श्रीलंका विश्वकप क्रिकेटबाट बाहिरियो, अब नेपाल सँग भिड्नु पर्ने हुन सक्छ ?

काठमाडाैं । सन् १९९६ को विश्वकपको च्याम्पियन तथा सन् २००७ र २०११ को उपविजेता श्रीलंकालाई २०२३ को एकदिवसीय विश्वकप क्रीकेटमा ठूलो धक्का लागेको छ । श्रीलंका विश्व टेस्ट च्याम्पियनसिपको सहभागिताबाट बन्चित भए सँगै अब विश्वकपको प्रत्यक्ष सहभागिताको टिकट पनि गुमाउने देश भएको छ ।
न्यूजिल्याण्डको वर्तमान भ्रमणमा टेष्ट सिरिज २-० ले गुमाएपछि दक्षिण एसियाको क्रिकेट स्तम्भ श्रीलंका न्युजिल्यान्डसँगको एकदिवसीय सिरिजमा पनि २-० ले पराजित भएको छ । सिरिजको दोस्रो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको थियो भने तेस्रो खेलमा श्रीलंका ६ विकेटले पराजित भएको थियो । यो हारका कारण श्रीलंकाले सिरिज मात्र गुमाएको छैन, भारतमा हुने एकदिवसीय विश्वकपमा सोझै भाग लिन पाउने टिकट पनि गुमाएको छ ।
अब श्रीलंका ४४ वर्षपछि एकदिवसीय विश्वकप बाट बन्चित हुनसक्छ । भारतमा यहि वर्ष (सन् २०२३) हुने विश्वकपका लागि ८ देश सिधैँ लिग चरणमा छनोट हुनेछन् । जसमध्ये सात वटा देश निश्चित भैसकेका छन् भने आठौं सहभागिका लागि श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्याण्डबीच भिडन्त चलिरहेको छ । न्युजिल्यान्डसँगको खेलमा भएको पराजयसँगै श्रीलंका यो दौडबाट बाहिरिएको छ अर्थात एसियाली च्याम्पियन श्रीलंकाले अब क्वालिफायर राउण्ड खेल्नुपर्नेछ जसमा नेपाल पनि छ ।
एकदिवसीय विश्वकपको इतिहासमा श्रीलंकाले ४४ वर्षपछि फेरि एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने अवस्था सृजना भएको छ । यसअघि सन् १९७९ को विश्वकपमा श्रीलंकाले क्वालिफायर राउन्डमा प्रतिस्पर्धा गर्नु परेको थियो ।
दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्याण्डबिच घमासान
जारी विश्वकप सुपर लिगमा वेस्ट इन्डिज र श्रीलंकाका सबै खेल सम्पन्न भएका छन् । श्रीलंका (८१) अब सबै खेल सकिएर ९ औं स्थानमा छ । योसँगै वेस्ट इन्डिज ८८ अंकसहित आठौं स्थानमा छ । अर्कातर्फ दक्षिण अफ्रिका (७८) ले नेदरल्याण्डसँग दुई खेल खेल्नुपर्नेछ । आयरल्यान्ड पनि यो दौडमा छ र उसले मे ९ देखि १४ सम्म बंगलादेशसँग तीन एकदिवसीय खेल खेल्नुपर्नेछ । अब यी बाँकी खेलहरूको समीकरणलाई हेर्दा दक्षिण अफ्रिकाले आफ्नो आशा जीवित राख्न नेदरल्यान्ड्स विरुद्धको दुवै खेल जित्नुपर्नेछ । यदि उसले जित्यो भने अफ्रिका र आयरिश टिमको ९८-९८ अंक हुनेछ ।
अफ्रिकाले एक खेल हारेर तीनवटा खेल जित्यो भने पनि आयरल्यान्ड छनोट हुनेछ । अन्यथा, अफ्रिका र आयरल्याण्ड दुवैको हारले वेस्ट इन्डिजको सम्भावना जिबित हुनेछ । यसको अर्थ यो दौड निकै रोमाञ्चक भैसकेको छ ।
श्रीलंका अहिले ओडिआइ (वन डे इन्टरनेशनल) को फाइनलमा प्रत्यक्ष सहभागिताबाट बाहिरिए पनि जुन १८ देखि सुरु हुने छनोटमा अब उसले ईमर्जीङ नौ देशसँग भिड्नु पर्नेछ जसमा नेपाल हालसालै छनोट भएको छ । यसको अर्थ अब नेपालले जीत्दै गए प्ले अफमा श्रीलंकाको सामना गर्नुपर्ने हुनसक्छ । यो राउण्डपछि दुई वटा देश मुख्य राउण्डमा पुग्नेछन् र त्यसका लागि नेपाल र श्रीलंका समान स्थितिमा छन् । त्यसपछि १० वटा देशबिच बिश्वकप क्रिकेट प्रतियोगिताको फाइनल भिडन्त हुनेछ।
प्रतिक्रिया