बिहीबार, वैशाख ११, २०८२

मोफसलमा बढ्दै चलचित्र गतिविधि

नेपालखोज २०७९ चैत २३ गते ८:०३

काठमाडाैं । चलचित्रको गतिविधि प्रायः काठमाडौं उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनको लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, घोषणालगायतका कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’ को प्रिमियर कास्कीको पोखरा हुने भएको छ । मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारकै लागि गर्ने यस्ता गतिविधि निकै कम छन् ।

निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल र लेखक तथा निर्देशक प्रमोद कँडेलको सहभागितामा प्रिमियर हुने जानकारी दिए । ‘मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोचले आयोजना गरेका हौँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रम निरन्तर हुन् जरुरी छ’, निर्माता पौडेलले भने । चलचित्रको प्रिमियर काठमाडौँमा बुधबार साँझ सम्पन्न भइसकेको छ । पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीमार्फत सकारात्मक प्रतिक्रिया पाइएको निर्देशक कँडेलले बताए ।

‘हामीले निरन्तररूपमा बनिरहेका चलचित्रमा यसलाई फरकरूपमा तयार गरेको प्रयासले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारबाट राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ’, निर्देशक कँडेलले भने । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा भएको थियो । गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो।

निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलमा बढ्दो बजारलाई टेवा पु¥याउने उद्देश्यले प्रिमियर गरिएको बताए । ‘हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौँ’, निर्माता बानियाँले भने, ‘प्रिमियर, पत्रकार सम्मेलनलगायतका गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । चलचित्रले मोफसलबाटै झन्डै लगानी उठाएको थियो’, उनी आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन् । रासस

प्रतिक्रिया