बिहीबार, वैशाख ११, २०८२

सिराहकी गरिमा राय भन्छिन्-‘मिटरब्याजी’ सुजाता साहुनीका कारण मेरो र भाईको स्कूल छुट्यो

नेपालखोज २०७९ चैत १६ गते १५:५३

मेरो नाम गरिमा राय हो। म १३ वर्षकी भएँ। मेरो घर सिराहा जिल्ला, बेलाहमा छ। म हाल मिरचैयामा बस्छु। म कक्षा ५ मा पढ्छु। मेरो स्कुलको नाम स्वस्तिक पाठशाला हो। मेरो ममीको नाम ममता राय हो।

मेरो ममीले सुजाता साहसँग २ लाख रुपैँया लिनु भएको थियो। भाई आकाश राय बिरामी हुँदा, ब्रेनट्युमरको उपचारका लागि लिनुभएको हो। ममीले सुजातालाई ३५ लाख रुपैँया तिरिसक्नु भयो। त्यसमाथि सुजाताले २ वटा जग्गा पनि लिइसक्नुभयो।

अनि अरु मान्छेसँग पैसा उठाएर आफुले लिने अनि मेरो ममीले लिएको भनेर कागज बनाईदिएर तिनको पैसा पनि तिरिहाल भनेर धम्की दियो। मेरो ममीले त्यो पनि तिरिदिनु भयो।

लघुवित्तमा पनि ५ जना सदस्य मिलाएर मेरो ममी, माईजु, हजुरआमा, सुजाताको आफ्नो आमा सबैको नाममा पैसा उठाएर लिईसकेको छ। मेरो ममीलाई हिसाब हेर्न पनि दिएको छैन।

अझै पनि मेरो ममिलाई ६० हजार महिनाको तिर, तिरिनस् भने तँलाई मरवाई दिन्छु भन्छ। म ५० हजार महिना थानामा तिर्छु, १ लाख महिना केटाहरूलाई खुवाउछु भनेर धाकधम्की दिन्छ। उसको एउटा कपडा पसल छ, त्यसले त्यस्तो कुन काम गर्छ र त्यस्तो भनिरहेको छ। अनि अझ पैसा नदिँदा मेरो ममीलाई तेरो छोरीलाई उठाइदिन्छु, तेरो छोरालाई मरवाई दिन्छु, भनेर धम्की दिन्छ। त्यस्तो धम्कीको कारण मेरो ममीले मेरो स्कुल छुटाइदिनु भयो। सात महिनादेखि म घरमै बसिराखेको छु। मेरो परिक्षाहरु सबै छुटी सक्यो। अनि खानाको लागि पनि  पैसा पुगिरहेको छैन्, रुमको भाडाहरु तिर्न बाँकी छ।

मेरो ममी थानामा पनि जानुभयो। सीडिओ कार्यालय पनि जानुभयो। त्याँहाको मान्छेहरुले मेरो ममीलाई नै फट्कार्नु हुन्थ्यो। तैँले खाएको पैसा तिरदिनस्, तिर भन्थे।

मेरो ममिले ३५ लाख तिरिसक्यो अझै कहाँ बाट तिर्नु ? हाम्रो  २ वटा जग्गा पनि त्यसले लिईसकेको छ। एउटा जग्गा त २ जना मान्छेलाई बेचिसकेको छ। त्यो मान्छेसँग पैसा लिएर पनि मेरो ममीलाई ऋण लगेको कागज बनाउन लगायो। कागज बनाइनस् भने म मारिदिन्छु भनेर धम्की दियो,अनि मेरो ममीले उसले भनेको जती गरिदिनुभयो। कागज पनि बनाइदिनुभयो। अहिले मेरो र भाई दुबैजनाको स्कुल छुटिसकेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया