्रतिक्रिया