बिहीबार, वैशाख ११, २०८२

विश्वको जनसंख्या कहाँ घट्दै-कहाँ बढ्दै छ ?

नेपालखोज २०७९ चैत १५ गते १५:२४

विश्वको जनसङ्ख्या आठ अर्ब नाघे पनि चीनलगायत धेरै देशको जनसङ्ख्या घट्दै गएको छ । संसारको कुन – कुन कुनामा कस्तो परिवर्तन आउँदैछ ? कम बच्चा जन्मिएका कारण धेरै देशको जनसंख्या घट्दै गएको छ र यो गिरावट अझै जारी रहनेछ ।

यसका लागि खर्च बढ्नु, महिलाहरुको रोजगारी, सन्तान ढिलो जन्मनु जस्ता अनेकन कारण जिम्मेवार छन् । यी सबैका कारण कतिपय देशमा पहिलेको तुलनामा थोरै बच्चा जन्मिरहेका छन्।

चीन नम्बर एकमा रहने छैन

गत वर्ष चीनको जनसङ्ख्या ६० वर्षमा पहिलो पटक घटेकाले चिनले यो वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको पहिचान गुमाउने अनुमान गरिएको छ । सन् २१०० सम्ममा चीनको जनसङ्ख्या आजको भन्दा झण्डै आधा अर्थात् १.४ अरब बाट ७७१ मिलियन हुन सक्छ । भारतले यो वर्ष नै जनसंख्याको मामिलामा चीनलाई प्रतिस्थापन गर्न सक्छ।

घट्यो युरोपको जनसंख्या

संयुक्त राष्ट्र संघले सन् २०२२ को जुलाईमा दिएको तथ्याङ्कअनुसार विगत १० वर्षमा एक करोडभन्दा बढी जनसंख्या भएका आठ वटा देशको जनसंख्या घटेको छ जसमा युक्रेन, ग्रीस, इटाली, पोल्याण्ड, पोर्चुगल तथा रोमानिया जस्ता युरोपेली देश छन्।

युरोप बाहिर पनि गिरावट

यस सूचीमा जापान र सिरिया मात्र गैर-युरोपियन देश हुन्। सिरियामा सन् २०११ देखि युद्ध चलिरहेको छ र यसले देशको जनसंख्यामा गहिरो प्रभाव पारेको छ । यद्यपि आगामी वर्षहरूमा सिरियाको जनसंख्या बढ्ने अनुमान गरिएको छ । बाँकी सात देशमा जनसंख्या घट्ने क्रम जारी रहनेछ।\

जापानमा दोहोरो समस्या

जापानमा बृद्धबृद्धाको संख्या बढी भएका कारण देशको कुल जनसंख्या घट्दै गएको छ । त्यहाँ अध्यागमन पनि घट्दै गएको छ । सन् २०११ र २०२१ को बीचमा जापानको जनसंख्या ३ मिलियन भन्दा बढीले घट्यो। सन् २०३० सम्ममा रुस, जर्मनी, दक्षिण कोरिया र स्पेनको जनसङ्ख्या पनि घट्न थाल्नेछ ।

सन् २०५० सम्ममा थाइल्याण्ड, फ्रान्स, उत्तर कोरिया र श्रीलंकाको जनसङ्ख्या पनि घट्न थाल्नेछ । यो शताब्दीको दोस्रो भाग पुग्दानपुग्दै अन्य केहि देशमा पनि जनसंख्या घट्ने प्रक्षेपण गरिएको छ जसमा भारत, इन्डोनेसिया, टर्की र युनाइटेड किङडम प्रमुख छन् ।

अफ्रिकाको फरक तस्वीर

सन् २१०० सम्ममा युरोप, अमेरिका र एसियाको जनसङ्ख्या घट्दै जाँदा अफ्रिकामा भने फरक तस्वीर देखिने अनुमान गरिएको छ । अनुमान अनुसार त्यतिबेला अफ्रिकाको जनसंख्या बढ्दै जानेछ र २१०० सम्म १.४ बिलियन बाट ३.९ बिलियन सम्म पुग्नेछ । जहाँ अफ्रिकाले हाल विश्वको जनसंख्याको लगभग 18 प्रतिशत ओगटेको छ, यो संख्या २१०० सम्ममा बढेर ३८ प्रतिशत हुनेछ ।

केही दशकपछि भने विश्वको समग्र जनसंख्या घट्नेछ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०९० को दशकमा पृथ्वीको जनसंख्यामा समग्र गिरावट सुरु हुनेछ । पृथ्वीको जनसंख्यामा समग्र गिरावट सुरु हुनु अघि सम्पूर्ण विश्वको जनसंख्या १०.४ बिलियन पुगिसकेको हुनेछ । -एएफपी

प्रतिक्रिया