मन के हो ?

नेपाली शब्दकोषका अनुसार –’मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति हो ।’ यसलाई आन्तरिक इन्द्रिय अन्त:करण, चित्त, दिल, हृदय पनि भनिएको छ। मन सबैको साथी हो। हामी पनि कहिले मनसँग कुरा गर्दछौं, यसैलाई सोध्दछौं, कहिले सम्झाउछौं । मन भौतिक वा दृश्यमान वस्तु होइन । मन कहाँ हुन्छ भन्ने देख्न नसके पनि, भन्न नसके पनि, हामी जहाँ मुटु छ त्यहीँ मन छ भन्ने भावले ‘यहाँ छ’ भनेर मुटु रहेको ठाउँमा देखाउने गर्छौं ।
सायद मन र दिमागको नजिकको सम्बन्ध पनि छ, त्यसैले मनमा आएका कुरा दिमागमा रहेका हुनसक्छन्। मानिस वा प्राणीमा रहेको दु:ख, सुख, दया माया आदिको संवेगलाई पनि मन नै हो भनिन्छ। मन शरीरभित्रको अदृश्य भाग हो। जहाँबाट विचार उत्पन्न हुन्छ । मन भावना पनि होे । यही मनको प्रकृति वा भनौ स्वभावले गर्दा मानिसलगायत हरेक प्राणीहरूमा क्रिया प्रतिक्रिया हुन्छ, अनि त्यही मन अनुसारकै स्वभावहरू बन्दछन् ।
मनका अनेक अवस्था : मनको व्याख्या गर्न त्यत्ति सजिलो छैन। भनिन्छ– यसका अनेक अवस्था छन् । पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गरी मनका तीन अवस्था बताएको छ । उता सुप्रसिद्ध मनोविज्ञानवेत्ता सिगमण्ड फ्रायड पनि मनलाई तीन भागमा बाँडेका छन् । उनका अनुसार मनका तीन अवस्था सचेतन, अचेतन र अर्धचेतन हुन्छन् । सचेतन भनेको सक्रिय वा जागरुक मनको अवस्था हो । हामीले गर्ने हरेक कार्य चेतन मनबाट गरिन्छन् ।
यो मनलाई बायाँ मष्तिष्कसँग सम्बन्धित हुन्छ भनिन्छ। अचेतन मन व्यक्तिलाई जानकारी नहुने, ज्ञान र होस नभएको वा थाहै नपाइने अवस्था हो। अर्धचेतन पूर्णरूपले चेतन पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको, आधा लठ्ठिएको जस्तो अवस्था हो। मनले गर्ने अनुभूतिका आधारमा मनका विभिन्न स्वभावहरू बनेका हुन्छन् । मन ऊर्जावान् छ र वेगवान् पनि। महाभारतको ‘यक्ष युधिष्ठिर संवाद’मा यक्षले वायुको भन्दा पनि तीव्र गति केको छ ? भनेर प्रश्न गर्दा युधिष्ठिर जवाफ दिन्छन्– ‘मन’ को छ । मन यसले गर्ने अनुभूतिको आधारमा कहिले रुन्छ, कहिले हाँस्छ। कहिले भाँचिन्छ, फाट्छ। कहिले बरालिन्छ, भङ्ग्रालिन्छ, कहिले बहकिन्छ, भड्किन्छ ।
मनमा कहिले आगो बल्छ, अनि कहिले यो शीतल हुन्छ। यही मन कहिले ढुङ्गो जस्तो कडा हुन्छ, अनि कहिले नौनीजस्तो कमलो। कहिले मन आफैं पलाउँछ, अनि कहिले आफंै बिलाउँछ। यही मनमा नानाथरिका कुराहरू खेल्छन्, अनि यही मनमा अनेक कुराहरू लुक्छन्, लुकाइन्छन्। मनका यस्तै विविध स्वरूपहरूलाई अँगाल्दै, छिचोल्दै, हाम्रो समय बित्छ र हामी जीवनका यात्राहरूलाई अघि बढाउछौं, बढाइरहन्छौं। कालक्रमका विभिन्न अवस्था र अनुभूतिले गर्दा हाम्रो मनले छिन छिनमा/बेला बेलामा स्वभावहरू परिवर्तन गरिरहन्छ। यो परिवर्तित मनले हाम्रो व्यवहारलाई निर्देशित गर्दछ। त्यसैले हामी उही व्यक्ति कहिले दुखी हुन्छौं, कहिले सुखी हुन्छौं, कहिले कठोर त कहिले कोमल पनि हुन्छौं। छिटो छिटो परिवर्तित भइरहने मनको यही ‘अन्/अफ्’को स्वभावले गर्दा हामीलाई कतिपय लक्ष्यहरू, सपनाहरू पूरा गर्न गाह्रो, असजिलो भैरहेको हुन्छ ।
त्यसैले हामी ‘आजैदेखि म यो सुरु गर्छु वा यो गर्दिन, यो लिन्छु वा यो त्याग गर्छु’ आदि इत्यादि संकल्प र अठोटहरू गरिरहन्छौं। त्यस्ता संकल्पमध्ये कुनै भत्किन्छन्, र फेरि बनाइन्छन्, यो क्रम निरन्तर चलिरहेको हुन्छ। भगवान कृष्णले श्रीमद्भागवद् गीतामा अर्र्जुनलाई ज्ञानोपदेश दिने क्रममा पनि मनलाई बन्धन र मोक्षको अर्थात् दु:ख र सुखको कारण हो भनेका छन्– ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो:।‘ ‘बन्धन’ भनेर कृष्णले सांसारिक जीवनका कष्टपूर्ण भोगाइहरू र ‘मोक्ष’ भनेर परम् सुख शान्तिको अनुभूति अर्थात् परम्पदलाई सङ्केत गरेका छन् । श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया