बिहीबार, वैशाख ११, २०८२

भगवान् सूर्यदेव !

नेपालखोज २०८० वैशाख १७ गते ५:००

सनातन धर्ममा हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवान्को पूजा गर्ने गरिन्छ । सूर्यदेवताको पूजा आराधना हरेक दिन गर्ने भए पनि आइतबारको दिन विशेष पूजा गर्नु उपयुक्त हुन्छ । सम्पूर्ण सौर्य परिवारको मालिक सूर्यदेवलाई खुशी पार्दा तपाईंको शक्ति अत्यन्त बढ्न जाने हुन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान बढ्न जाने हुन्छ ।

मानव जीवनमा सूर्यको महत्व ज्योतिष शास्त्रीय हिसाबले मात्र नभई विज्ञान र चिकित्सा शास्त्रका हिसाबले पनि अग्रस्थानमा आउँछ । सबल शरीर, मान सम्मान, आत्मसन्तुष्टि, स्वाभिमान र नेतृत्वका लागि सूर्यको साथ अनिवार्य हुन्छ । पूर्वीय मान्यताअनुसार सूर्यलाई ग्रहमा अग्रस्थान दिइएको छ । वेद तथा पुराणमा यसलाई सबैभन्दा बलशाली ग्रह मानिएको छ । यसको एक चक्रलाई एक वर्षमा रुपान्तरण गरिएको छ भने ज्योतिष शास्त्रका १२ राशी १२ महिनामा समेटिएको छ । पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा रहेको सूर्यले नै यो जगत्को सञ्चालन र नियन्त्रण गरेको छ । मानव जीवनका प्रत्येक घटनाका कारण पनि सूर्य नै हो ।

आइतबारको दिन बिहान छिटै उठेर स्नान सन्ध्या सकेर सूर्योदय भएपछि तपाईंले सूर्यलाई जल मात्र चढाउनु भयो भने सूर्यको सकारात्मक उर्जा तपाईंको शरीरमा प्रवेश गर्छ । यसबाट तपाईंको कुण्डलीमा सूर्यकोे दोष छ भने पनि त्यो नाश हुँदै जान्छ । सूर्य देवलाई मनपर्ने फूल रातो फूल हो । त्यस्तै रातो चन्दन, चामल पनि सूर्यलाई मनपर्छ । यी चीज चढाई सूर्यको सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । त्यस्तै गुड वा गुडबाट बनेको मिठाई पनि सूर्यलाई मनपर्ने वस्तु हो ।

प्रतिक्रिया