विवश पोखरेलका ५ मुक्तक

१ . सपना
प्रकृतिको अँगालोमा, जुनेली रात बगेजस्तै
नवयौवनाको अधरमा, यौवनको मात बगेजस्तै
बग्न चाहन्थें म तिम्रो जीवनमा, कलकल गरेर
खै , केले बगायो सपना, खोलामा पात बगेजस्तै ।
२ . किनारा
यहाँ रोइरहेका, जूनताराहरू छन्
भव्य महलमा, सर्वहाराहरू छन्
नदी, छेउबाटै शीतल नदी बगिरहेछ
सधैं तिर्खाएका, किनाराहरू छन् ।
३ . असमर्थता
बिस्कुन बनाएर स्वाभिमान,असरल्ल फिँजाउ सक्दिनँ
आफ्ना स्वार्थका लागि कसैको मन बिझाउन सक्दिनँ
अचेल चाकडीका अनेक दफा -उपदफासँग कायल छु
माफ गर ढुङ्गो, म तिमीलाई भगवान् बनाएर रिझाउन सक्दिनँ ।
४ . ईर्ष्या
बतासले तिम्रो केश, हुँदा पनि डाहा लाग्छ
झरीले तिम्रो मुहार, धुँदा पनि डाहा लाग्छ
प्रगाढ मायामा नै फुल्दोरैछ, इर्ष्याको फूल पनि
तिमी नजिक अरू कोही, हुँदा पनि डाहा लाग्छ ।
५ . सायद
तिमी र यो तिलस्मी, सहर नहुँदो हो
इन्द्रेनी सपना र रहर नहुँदो हो
यो हृदय पनि बगर बन्थ्यो सायद
जिन्दगीको तरङ्गित, लहर नहुँदो हो ।
विराटनगर
प्रतिक्रिया