बुधबार, वैशाख १०, २०८२

नाटकको अन्तर्राष्ट्रिय सेमिनार पोखरामा हुने

नेपालखोज २०८० वैशाख २५ गते ६:४५

कास्की । नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार पोखरामा हुने भएको छ ।

नाट्य प्रतिष्ठानद्वारा आइतबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा वैशाख २८ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त सेमिनारमा नेपाल एवं भारतका विषयविज्ञ सहभागी हुने प्रतिष्ठानका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।

सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पोखरेललगायत प्रा.डा. सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भारतबाट डा. सुकराज दियाली (सिलगढी), डा. वीरबहादुर विश्वकर्मा (सिलगढी), पूर्णकुमार शर्मा (असाम), तेजमान बराइली (सिक्किम), नवीन पौड्याल (कालेबुङ, दार्जिलिङ), योगेश खाँती (दार्जिलिङ), युवराज काफ्ले (सिलिगुडी), सरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र सञ्जीव गुरुङ (कलकत्ता)ले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रतिष्ठानले जनाएको छ ।

सेमिनारमार्फत नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रङगमञ्चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निस्केको निष्कर्षलाई एकीकृतरूपमा प्रकाशन गर्ने उद्देश्य राखिएको छ । यथासम्भव नेपाली नाटकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य छ ।

सेमिनारको मुख्य सहयोगी पोखरा प्रज्ञा प्रतिष्ठान, प्रवर्द्धक गण्डकी प्रज्ञा प्रतिष्ठान तथा प्रायोजक पोखरा मावि बगर, जुनियर सिटिजन एकेडेमी, ग्लोबल कलेजिएट रानीपौवा, प्रगति मावि बाटुलेचौर, गुप्तेश्वर गुफा व्यवस्थापन समिति छोरेपाटनलगायत छन् ।

नेपाली कला, कौशल, सङ्गीत, नाटक, रङ्गमञ्च तथा समग्र संस्कृति एवं नेपाली साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले २०७८ सालमा स्थापित प्रतिष्ठानले सेमिनार गर्न लागेको हो ।

प्रतिक्रिया