बिहीबार, वैशाख ११, २०८२

जयनगर–बर्दिबास रेलमार्ग अन्तिम चरणमा

नेपालखोज २०७९ चैत १८ गते ८:४९

काठमाडाैं । जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । कुर्थादेखि विजलपुरासम्म रेलमार्गको ट्र्याक निर्माणको मुख्य कार्यहरु सम्पन्न भइसकेकाले केही दिनभित्रै भारतीय निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनीलाई ट्र्याक हस्तान्तरण गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाको भनाइ छ । “रेल्वे ट्र्याक हामीलाई हस्तान्तरण हुने तयारी भइरहेको छ”, महाप्रबन्धक झाले भन्नुभयो, “त्यो हस्तान्तरण भएसँगै हामी विजलपुरासम्म रेल गुडाउँछौंँ ।” केही दिनअघि कुर्थादेखि विजलपुरासम्म रेल गुडाएर परीक्षणसमेत गरिएको थियो । विजलपुरादेखि बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ ।

“जग्गा मुआब्जाको समस्यालगायतका कारण विजलपुरा भङ्गहादेखि बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको”, नेपाल रेल्वे कम्पनीका इञ्जिनियर रवीन्द्र साहले बताए, “कतिपय ठाउँमा व्यवहारिक रुपमा बाटो देखिएको छ, तर नक्शामा सडक छैन, यद्यपि स्थानीयले मुआब्जा मागिरहेका छन् ।” कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती भएको र उनीहरुसँग कुनै कागज नभएको उनको भनाइ छ । उनले स्थानीयले मुआब्जा मागेर विवाद गरिरहेको बताए । जसका कारण रेल्वे ट्र्याक निर्माणमा समस्या भएको उनको कथन छ ।

“हामीहरुले चाहेर पनि समस्या समाधान गर्न सकेका छैनौँ,रहेको छैन्”, इञ्जिनियर साहले भने, “मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म रेल चल्न थाल्छ ।” नेपालमा रेल सञ्जाल विस्तार गर्नेबारे नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ देखि निर्माण थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

हाल जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन भैरहेको छ । उक्त रेल सेवा दैनिक दुई पटक आउने – जाने गरिरहेको छ ।

प्रतिक्रिया