पोखरा विमानस्थल–घाँडो बन्ने सम्भावना ?

काठमाडाैं । लामो संघर्ष र प्रतिक्षा पछि अन्तत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर उद्घघाटन पनि भयो । प्रतिकुल मौसमलाई ध्यान नदिँदा कार्यक्रम ब्यबस्थापनका धेरै कमि कमजोरीहरु देखिए । सबैलाई आमन्त्रित गरेर भिड देखाउने कोशिसमा मर्मत कार्यले भताभुंग भएको राजमार्ग दिनभर जसो जाम भयो । उद्घघाटन समारोहको रमाइलो हेर्न पुगेका जनसाधारण मात्र होइन बिशिष्टहरुलाई पनि जाममा फसेको देखियो । पहिलो दिनको उडानका लागि विमानस्थल पुग्नुपर्ने यात्रु जामका कारण विमान छुट्ने डरले ठूलाठूला ब्याग बोकेर सडकमा हिडेको पनि देखियो ।
कार्यक्रम समयमा शुरु नहुँदा म बिचमै फर्किए तर हतारमा फर्कदा पनि तीन किलोमिटर यात्रा गर्न डेढ घण्टा लाग्यो । हतारमा अनावश्यक रुपमा लेन मिचेर गाडी गुडाउन खोज्नेहरुका कारण नै त्यस्तो जाम भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल बन्नु मात्रैले पोखराको समग्र बिकासमा सहयोग पुग्छ भन्ने हुँदैन । यहाँबाट अन्तर्राष्ट्रिय उडानका एयर रुट कति पाउन सकिन्छ र ती पाएका उडानमा कति यात्रु हुन्छन् वा त्यस्तो उडान कति नियमित हुन सक्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। दोस्रो राजधानी केन्द्रित मानसिकता एवं राजधानी केन्द्रित होटल ब्यबसायीहरुले यसलाई कति सहजता लिन्छन भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
चिनियाँ एक्जिम बैंकको ऋणमा निर्माण सम्पन्न भएको यो विमानस्थलले एक्जिम बैंकलाई ब्याज मात्र दैनिक करिव दस लाख बुझाउनु पर्दछ । यो ऋण २० वर्षमा चुक्ता गर्नुपर्ने सम्झौतामा उल्लेख छ । अबको चैतदेखि साँवा र ब्याज सहितको पहिलो किस्ता बुझाउनु पर्नेछ ।
यो विमानस्थलमा १८० सिट संख्या भएका मझ्यौला विमानसम्मले मात्र उडान र अवतरण गर्न सक्छन । तत्काल अन्तर्राष्ट्रिय उडानको सम्भावना पनि छैन । भारतको आकाश हुँदै उड्ने एयर रुट दिन भारत तत्कालै राजी हुने सम्भावना छैन । चीनिया सहयोगमा बनेको विमानस्थल भएको हुँदा तत्काल चिनियाँ ब्यापारिक शहर ग्वांगझाउका लागि एयररुट पाए पनि उडानमा पर्याप्त यात्रु पाइने सम्भावना छ जसले चिनियाँ पर्यटकको संख्या बढोत्तरी हुने सम्भावना हुन्छ भने भारतीय शहरसंग पनि एयर रुट पाए भारतीय पर्यटकका कारण पनि विमानस्थल सञ्चालनमा सहजता हुनेछ । अन्यथा ब्याज तिर्न नसक्दा पोखरेलीहरुका लागि घाँडो नबनोस यो नवनिर्मित विमानस्थल ।
प्रतिक्रिया