पोखरामा नाटक ‘उर्वशी सूक्त’


पोखरा थिएटर सँग निकै समय देखि नजिक रहेका शिव सङ्कल्प जन्मले काठमाडौंवासी भए पनि पोखरासँग गाँसिएका छन् । उनी अहिले पोखरा विश्वविद्यालयमा आबद्ध छन् । लेखनमा पहिले देखि अभ्यस्त सङ्कल्पले यस पटक नाटक “उर्वशी सूक्त”बाट निर्देशनमा समेत हात हालेका छन् ।
इन्द्रको दरबारको सबैभन्दा आकर्षक र सुन्दरी अप्सरा ‘उर्वशी’ र मर्त्य लोकका राजा पुरूरवा बिचको प्रेम कथामा रुमल्लिएको नाटक उर्वशी सूक्त इ. पू. १६०० आसपास लेखिएको मानिन्छ । यसको नाट्य रूपान्तरण गरिँदा कथा थोरै बदलिएको आभास हुन्छ । राजा पुरूरवाको प्रेममा परेको तथा भरत मुनिको श्रापले मर्त्य लोकमा आई राजा पुरूरवासँग विवाह बन्धनमा बाँधिदा उनले दुई सर्त भङ्ग भए राजा पुरूरवालाई आफू स्वर्ग फर्कने आगाह गराएका थिए ।
आफ्नो दुई प्रिय भेडाको सुरक्षा गर्ने तथा राजालाई कहिल्यै निर्वस्त्र नहेर्ने । बाचा अनुरूप पुरूरवा र उर्वशी खुसीसाथ दिन व्यतीत गर्दै थिए । अचानक एक रात भेडाको चोरी भएको थाहा पाई उर्वशीले राजालाई भेडा खोजेर ल्याउन आग्रह गर्दा हडबडमा राजा निर्वस्त्र दौडिदा र त्यसै बेला देवराज इन्द्रले बिजुली चम्काई दिँदा उर्वशीले राजालाई निर्वस्त्र देख्छिन् । बाचा तोडिएको हुँदा उर्वशी स्वर्ग लोक फर्किन्छन् । यता भेडा फिर्ता लिई फर्किएका राजा पुरूरवाले उर्वशी पाउँदैनन् र विलाप गर्न थाल्दछन् ।
नाटकमा उर्वशीका रूपमा भूमिका निर्वाह गर्ने नयाँ अनुहार एलिजा बुढाथोकीले सशक्त अभिनय गरेकी छिन् । राजा पुरूरवाको भूमिकामा दिल प्रसाद गुरुङ, देवराज इन्द्रको भूमिकामा राजेन्द्र अधिकारी पुरानै कलाकार हुन भने अन्यमा रोशन आस्तिक, सुशील बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियङ्का खड्का, प्रतीक घिमिरे र लेखक शिव सङ्कल्प स्वयं भरत मुनिको भूमिकामा अभिनय गरेका छन् ।
सङ्गीत तर्फ सारङ्गीमा खेम लामा, तबलामा मिलन गिरी तथा हार्मोनियममा रहेका देवेन्द्र ढकाल विवेकको शास्त्रीय गायनले यो नाटकमा आकर्षण थपेको छ । यो नाट्य रूपान्तरणमा वीर रस, हास्य रस, भय रस, रौद्र रस, करुण रस सबै रसको रसास्वादन गर्न पाइन्छ । डेढ घण्टा भन्दा लामो नाटकमा समय बितेको थाहै हुँदैन । वैशाख ११ सम्म पोखरा थिएटरमा चल्ने यो नाटक एक पटक अवश्य हेर्नु पर्ने नाटक हो ।
प्रतिक्रिया