बिहीबार, वैशाख ११, २०८२

गुरुङ समुदायको ट्होटें पर्व

सुनील उलक २०७९ चैत २८ गते १३:२६

तमुहरुले वर्षको दुई पटक साउन तथा चैत महिनाको अन्तिम मंगलबार ट्होटें पर्व मनाउने गर्छ । ट्हो अर्थात बस्ती वा राज्य हो भने टें को अर्थ वैरी धपाउने हो । परापूर्वकालमा घले राजाहरुका पालामा आफ्नो राज्यमा वैरीहरुको आक्रमण नहोस भनेर वैरी धपाउनका लागि ट्होटें पर्व मनाउने गरिन्थ्यो । पछि गाउँघरमा वनमा पाइने घाँसपात बेरेर विभिन्न पहिरनमा ढ्याङ्ग्रो ठटाउँदै भुत प्रेत पिशाचलाई तर्साउदै धपाउने कार्य गरिन्थ्यो ।

खासमा यसको सांस्कृतिक महत्व भन्दा बढि सामाजिक महत्व थियो । यसले अन्य समाजका मानिसलाई आफ्नो समाज भित्र प्रवेशमा रोक लगाउँथ्यो । आफ्नो राज्यमा अन्यको प्रवेश बर्जित गर्दथ्यो । जसले गर्दा आफ्नो राज्य सुरक्षित र संरक्षित रहन्थ्यो । मित्रका रुपमा वा शत्रुका रुपमा होस बाहिरियाको प्रवेश भनेको स्विकार्न हुँदैन भन्ने मान्यतामा त्यो बेलाका घले राजाहरुले आफ्नो राज्य सुरक्षित राखेका थिए । हुन त गुरुङहरुको इतिहास कोट्याउने काम धेरैले गरेका छैनन् । फ्रान्सेली समाजशास्त्री बर्नाड पिगनेडले अलि धेरै अध्ययन गरेका छन् । पिगनेडका अनुसार गुरुङहरु इसा पूर्व १००० तिर पूर्वी तिब्बतको चाम्डोबाट पश्चिमको लोखा क्षेत्रको यारलुङ घाटीमा पुग्दा यो समूहका पूर्वजलाई टुबो भनेर चिनिन्थ्यो ।

टुबो त्यहि वंश हो जसका राजा श्रङचङ गम्पोले नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरेका थिए । साथै उनकै घोडचढी सैनिक जो नेपाल प्रवेश गरे पछि यहि बसोबास गरे । जसलाई पछि हामीले तामाङ भनेर चिन्दछौ । यस्तै डा. टेकबहादुर गुरुङले गुरुङहरुले आफ्नो शोधको समय जेनेटिक एनालाइसिस गरेका थिए । वहाँको अध्ययनको निचोडका अनुसार नेपालमा भएका मंगोलियन भनेर चिनिने गुरुङहरुको इसापूर्व ८००० वर्ष देखिको स्थानान्तरको इतिहास अनुसार ६००० इसा पूर्वमा कोकोनर ताल तिर थिए । शायद त्यसभन्दा अगाडि मंगोलियामा थिए होला । क्रमश स्थानान्तरणको क्रममा करिव ४००० इसा पूर्वमा युनान क्षेत्रमा पुगे । २००० इसा पूर्वमा पूर्वबाट पश्चिम तिर लाग्दै तिब्बती भूभागमा पुगे ।

करिव इसापूर्व १००० तिर मुस्ताङमा आइपुगेका थिए । अन्तमा इसा पूर्व ५०० तिर क्होला सोथारमा पुगेका थिए । यसरी अहिलेका गुरुङ समुदायको चिरपरिचित क्होला सोथारमा करिव २५०० वर्ष अगाडि आइपुगेका थिए । आखिर लामो समय देखि गुरुङ समुदाय भनेर चिनिने जातिको नाम वास्तवमा गुरुङ नै हो वा तमु हो भन्ने विषयमा भने कुनै निर्क्योल भएको छैन । गुरुङ भाषामा ‘ताइ’ माथि लेक तथा ‘मू’ बसोबास गर्ने अर्थात माथिल्लो लेकमा बसोबास गर्ने भएको हुँदा ताइमू भनिएको हो । यहि ताइमूबाट नै अप्रभंश भइ तमु भएको पनि भनिन्छ । अर्को तर्फ सातौ शताव्दीमा गण्डकी सिंचित क्षेत्रदेखि नेपालको हालको पूर्वी भागसम्म रोङ जातिको प्रभुत्व थियो ।

पूर्वमा बस्नेहरुलाई लुरोङ भनिन्थ्यो जो पछि राई लिम्बु भए । पश्चिममा बस्नेलाई ग्यारोङ भनिन्थ्यो । यिनै ग्यारोङ नै अप्रभंश भएर गुरुङ भएको भन्ने पनि गरिन्छ । आखिर गुरुङ भनेर चिनिए पनि तमु भनेर चिनिए पनि आफ्नो संस्कृति र संस्कारलाई जोगाउँदै अगाडि बढ्नु तथा जातिय एकता कायम गर्नु नै महत्व रहन्छ । यहिं उद्देश्य बोकेर गुरुङहरु सिङ्गो एक समाजको गठनका गर्न लागि लागि परे । यसरी २०४२ जेठ ५ मा तमुधिं नेपालको गठन भएको थियो । तमुधिं नेपालको गठनसंगै तमुहरुले एक ढिक्का भएर आफ्ना सामाजिक तथा सांस्कृतिक कार्यहरु अगाडि बढाउने प्रण गर्यो । पोखरामा उ बेला तामागी भदौरेबाट एक पूर्व लाहुरे बसोबास गर्न आइपुगेका थिए । नेपालमा महाभूकम्पले बेस्सरी हल्लाएको समयमा जन्मनु भएका तथा बेलायती सेनामा क्याप्टेनसम्म बनेका वहाँको नाम क्याप्टेन मीनबहादुर गुरुङ थियो ।

लाहुरे जीवन सिध्याएर पेन्सनमा गाउँ फर्केपछि गाउँ बस्न मन नमाने पछि पोखराको बगरमा बसेर सेती नदि किनारमा नै १५ पैसाको टिकट काट्दै आफ्नो संस्कृतिको झल्को नाचबाट देखाउन थाल्नुभएको थियो । यो कुरा २०२८ साल तिरको थियो । अब यसरी भएन भनेर २०३२ सालमा डाँफे कला मन्दिर नाम राखेरै नाचगान देखाउन थाले । वहाँको उद्धेश्य नै आफ्नो संस्कार र संस्कृती जोगाउनु थियो । डाँफे कला मन्दिर खोलेपछि वहाँको नाम नै डाँफे बाजे रहन गयो । यिनै डाँफे बाजेलाई तमुधिं नेपालले सांस्कृतिक संयोजकको जिम्मा दियो । आफ्नो संस्कार र संस्कृतिका काम गर्दै आएका वहाँलाई तमुधिं नेपालले सांस्कृतिक संयोजककै भूमिका दिए पछि गुरुङ समुदायले परापूर्वकाल देखि मनाउँदै आएको ट्होटें मनाउन जोड गरे । अन्तत २०५२ सालबाट ट्होटे पर्व मनाउन थालियो ।

प्रत्येक वर्ष साउनको तथा चैतको अन्तिम मंगलवार मनाउने ट्होटें पर्वबारे धेरै गुरुङ समुदायमा जानकारी नै थिएन । जसले गर्दा खासै उपस्थिती हुने गर्दैनथ्यो । पछि बिस्तारै प्रत्येक गुरुङ परिवारबाट एक सदस्य अनिवार्य उपस्थिती हुनै पर्ने तमुधिं नेपालले घोषणा गरेपछि भने ट्होटेंमा पनि राम्रै उपस्थिती हुन थालेको छ । जातिय रुपले पोखरामा बलियो पकड राखेको गुरुङ समुदायको ट्होटें पर्वमा सिङ्गो पोखरा नै उल्हासमय देखिने गर्छ ।

प्रतिक्रिया