बिहीबार, वैशाख ११, २०८२

उपनिर्वाचन : चिरपरिचित अनुहार रास्वपाको उम्मेदवार, संख्या थप्ने लक्ष्य

नेपालखोज २०७९ चैत १७ गते १२:१३

काठमाडौं । पार्टी स्थापनाको करिब ६ महिनामै विना संगठन मूलुकको चौथो शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा सतप्रतिशत नतिजा निकाल्ने रणनीति अपनाएको छ । उसले उपनिर्वाचन हुने तीन निर्वाचन क्षेत्रमा परिचित अनुहारलाई उठाउने भएको छ ।

चितवन २ मा पार्टी सभापति रवि लामिछाने, बारा २ मा पूर्व डिआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ । चितवनमा लामिछाने दोस्रो पटक उम्मेदवार बन्दैछन् । मंसिरको निर्वाचनमा भारी मतान्तरसहित जितेका उनको सांसद पद नागरिकता मुद्धाले रद्ध भएको थियो । नागरिकता र राहदानी प्रकरणलाई सेभ ल्याण्डिङ गरेका उनले पुनः जित्ने गरि तयारी थालिसकेका छन् । उनीसँग नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवारले प्रतिस्प्रर्धा गर्नेछन् । एमालेले उम्मेदवार टुंग्याउन बाँकी रहेको छ ।

त्यस्तै, तनहुँ १ मा त्यहाँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमालेको उम्मेदवार निक्यौल हुन बाँकी हुदा रास्वपाले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउँदैछ । विहिबार मात्र कांग्रेस पार्टी परित्याग गरेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।
उता, बारा २ गत मंसिरमा निर्वाचित जसपाका रामसहाय प्रसाद यादव विजयी भएको क्षेत्र हो । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त छ । बैशाख १० गते हुने उपनिर्वाचनमा ४ उम्मेदवारको भिडन्त हुने निश्चित प्राय छ । जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

यादवलाई गत मंसिरमा जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका थिए । यादवलाई रोक्ने रणनीतिका साथ जनमत पार्टीले माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशहवालाई प्रवेश गराएर उम्मेदवार घोषणा गरेको छ । कुशहवा मंसिरको निर्वाचनमा दोस्रो बढी मत ल्याउने उम्मेदवार हुन् । सोही क्षेत्रमा लोसपाले राजेन्द्र महतोलाई उम्मेदवार बनाउँदैछ । यी नेताहरुसँग चुनाबी भिडन्तका लागि रास्वपाले पूर्व डिआईजी रमेश खरेललाई पठाउने भएको छ ।

मंसिरको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर २० सिट सुरक्षित गरेको रास्वपाले सिट थप्ने रणनीति अनुसार क्षेत्रगत रुपमा अब्बल मानिएका र परिचित अनुहारलाई अघि सारेको देखिन्छ । रास्वपा सभापति लामिछानेले विहिबार राति सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ ।’

प्रतिक्रिया