कम्बोडियाका प्रधानमन्त्रीले किन मागे नेपाली कालानमक ?

काठमाडाैं । कम्बोडियाका प्रधानमन्त्रीले मागेपछि रुपन्देही बुद्ध कालिन समयको कालानमक धान उपहार स्वरूप कम्बोडिया पठाइने भएको छ।
२५६७ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अबधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरूप कालानमक ‘चामल’ प्रदान गर्ने भएको छ।
यही वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोहमा बुद्ध जन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै माग अनुसार उपहार स्वरूप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताए।
कार्यक्रममा सहभागी हुन जानु अधि उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कला नामक धानको चामल प्रदान गरेका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ वर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्ध कालिन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ।
बौद्धिष्ट मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्ध कालिन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्त्व उजागर गरेको कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले बताए।
‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुसीको कुरा हो’ भिक्षु मेत्तेयले भने –‘हामीले राज्य उपहार स्वरूप कालानमक चामल दिन लागेका हौँ ।’
कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रूपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उपाध्यक्ष त्रिपाठीको भनाई छ।
बुद्धकलामा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा कालानमक रोपेर धान मंगलोत्सव गरिन्थ्यो। बुद्धकालीन महत्त्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको उपाध्यक्ष त्रिपाठीले बताए।
कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्त्वपूर्ण ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको क्षेत्रका रूपमा विकास गर्न छलफल गर्नेछन्।
साथै दुई देशका जनताबिचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका विषयमा समेत छलफल गर्ने छन्।
खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि समेत असाध्यै राम्रो मानिन्छ। तर, बौद्ध सम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन्।
बुद्ध कालिन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले समेत लाभ लिन सक्ने छन्।
यो चामलमा पोटासियम, प्रोटिन, फाईबर, भिटामिन बी, आईरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ। त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ। बुद्धकालीन सभ्यतासँग सम्बन्ध रहेका तराईका जिल्लामा रोपिने कालानमक धानको चामललाई अरूभन्दा तेब्बर मूल्य पर्छ।
कालानमक धान उत्पादनमा खर्च बढी लाग्ने गर्दछ। धेरै खर्चमा कम उत्पादन हुने भएकाले यसको खेती हुने क्षेत्रफल घट्दै गएको छ।
कालानमक लुम्बिनी क्षेत्रको रैथाने धान हो। मेहनत बढी र उत्पादन कम हुने भए पनि राम्रो मूल्य पाउन थालेपछि पछिल्लो समय लुम्बिनी क्षेत्रका स्थानीय किसानहरू उक्त धान खेती गर्न आकर्षित भएका छन्।
स्थानीय युवाहरू चन्द्र पाठक, अर्जुन कुर्मीहरूले अभियान नै चलाएपछि कालानमक धानको महत्त्व बुझेर आफ मात्र नभई स्थानीयलाई जोगाउ र यसको संरक्षकमा लाग्न सबैलाई प्रेरित गरेको बताएका छन्।
वर्षौदेखि कालानमक धानको खेती गर्दै आएका लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोप्दै आएको बताए। लुम्बिनी अनि कालानमक धान दुवैको प्रचार प्रसार गर्नु र बुद्ध जन्मस्थलमा पर्यटन प्रबन्धन गर्नु आबश्यक रहेको छ।
प्रतिक्रिया