बिहीबार, वैशाख ११, २०८२

के खास छ यस पटकको आईपीएलमा ?

नेपालखोज २०७९ चैत १७ गते १२:२६

काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा आजदेखि इन्डियन प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदैछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिडे सँगै दुई महिनासम्म चल्ने आईपीएलको १६ औं सिजन सुरु हुनेछ । यो खेलसँगै नयाँ सिजनको सुरुवात मात्र होइन, यस्ता धेरै विशेष कुराहरु पनि हुनेछन्, जसका कारण आईपीएल – २०२३ सुरु हुनुअघि नै चर्चामा छ ।

अबको करिब ८ हप्तासम्म १० टिमबीच ७० खेल हुनेछन्, त्यसपछि खेलमा उत्कृष्ट चार टिम बाँकी रहने छन्, जसले प्लेअफ खेल्ने छन् । यी मध्ये दुई टिम मात्र मे २८ मा हुने उपाधि भिडन्तमा पुग्नेछन् र आईपीएल – २०२३ को च्याम्पियन बन्नेछ । यद्यपि, यस पटक च्याम्पियनको निर्णय धेरै नयाँ नियमहरूले प्रभावित हुन सक्छ । खैर, नयाँ नियम वा नयाँ च्याम्पियन मात्र यो सिजन अन्य केही कारणले पनि विशेष हुने भएको छ । हेरौं ती खास कुरा जुन आईपीएलमा पहिलो पटक हुँदैछ ।

-आईपीएल – २०२३ विभिन्न १२ स्थानहरूमा खेलाइनेछ, जसमा मुम्बई, कोलकाता, चेन्नई, दिल्ली बैंगलोर र अहमदाबाद जस्ता स्थानहरू छन्, साथै गुवाहाटीले पनि आईपीएलको रंग यस पटक देख्नेछ । पहिलो पटक आईपीएलका खेलहरू उत्तरपूर्वी भारतमा खेलाइँदैछन् । राजस्थानले आफ्ना दुई खेल गुवाहाटीमा खेल्नेछ।

-गुवाहाटी मात्र होइन, पहिलो पटक आईपीएलका खेल लखनउमा पनि खेलाइनेछ । यसअघि उत्तर प्रदेशमा सन् २०१६ देखि २०१८ सम्म कानपुरको ग्रीन पार्क स्टेडियममा खेल खेलाईएको थियो।

-यो सिजन होम एन्ड अवे ढाँचामा पुनरागमन भएको छ । यस्तो अवस्थामा पहिलो पटक गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सले आ–आफ्नो घरेलु मैदानमा खेल्ने मौका पाउनेछन् । गुजरातले गत सिजन अहमदाबादमा खेलेको थियो तर त्यो प्रत्यक्ष फाइनल खेल थियो।

-यसबाहेक आईपीएल – २०२३ मा इम्प्याक्ट प्लेयर नियम पनि ल्याइँदैछ। यस अन्तर्गत कुनै पनि खेलमा दुवै टोलीले प्लेइङ इलेभेनबाट एक खेलाडी बदल्न र बलिङ वा ब्याटिङको समयमा जुनसुकै बेला अतिरिक्त खेलाडीलाई टिममा समावेश गर्न सक्नेछन् ।

-यो सिजनमा कप्तानहरूसँग टसको नतिजा अनुसार प्लेइङ इलेवन छनोट गर्ने विकल्प हुनेछ । यसअन्तर्गत कप्तानले टसको समयमा दुई प्लेइङ इलेभेन राख्नेछन् र बलिङ वा ब्याटिङ आउँदा सोही अनुसार प्लेइङ इलेभेन रिलिज गर्न सक्नेछन् । यससँगै उनीहरूले थप ४ खेलाडीको नाम पनि राख्नेछन्, जसमध्ये एकलाई इम्प्याक्ट प्लेयरका रूपमा मैदानमा उतार्न सकिनेछ ।

-यो सिजनमा विकेट मात्र नभई नो बल र वाइड बलमा पनि अम्पायरको निर्णयलाई चुनौती दिन सकिनेछ । यसका लागि कप्तान/खेलाडीले डिआरएस (DRS )प्रयोग गर्न सक्नेछन्।

-मे ६ मा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलले विशेष कीर्तिमान बनाउनेछ। यो आईपीएल इतिहासको १००० औं खेल हुनेछ।

-आईपीएलमा पहिलो पटक इङ्ल्यान्डका महान ब्याट्सम्यान तथा पूर्व कप्तान जो रुट पनि खेल्दै देखिनेछन्। रुटलाई पछिल्लो लिलामीमा राजस्थान रोयल्सले किनेको थियो ।

-नियमको कुरा गर्दा यस पटक समयमै ओभर पूरा नगर्नेलाई थप कडा सजाय हुनेछ । दोषी टोलीले बाँकी ओभरमा ३० गजको दायराबाहिर ५ जनाको सट्टा ४ जना मात्र फिल्डर राख्न सक्नेछन ।

-यस बाहेक ब्याटिङको क्रममा विकेटकिपर वा कुनै फिल्डरले ब्याटिङको समयमा अनावश्यक रूपमा हिड्ने, जसले ब्याट्सम्यानको ध्यान विचलित गर्छ भने, दोषी पाइएमा फिल्डिङ टिमलाई जरिवाना गरिनेछ र ब्याटिङ गर्ने टिमलाई ५ रन दिइनेछ।

प्रतिक्रिया