बिहीबार, वैशाख ११, २०८२

भोलि कसले देखेको छ र !

कृष्ण कॅंडेल २०८० वैशाख ३ गते ६:४५

अङ्ग्रेजीमा एउटा सदाबहार कहावत छ – who knows tomorrow? भारतीय प्रसिद्ध सन्त सदगुरूले एउटा सतसँगमा भन्दै थिए- प्रत्येक २४ घण्टा तिम्रो एक वर्ष हो तसर्थ हरेक वर्ष मनाउने उत्सव हरेक दिन मनाउ सत्कर्म गरेर मनाउ । अर्थात् वर्तमानका आफ्ना सत्कार्य लाई नै मेरो कर्म मेरो उत्सव भनेर जीवनको रथलाई परमात्मालाई साक्षी राखेर अगाडी बढ्यौँ भने लक्ष्य हाम्रो सामु खुसीले पुलकित हुँदै प्रकट हुनेछ यो मेरो विश्वास हो ।भोलि कुर्नु पर्दैन भोलि कसले देखेको छ र ?

मान्छेले आज पनि भोलिको लागी भनेर वर्तमानलाई चटक्क भुलेर दौडिरहेको छ । सुख खोज्न । सुख भेट्टाउँछ खुसी हराउॅंछ । याद रहोस् सुख र खुसी मा धेरै भिन्नता छ ।अथाह सम्पत्तिका मालिक पनि खुसी छैनन् , केही नहुनेहरू अर्थात् साँझ बिहान हात मुख जोर्न धौ धौ हुनेहरू पनि ससाना उपलब्धिमा खुसी देखिन्छन् । खुसी त आफै भित्र छ । हाम्रो देश नेपालको एउटा अत्याधुनिक आध्यात्मिक प्रयोगशाला जीवन विज्ञानमा मैले गीत सुनेको थिए-मैले मलाई भेटेको दिन सम्झी सम्झी मन हुन्छ फुरूगं । आफूले आफैले भेट्ने र चिन्ने अभ्यास गर्न सक्यौँ भने खुसी त्यहीँ फेला पर्छ । मन्दिर, मस्जिद, चर्च, गुम्बा कहीँ कतै धाइरहनू पर्ने आवस्यकता नै पर्दैन । ईश्वर माने पनि नमाने पनि एउटा अदृश्य शक्ति छ र त्यसैले संसार रूपी यो चक्र चलाएको छ भनेर स्मरण गरे मात्र पुग्छ । हजार सूर्य उदाउने ठाऊॅं प्रत्येक प्राणी भित्र छ त्यसमा पनि हामी मान्छे हामीले हामी भित्रको आत्म गुफाको दियो नचिन्दा दुखको भारीले थिचिएका छौँ ।

गत वर्ष (सन् २०२२ ) को सेप्टेम्बर पहिलो साता म जीवन विज्ञानका आधुनिक गुरुहरू एल.पी.भानु शर्मा र रमेश नेपालको समीप थिएँ । उहाँहरू भन्दै हुनुहुन्थ्यो ।खुसीको श्रोत बाहिर छैन आफै भित्र छ । राम्रा नराम्रा सबै कुराको श्रोत मन हो ।महाभारत त मन भित्रै छ । पढ्ने त आफूलाई हो किताब पढेर मात्र हुँदैन। हामीले व्यक्तिको आवरण मात्र चिन्न खोज्यौँ । म चिन्न खोजेनौँ , जुन दिन म चिन्छौँ त्यही दिन बोधी ज्ञान प्राप्त हुनेछ बुद्ध भेटिने छन् ।

दलाई लामाले आफ्नो पुस्तक Beyond Religion मा भनेका छन्-के मान्छे धर्म भन्दा माथि उठ्न सक्दैन ? के मान्छे कुनै पनि धर्मसँग आबद्ध नरही बाँच्न सक्दैन ? त्यसो त तिब्बतियन लगायत संसारमा बुद्ध लाई ईश्वर मान्ने धेरै छन् तर स्वयम बुद्ध मूर्ति पूजा रुचाउँदैनथे । बुद्धलाई धर्मको आँखाले हेर्ने भन्दा दर्शनको रूपमा अङ्गीकार गर्नेहरूको जमात वर्तमान संसारमा ठुलो छ । किनभने बुद्धले सांसारिक जीवन भोग गरिसकेपछि वैराग्य मार्ग अपनाए र त्यसपछि बोधी ज्ञान प्राप्त गरे ।

वर्तमान विश्वमा सांसारिक जीवनमा रहेर त्यसलाई सन्तुलनमा राखेर आफै भित्रको उज्यालो प्रकाश फेला पर्छ भन्ने नयाँ वैज्ञानिक सोचको उदय भई सकेको छ । त्यसो त गीतामा भगवान् श्री कृष्णले अर्जुनलाई भन्नु भएको थियो-तिमी भित्र म छु तर तिमीले चिन्न सक्नु पर्‍यो नि ? श्री कृष्णले भनेको तिमी भित्रको म भनेको प्रत्येक व्यक्ति भित्रको म हो जुन दिन त्यो भेटिन्छ त्यो दिन नयाँ जीवन प्राप्त हुनेछ । मेरा प्रिय गुरु रमेश नेपाल भन्नुहुन्छ- धर्म गर या नगर, कर्म राम्रो गर हिसाब कर्मको हुन्छ धर्मको हैन ।

प्रतिक्रिया