पहिलो हुलाक टिकट

काठमाडौं । १८० वर्ष अगाडि आज कै दिन मई १, १८४० मा विश्वको पहिलो हुलाक टिकटको सुरुवात भएको दिन पनि हो ।
हुलाकको सुरुवात यो भन्दा पहिले नै भएको भए पनि चिठ्ठी पठाउन निकै महँगो पर्दथ्यो । चिठीको आकार र तौल र पुर्याउनुपर्ने ठाउँको आधारमा मूल्य लिइन्थ्यो । अहिलेको कुरियर सेवाले झैँ निजी सेवा सञ्चालित थियो ।
शिक्षाविद् एवं समाज सुधारक रोलाण्ड हिलले सन् १८३९ मा हुलाकको लागी आवश्यक हुलाक टिकट तथा अन्य वस्तुको चित्रकला प्रदर्शनी गराए ।
यसै मध्य विलियम वायन नामक एक विद्यार्थीले बनाएको युवा अवस्थाको रानी भिक्टोरियाको तस्बिर राखेर डिजाइन गरेको हुलाक टिकट सबैभन्दा उपयुक्त छानियो ।
यही डिजाइनलाई परिष्कृत गर्नको लागी चित्रकार हेनरी कर्वोल्डको सहयोग लिए । यसरी डिजाइन गरिएको अन्तिम रुपलाई जर्ज रशेल, फ्रेडरिक तथा चार्ल्स हिथले छाप्नको लागी तयार बनाए ।
यसरी तयार भएको हुलाक टिकटमा पछाडि खाममा टाँस्नको लागी गम पनि राखिएको थियो । यो टिकटको मूल्य एक पेनि राखिएको थियो । यो टिकटको पहिलो बिक्रीको थालनी मे १ तारिख १८४० बाट गरिएको थियो ।
एक पेनीको हुलाक टिकटले बेलायत भरि साधारण पत्र पठाउन सकिन्थ्यो । तसर्थ यो टिकट पहिलो वर्ष नै सात करोड भन्दा बढी बिक्यो ।
यसरी यस टिकटलाई ब्लाक पेनी भन्न थालियो । जुन करिब ४० वर्ष सम्म बिक्री भइरह्यो । तर यसको हल्का रङ भने सन १८४१ तथा १८४८ मा परिवर्तन भयो । १८५८ मा केही सुधार भयो ।
चिठ्ठीको खाममा टिकट दाहिने तिर माथिल्लो भागमा नै टाँस्ने चलनको सुरुवात पनि भयो । यसको खास कारण अधिकांश बेलायतीहरूले दाहिने हात चलाउनु र दाहिने हातको माथिल्लो भागमा टिकट टाँस्दा टिकटमा छाप लगाउन सजिलो हुनु नै थियो । तर पछि भने सबै देशमा हुलाक टिकट दाहिने भागको माथिल्लो हिस्सामा नै टाँस्ने चलन नै भयो ।
नेपालको परिवेशमा हेर्ने हो भने नेपालमा हुलाक सेवाको स्थापना तथा हुलाक टिकटको प्रचलन राणा प्रधानमन्त्री रणोद्वीप सिंह कुँवरको पालामा भए पनि कागते हुलाकीको प्रचलन भने पृथ्वीनारायण शाहको पालामा नै सुरु भएको थियो । रणबहादुर शाहको पालामा व्यवस्थित थाप्ले हुलाकीको सेवा पनि थपियो ।
यसरी कागज पत्र बोक्ने र जिन्सी सामग्री थाप्लोमा नाम्लोका सहारामा बोक्ने थाप्लेहुलाकीहरुका जागिरेहरूलाई जागिर बापत हुलाकी खेत दिन थालियो ।
बि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भएको तीन वर्ष पछि नेपालमा हुलाक टिकट छापिन थालेको थियो । श्री गोरखा सरकार लेखिएको तथा गोर्खालीहरूको वीरताको प्रतीक खुकुरी राखिएको थियो । एक आना, दुई आना तथा चार आना मुल्यका यी हुलाक टिकटमा हातले नै गम टाँसिएको थियो ।
पहिलो पटक बि.सं. १९३८ को वैशाख र जेठमा जङ्गबहादुरले बेलायतबाट ल्याइएको गिद्धे प्रेसमा नै छापिएको थियो । बेलायतबाट नै ल्याइएको कागजमा छापिएको यो हुलाक टिकटहरूमा पछि छापिदा केही केही रङ्गमा परिवर्तन भएका थिए ।
प्रतिक्रिया