बिहीबार, वैशाख ११, २०८२

निर्देशक प्रताप सुब्बाको निधन

नेपालखोज २०७९ चैत २ गते २१:४१

दार्जिलिङ । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक/निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ । स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै उहाँको बिहीबार १२ बजे निधन भएको जानकारी दिए ।

गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरू गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गरेका छन् । चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए। ‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आएका थिए।

उनले नेपालमा केही समय टेली शृङ्खला र विज्ञापनमा काम गरेपछि ‘बन्द पर्दाभित्र’, ‘दिदी’, ‘चटयाङ’ र ‘भीष्म प्रतिज्ञा’ लगायतका चलचित्र निर्देशन गरे। अभिनेता नीर शाहका अनुसार पहिलो पटक अभिनय गराउने निर्देशक सुब्बाले नै खलनायकको भूमिकामा ‘भीष्म प्रतिज्ञा’ प्रस्तुत गरे । ‘दिदीमा सम्झौता भएर पनि काम गर्न पाइएन । यद्यपि भीष्म प्रतिज्ञाबाट मैले जीवनकै पहिलो खलनायकको अवार्ड पाएको थिएँ । मैले मानेको एउटा गुरु उहाँ नै हो’, शाहले भने ।

निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका निर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गरेका थिए । उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो । केही समय अगाडि नै सिक्किममा सुटिङ भएको यो टेली शृङ्खला महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया