बिहीबार, वैशाख ११, २०८२

इदको चहलपहल बढ्यो

नेपालखोज २०७९ चैत २६ गते १४:००

महोत्तरी । इस्लाम धर्मावलम्बीको पवित्र रमजान रोजासँगै यहाँका बस्तीमा इदको चहलपहल बढेको छ ।

रमजानभरि एकमहिने रोजा (व्रत) गरिरहेका इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिलेदेखि नै इदको चहलपहल बढेको हो । ऊर्दू पात्रो (हिजरी सम्वत्) अनुसार रमजान महिना सकिनासाथ सुरु हुने सब्वाल महिनाको एक तारिखका दिन इद मनाउने इस्लाम परम्परा छ । अहिले रमजान सुरु भएको दुई साता बितेको छ ।

‘रमजान र इद जोडिएकै कुरा हुन्, रमजानको रोजा (व्रत) सकिएको भोलिपल्ट इद (इद–उल–फित्र) मनाइने त हो’, बर्दिबास–१ का इस्माइल चुरौटे भन्छन्, ‘त्यसैले हाम्रो घरपरिवारमा इदको सोधखोज र तयारी सुरु भएको छ ।’ इद इस्लाम परम्पराको मुख्य पर्व भएको हुँदा यसको तयारी केही साता पहिले नै सुरु हुने मुसलमान (इस्लाम धर्मावलम्बी) बताउँछन् । बोलीचालीमा ‘इद’ भनिने इद–उल–फित्र इस्लाम परम्पराको मुख्य पर्व हो ।

मुस्लिम गृहिणी रमजान रोेजा (व्रत)कै बीच अहिले गहुँको पिठो मुछेर घरघरैजसो ‘सेवइ’ (मुछिएको पिठो सानो फलामेयन्त्रमा पेलेर सिन्काजस्तो बनाएर निकालिने खाद्य वस्तु) बनाउन व्यस्त छन् । दूधमा पकाइएको सेवइ इद पर्वको खास परिकार मानिन्छ । यसरी पेलेर बनाइएको सेवइ केही दिन सुकाइएपछि दूधमा पकाउन मिल्छ । इद मुसलमानका लागि ‘जकात’ (कमाइको साढे दुई प्रतिशत नगद वा जिन्सी गरिब दुखीलाई बाँड्न छुट्याइएको रकम) को बेला पनि हो ।

इद यसपालि आउने वैशाखको दोस्रो साताको सुरु (वैशाख ९ वा १०) मै पर्दैछ । चन्द्र दर्शनसँग इद जोडिने हुँदा एक दिन तलमाथि पर्नसक्ने इस्लाम धर्मावलम्बी बताउँछन् । जिल्लामा सम्सी, लोहारपट्टी, जलेश्वर, बलवा, मटिहानी, भङ्गाहा, रामगोपालपुर र बर्दिबाससहितका स्थानीय तहका अधिकांश बस्तीमा सघन मुस्लिम बसोबास छ । यी स्थानीय तहका मुस्लिम बाहुल्य बस्तीमा अहिले इद केन्द्रित तयारी र चर्चा सुनिन्छ ।

रमजान मानवीय करुणा उजागर गराउन, परोपकारमा उद्दत गराउन र सद्आचरणमा रहन प्रेरित गराउने पवित्र महिना मानिन्छ । यसै महिनामा पृथ्वीमा पवित्र ग्रन्थ कुरान अवतरित भएको मुसलमान मान्दछन् । त्यसैले आम मुसलमान एक महिनाभर सद्आचरणमा रही रोजा गर्छन् । ‘सूद’ (ब्याज) लिनु-खानुलाई इस्लाम परम्पराले ‘हराम’ (महापाप) मान्दछ । दानको प्रचार पनि इस्लाममा वर्जित छ । ‘कुनै दिनदुःखी वा अन्य कसैलाई गरिने सहयोग दिने-लिनेबाहेक अरु कसैले थाहा पाउनु हुँदैन’, भङ्गाहा–४ का ८५ वर्षीय हाजी (मक्का मदिना गएर खास धार्मिक अनुष्ठान पूरा गरेका मुसलमानको उपाधि) विहारी अन्सारी भन्छन्, “रमजान कुरान पढ्ने, सुन्ने र जीवनमा त्यसलाई ढाल्न अभ्यास गर्ने खास अवसर हो ।”

रमजानभर सद्आचरणमा रहने अरुबेला जेगरे पनि हुने भन्ने नभई बर्सेनि एक महिना आपूलाई सत्कर्म र सद्आचरणमा रहिरहन अभ्यास गराउने, सम्झाउने र सचेत गराउने अवसर रहेको पाका मुसलमान बताउँछन् । ‘इद’ यिनै गुणयुक्त मानव भएको खुसी व्यक्त गर्ने पर्व हो । इदमा लगाइने नयाँ लुगा प्रायःसेतो प्रयोग गरिन्छ । त्यसलाई जीवनसँग गाँसेर कहिल्यै दाग नलागोस् भन्ने हेक्का गरिन पर्ने बलवा–१० धमौराका ८० वर्षीय हासिम कवारीको भनाइ छ ।

प्रतिक्रिया