बुधबार, वैशाख १०, २०८२

सम्पन्न भय‍ो गँः प्याखः

सुनिल उलक २०७९ चैत २८ गते १७:५५

अन्ततः चैत २७ गते शान्ति पूजा गर्दै पोखराको सबैभन्दा पुरानो ऐतिहासिक तथा तान्त्रिक गँः प्याखः (भैरव नाच) समाप्त भयो । प्रत्येक ६ वर्षमा गरिने यस नृत्य विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण २०७८ मा हुनुपर्नेमा २०७९ मात्र सम्भव भयो । तसर्थ आगामी नृत्य ५ वर्षपछि २०८४ मा गरिनेछ ।

शिवको एकस्वरुप नै भैरव हो । नेवाःहरु तान्त्रिक शक्तिलाई बढी मान्ने र पुज्ने भएको हुँदा भैल द्यः, भिँः द्यः र गणेः द्यःलाई प्रमुख देवता मान्ने गर्दछन् । जहाँ यी तीन देवताको मन्दिर हुन्छ वा पुजिन्छ । त्यहाँ नेवाःहरुको बस्ती हुन्छ । अर्थात् नेवा: जहाँ बस्दछन्, त्यहाँ यी देवतालाई पुज्ने गर्दछन् । पोखराको सन्दर्भमा पनि यहीँ नै भएको देखिन्छ ।

पोखरामा नेवाःहरुको आगमनको तिथि मिति सबै अडकलका भरमा मात्रै लेखिएका छन् । समूहगत रूपमा नेवाःहरुको पोखरा आगमन र कास्कीका राजा सिद्धिनारायण शाहले व्यवस्थित व्यवस्थापन गरेका थिए भन्ने प्रमाणित गर्ने आधार केही देखिँदैन । पोखरामा अहिले भएका नेवाःहरुको इतिहास खोतल्न खोज्यौ भने पनि बि.सं. १८२६ सम्म पुग्न सक्दैनौ । तर यस अर्थले नेवाःहरु यस अगाडि आएकै थिएनन् भन्न भने सकिँदैन । साना साना समूहमा आएका नेवाःहरू आफू पायकको ठाउँमा बस्न थालेका थिए ।

यस क्षेत्रमा पहिलो नेवाःको रूपमा शिव भान्सारीको नाम आएको देखिन्छ । कास्की गोर्खा राज्यमा समाहित भए पछि पहिलो पटक बि.सं. १८४२ फागुन २९ गते कास्की, तनहुँ तथा अन्य यस क्षेत्रका करहरू उठाउने जिम्मा पाएका शिव भान्सारीलाई व्यापार गर्ने उद्देश्यले १८४५ जेठ २५ गते भीमसेन मन्दिर देखि दक्षिण बाटो देखि पश्चिमको जमिन राजा रणबहादुर शाहले लालमोहर गरी दिएका छन् । त्यसपछि श्यामसुन्दर नेवारलाई १८६० मङ्सिर ६ गते कर उठाउने जिम्मा दिइएको छ । यसपछि १८६५ असोज ३० गते हनुमन्तसिह नेवारलाई भान्सारीको जागिर दिइएको छ । साथै यिनलाई पनि व्यापार गर्न अधिकार दिइएको छ । यिनले अधिकार भन्दा बाहिर किराना सामग्री अर्घाै, रिसिङ, तनहुँ तथा आँधिखोलासम्म गर्दा यिनलाई दण्ड दिइएको छ । यी कुनै पनि लालमोहरमा छब्बीस कुरिया भन्ने उल्लेख छैन । जसले गर्दा सिद्धिनारायण शाहको समयमा नै छब्बीस कुरिया नामको व्यवस्थित बस्ती बसिसकेको थियो भन्ने कथ्यमा सत्यता देखिँदैन । गहिरिएर कुनै सोध वा खोज नगर्ने तर अर्काले लेखिदिएको कथ्यहरूलाई सार्ने प्रवृत्तिले इतिहास सधैँ बङ्ग्याउने काम भइरहेको छ ।

यहाँ इतिहासका सत्यता बुझ्न खोजे पनि वा नखोजे पनि नेवाःहरु आफ्नो संस्कृति संरक्षणमा भने बालक देखि वृद्ध सम्म सबै लागिरहन्छन् । भैरव नृत्यमा, वाद्यवादनमा तथा राग गायनमा युवाहरूको संलग्नताले पनि यस कुराको पुष्टि गरेको छ। भैरव जात्राको समाप्तिसँगै अहिले हामी बाघ जात्राको तैयारीमा जुटिसकेका छौ ।

प्रतिक्रिया