ऋषि सिंहले जिते इन्डियन आइडलको उपाधि

काठमाडाैं । इन्डियन आइडल–१३ को उपाधि अयोध्याका ऋषि सिंहले जितेका छन् । चर्चित गायन रियालिटी शो इन्डियन आइडलको १३ औं सिजनको फाइनल हिजो आइतबार मुम्बईमा सम्पन्न भएको हो । कार्यक्रममा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए ।
उक्त शोमा भारतका थुप्रै राज्य मध्येबाट ६ जना मात्र फाइनलमा पुग्न सफल भएका थिए जसमा ऋषि सिंह (अयोध्या), बिदिप्ता चक्रवर्ती (कोलकाता), चिराग कोतवाल (जम्मु), सोनाक्षी कार (कोलकाता), शिवम सिंह (वडोदरा) तथा देबोस्मिता रोय (कोलकाता) थिए । फाइनलको चर्को सांगीतिक प्रतिस्पर्धा पछि अयोध्याका ऋषि सिंहले इन्डियन आइडल–१३ को उपाधि जितेर ट्रफी आफ्नो नाममा गरेका हुन् ।
प्रतियोगीतामा देबोस्मिता रोय तथा चिराग कोतवाल फस्ट तथा सेकेन्ड रनरअप भए । इन्डियन आइडलका विजेता ऋषि सिंहले सोनी टिभीबाट २५ लाख रुपैयाँको चेक प्राप्त गरेका छन् भने उनले उपहारस्वरूप नयाँ कार पनि पाएका छन् ।
यसैगरी फस्ट देबोस्मिता रोय तथा सेकेन्ड रनर अप चिराग कोतवालले पाँच लाख र तीन लाख रुपैयाँको चेक प्राप्त गरे भने बाँकी प्रतियोगीलाई एक–एक लाखको चेक प्रदान गरियो ।
प्रतिक्रिया