राष्ट्र बैंकको एक्सन : चार वटा फाइनान्सलाई कारवाहीस्वरुप लगायो ६ लाख सम्म हर्जाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको निर्देशन कार्यान्वयनमा नल्याएको भन्दै चार वटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार कारवाहीमा पर्ने फाईनान्स कम्पनीहरुमा नेपाल फाईनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स र प्रोग्रेसिभ फाईनान्स रहेका छन् ।
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा गरेको गैरस्थलगत सुुपरीवेक्षणको क्रममा तोकिएको अनुपातमा निक्षेप तथा कर्जा अनुपात कायम नगरेको, अनिवार्य नगद मौज्दात कायम नगरेको र बिपन्न बर्गमा कर्जा प्रवाह नगरेकाका कारण कारवाहीस्वरुपमा छ लाख रुपैयाँसम्म हर्जाना लगाईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो अनुसार नेपाल फाईनान्सको हकमा तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा २०७९ साउनमा १९ हजार तीन सय ६० रुपैयाँ ६६ पैसा र २०७९ भदौमा एक लाख ६५ हजार पाँच सय ८४ रुपैयाँ ४७ पैसा हर्जाना लगाईएको छ भने जानकी फाईनान्सलाई पनि कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा २०७९ साउनमा ६ लाख ५५ हजार एक सय ९३ रुपैयाँ ८५ पैसा र २०७९ भदौमा ६ लाख ३७ हजार सात सय ९९ रुपैयाँ ८४ पैसा हर्जाना लगाईएको छ ।
समृद्धि फाइनान्सको हकमा पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा २०७९ भदौमा ८० हजार सात सय ४४ रुपैयाँ ८४ पैसा हर्जाना लगाईएको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य नगद मौज्दात कायम नगरेको आधारमा २३ हजार एक सय ८८ रुपैयाँ ६१ पैसा हर्जाना लगाईएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया