सोमबार, वैशाख ८, २०८२

तिलोत्तमाको १३ किमी राजमार्ग क्षेत्रमा निशुल्क वाइफाई सञ्चालन

नेपालखोज २०८० वैशाख ११ गते १४:२९

तिलोत्तमा । रूपन्देही तिलोत्तमा नगरपालिका स्वास्थ्य शिक्षा भौतिक क्षेत्र देखि सञ्चारको क्षेत्रमा पनि अगाडि छ । नगरपालिकाले मुख्य राजमार्गमा आजदेखि फ्रि वाइफाई सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि काेटिहवासम्मको १३ किलोमिटर राजमार्ग क्षेत्रमा निशुल्क वाइफाई सेवा सुचारु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया छ लेन व्यापारिक मार्गको फ्रि वाइफाई सञ्चालन भएको हो । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्गमार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाइफाई सञ्चालन भएको नगरपालिकाले जानकारी दिएको छ । उक्त सेवा सोमबार बिहान नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाको कटैया सम्मको छ लेनको सूचना राजमार्ग शुभारम्भ गरेको बताए । तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधिप्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन पनि यो कार्यले सहयोग पुग्ने उनको भनाई छ । यस सेवाले आन्तरिक एवं बाह्य पर्यटकलाई सहज हुने अपेक्षा नगरपालिकाले लिएको छ । यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापनबाट नगरपालिकाले आम्दानी गर्ने लक्ष्यसमेत रहेको नगरप्रमुख खाँणले बताए ।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले वाइफाईलाई सकारात्मक कार्यमा प्रयोग गर्न सबैलाई आग्रह गरे । नगरपालिकाका सूचना प्रविधि उपशाखा प्रमुख सुदीप ढकालका अनुसार –‘एउटा डिभाइस वाइफाईमा कनेक्ट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेक्ट गर्नु पर्दैन । हाइवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ । एउटा राउटरबाट हाल १ सय वटा डिभाइस कनेक्ट हुने बताइएको छ । यसबाट टिकटक भने चल्ने छैन् ।’

सकारात्मक र सूचनाका लागि यो फ्रि वाइफाई जडान गरिएकोले यसबाट टिकटक भने चलाउन नमिल्ने ढकालले बताए । उनले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताए । प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च लागेको उनले बताए । बाँकी कार्य पनि यही आर्थिक वर्षमा गरिने उनको भनाई छ ।

नेपाल टेलिकम, सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको इन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको उनले जानकारी दिए । इन्टरनेटको लागि पोल पोलमा राउटर राखिएको छ । तिलोत्तमा नगरपालिका स्वास्थ्य शिक्षा खानेपानी भौतिक लगायतका क्षेत्रमा मात्र होइन सूचना सञ्चारमा पनि अब्बल देखिएको छ ।

नगरप्रमुख रामकृष्ण खाँणले सबै क्षेत्रमा तिलोत्तमालाई अब्बल बनाउने तरिकाले लागेको बताए । अहिलेको युग सञ्चारको युग भएकोले सूचनाको पहुँच भन्दा बाहिर रहन नसक्ने भएकाले नगर भित्रको सडकमा फ्रि वाइफाई सञ्चालन मा ल्याएको नगर प्रमुख खाँडले बताए । Source – INS

प्रतिक्रिया