राष्ट्र बैंकद्धारा अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९ जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९ जारी कार्यान्वयनमा ल्याएको छ । आईतबार अनुमती प्राप्त सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त विनियमावली कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैकका अनुसार यो विनियमावली कार्यान्वयनमा आएपश्चात खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा ऋण उपयोग गर्न सकिने छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार अन्तर्गत वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने भन्ने उल्लेख रहेको र सोही ऐनको दफा ४९ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा कार्य गर्नुपर्ने अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरि यो विनियमावली तर्जुमा गरी लागु गरिएको राष्ट्र बैंकको भनाई छ ।
यो विनियमावली जारी गर्नुको उद्ेश्य अनुमतीप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु रहेको छ, राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया