पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यको तरङ्ग

फागुन ७ गतेका दिन पूर्व राजा ज्ञानेन्द्रले एक वक्तव्य दिनु भयो । यस वक्तव्यले मुलुक भित्र केही चर्चा चर्चेको देखियो ।
पहिलो कुरो, वक्तव्यमा ‘शाहबंशीय राजाहरूले सधैँ लोक सम्मतिको आधारमा शासन गरेको’ भनिएको छ । यो कथ्य ऐतिहासिक तथ्यहरू तथा राजनीतिक शास्त्रको “पिपुल्स विल” भन्ने अकाट्य मान्यतासँग किमार्थ मेल खाँदैन । शाह राजाहरूलाई जनप्रिय देखाउन राजा राम शाहका बारेमा पढाइएको किंवदन्तीहरूलाई अपवाद मान्ने हो भने राजनीतिक शास्त्रीय मान्यताका आधारमा आज पर्यन्तका राजाका शासनहरू सामन्ती, हुकुमी र निरङ्कुश प्रकारकै रहेको छ । यसलाई लोक सम्मति भन्न मिल्दैन । ज्ञानेन्द्रले इतिहासको उप व्याख्या पस्किनु भएको हो ।
दोस्रो कुरा, बि.स. २००७ सालको क्रान्ति राजा र जनताको सहयोगबाट भएको हो भन्ने मान्यता नै गलत हो । आधारभूत रूपमा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिमा राजा त्रिभुवनको कुनै तथ्यात्मक सहयोग थिएन । राजाको दिल्ली पलायनबाट प्रकारान्तर पूरक प्रकारको प्रभाव परे पनि त्यो क्रान्तिको मूल पक्ष थिएन । बरू दिल्ली प्रवासका दौरान हैदरावाद हाउसमा राखिएका राजा र काठमाण्डौंमा रहेका श्री ३ मोहन शम्सेरका बिच भारतले समझदारी गराएर ने.का. नेतृत्वको सशस्त्र क्रान्तिको निर्णायक पक्षलाई कमजोर पार्नमा त्रिभुवनको भूमिका रह्यो ।
तेस्रो कुरा, पछिल्लो समयमा दोस्रो जन आन्दोलनको परिणामको बेला ‘जनताले चाहेको हुनाले जनताको नासो (सत्ता) राजनीतिक दलहरूलाई सुम्पेको’ यो कुरो सम्पूर्ण रूपमा गलत हो । अवश्यम्भावी रूपमा सत्ता खोसिने अवस्था, सडकमा रहेको आन्दोलनकारीबाट भवितव्य सजाय दिइने परिस्थिति तथा ज्ञानेन्द्र शाहको नेपालमा ठुलो व्यावसायिक स्वार्थका कारणले मुलुक मै बस्न पाउने इच्छाले सहज झैँ देखाउने गरी सत्ता छोडेको कुरालाई उहाँले लुकाउँदै आएको हो । नयाँ कथ्य बनाउन खोजेको मात्र हो ।
चौथो कुरा, अहिले मुलुकमा बेथिति छ–यो सत्य हो । परन्तु यसलाई समाप्त पार्ने कुनै योजना तथा शासकीय संरचना ज्ञानेन्द्रसँग छैन । फागुन ७ को वक्तव्यमा जुन “सहकार्य” को कुरा उठाइएको छ, त्यसको मनसाय नै पुनर्स्थापित राजा सहितको संवैधानिक राजतन्त्र हो । यसलाई मुख्य धारका राजनीतिक पार्टीहरूले अस्वीकार गरिसकेको छ । राप्रपा र रवीन्द्र मिश्रहरूले हालको संसदीय संरचनामा बहुमत हासिल नगरुन्जेल यसको के सम्भावना छ र ? अहिले उहाँले आफू भित्र ठम्याएको शक्ति नै जनतामा रहेको निराशा हो । यस अर्थमा ज्ञानेन्द्र र रवि लामिछानेको प्रेरणा, सोच र शक्ति एउटै हो । जनताको निराशालाई व्यापारीकरण गर्ने सोच हुन् ।
ज्ञानेन्द्र शाहको वक्तव्य “न मच्चिने पिङको सय झटका” हो । उहाँले सहकार्यका लागि दुरुत्साहित गरेको दल राप्रपा र यस्तै खाले हुन् । यिनको प्राथमिकतामा राजतन्त्र पर्दैन । तर, हेक्का राख्नु पर्ने कुरा के पनि हो भने यिनको चरित्रमा उपद्रवी रूपहरू देखिएमा ज्ञानेन्द्र शाहको नागार्जुन वन क्षेत्र समेत खोस्न भने सबै ठुला दलहरू एक हुनेछन् । अनि उहाँको हालत मधेस तिर फागु पर्वमा बनाइने ‘मजनू’ जस्तो हुनेछ ।
प्रतिक्रिया