मंगलबार, वैशाख ९, २०८२

हावामा भएको प्रदुषण कसरी कम गर्ने ?

नेपालखोज २०८० वैशाख ११ गते ८:३७

काठमाडाैं । वातावरणमा रहेको हावालाई दूषित अवस्थामा पुर्‍याउने कार्य मानवले नै गरिरहेका छन् । सवारी साधन चलाउने, उद्योग, कलकारखानाहरू सञ्चालन गर्ने, धुलो धुँवा दुर्गन्ध फैलाउने कार्य स्वयम् मानिसले नै गरिरहेकोले यसलाई नियन्त्रण गर्ने काम पनि मानवकै हो । त्यसैले वायु प्रदूषणबाट जोगिन निम्न उपाय अपनाउन सकिन्छ ।

१‍‍. वातावरण सन्तुलनमा वनजङ्गलको ठूलो भुमिका हुने भएकाले वनजङ्गल फडानी रोक्ने, वृक्षारोपण गर्नेजस्ता कार्यलाइ प्रोत्साहित गरिनु पर्दछ।

२. व्यवस्थित सहरीकरणको विकास गर्ने । आफ्नो घरअगाडि अनिवार्य रुपमा सरसफाइ गर्ने । प्लाष्टिक र धुँवाजन्य पदार्थहरू नजालाउने । पुराना सवारी साधनहरू हटाउने र नयाँ सवारी साधनहरू चेक, जाँच गरी अनुमति प्राप्त सवारी साधनहरूमात्र सञ्चालनमा ल्याउने ब्यबस्था गरिनु पर्दछ ।

३. उद्योगधन्दा, कलकारखानाहरूलाई मानव वस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल आदिमा फोहोर, मैला फाल्न प्रतिबन्ध लगाउने , ढल निकासको उचित व्यवस्था गर्ने, कलकारखानामा काम गर्दा माक्स प्रयोग गरी सुरक्षित रहने व्यवस्था गरिनु पर्छ ।

४. इन्धनका रुपमा प्रयोग गरिँदै आएको दाउरा, कोइला आदिको सट्टा, गोबर ग्याँस, विद्युत् शक्ति र सौर्य उर्जाको प्रयोगमा जोड दिने ।

५. विद्यालय तथा समुदायमा वातावरणीय शिक्षा प्रदान गरी वायु प्रदूषणका सम्बन्धमा यथेष्ट ज्ञान प्रदान गरिनु पर्दछ।

वायु प्रदूषणका कारण हाम्रा सहरहरू दिन प्रतिदिन दूषित बन्दै गएका छन् । निमोनिया, ब्रोङकाइटिस, श्वासप्रश्वास प्रणालीमा क्यान्सर, छालासम्बन्धी समस्या, एलर्जी, आँखाका रोगहरू धुलो, धुँवाका कारण नै बढ्दै गएका छन् । त्यसैले व्यवस्थित सहरीकरणको विकास गरी श्वासप्रश्वाससम्बन्धी समस्याबाट मुक्त गराउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया