मंगलबार, वैशाख ९, २०८२

कुल कर्जा ४८ खर्ब ४५ अर्ब रुपैंयाँ पुग्दा कति छ ? बैंकिङ क्षेत्रमा निक्षेप

नेपालखोज २०८० वैशाख १८ गते ११:४८

काठमाडौं । बैङ्क तथा फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ४८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले पछिल्लो पटक अर्थात् यही वैशाख २९ गतेसम्म अद्यावधिक गरेको निक्षेप तथा कर्जा सम्बन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैङ्क, क्षेत्रीय तथा राष्ट्रिय स्तरका समेत गरी १७ वटा विकास बैङ्क र १७ वटा फाइनान्स कम्पनी सहितका कुल ५५ वटा संस्थाहरूले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।

राष्ट्र बैङ्कका अनुसार यसरी प्रवाह भएको कुल कर्जा रकम मध्येमा वाणिज्य बैङ्कहरूले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैङ्क र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कर्जा रकम पाँच खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैङ्किङ क्षेत्रको कुल निक्षेप रकम भने ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेप मध्येमा वाणिज्य बैङ्कहरूको मात्र कुल निक्षेप ४८ खर्ब आठ अर्ब रुपैयाँ रहेको छ भने विकास बैङ्क र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम छ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको पछिल्लो अवधिमा बैङ्किङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात अर्थात् सिडी रेसियो भने ८५ दशमलव ३७ प्रतिशत रहेको छ । यस अवधिमा अल्पकालीन अवधिको अन्तर बैङ्क कारोबारको ब्याजदर भने सात प्रतिशत कायम रहेको राष्ट्र बैङ्कको भनाई छ ।

प्रतिक्रिया